कैलालीको अत्तरियामा शाइन रेसुङ्गाको शाखा उद्घाटन


appharu

१० असार २०७९, शुक्रबार १८:१४ मा प्रकाशित

पालिकापत्र, बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले सुदुरपश्चिम प्रदेशको कैलालीको अत्तरिया शाखा औपचारिकरुपमा सञ्चालनमा ल्याएको छ । २०७८ मंसिर २६ गतेदेखि बैकिङ कारोबार गरेको उक्त शाखाको शुक्रबार गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले विधिवत उद्घाटन गरेका हुन् ।

यसअघि सुदुर पश्चिम प्रदेशहको धनगढी र महेन्द्रनगरमा बैंकका शाखा कार्यालय सञ्चालनमा आइसकेका छन् । सो अवसरमा बोल्दै नगर प्रमुख भट्टले दुर्गम ग्रामीण क्षेत्र र विपन्न समुदायमा बैंक तथा वित्तीय संस्थाको पहुंच पुग्न बांकी रहेको अवस्थामा शाइन रेसुङ्गा बैंकले सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लामा शाखा विस्तार गर्नु स्वागतयोग्य भएको बताए ।

नगर प्रमुख भट्टले अत्तरिया क्षेत्रका नागरिकलाई सहज र सरल बैंकिङ सेवा दिन बैंकलाई सुझाव दिए । चेम्बर अफ कमर्स अत्तरियाका अध्यक्ष तिर्थ ओझा र उद्योग वाणिज्य संघ अत्तरियाका बरिष्ठ उपाध्यक्ष कल्याण सिंह बोहराले नयां बैंकको शाखा सञ्चालनमा आउनुले स्थानीय उद्योगी व्यवसायीलाई आर्थिक कारोबार गर्न सहज हुने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थानीय जनताको माग र आवश्यकता अनुसार बैंकले कृषि,उद्योग,व्यसाय लगायत उत्पादनमुलक क्षेत्रमा सहजरुपमा कर्जा र निक्षेप योजना लागु गर्ने बताए । उनले शाइन रेसुङ्गा बुटवलमा केन्द्रीय कार्यालय भएको लुम्बिनी प्रदेशकै एक मात्र राष्ट्रियस्तरको विकास बैंक भएको उल्लेख गर्दै बैंकले शहरी क्षेत्र संगै ग्रामीण र दुर्गम क्षेत्रमा पनि शाखा विस्तार गर्दै जाने नीति लिएको बताए ।

बैंकका अध्यक्ष थानेश्वर पौडेलले बैंकका लुम्बिनी प्रदेशमा मात्रै ७१ वटा र संघीय राजधानी काठमाडौंमा ५ वटा सहित देशभर ८४ वटा शाखा शाखा कार्यालय सञ्चालनमा रहेका जानकारी गराए ।

बैंकका कर्मचारी तेज रावललले सञ्चालन गरेको कार्यक्रममा बैंकका सञ्चालक मोहन चापागाई,विरेन्द्र विष्ट, विभागीय प्रमुख लालमणी पन्थी,क्षेत्रीय प्रमुख लेखनाथ पौडेल लगायतको उपस्थिति रहेको थियो । अधिकृत पुँजी ५ अर्ब, जारी तथा चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख रहेको बैंकको निक्षेप ४१ अर्ब १३ करोड र कर्जा लगानी ३८ अर्ब १५ करोड रहेको छ भने ५ लाख १५ हजार बढी निक्षेपकर्ता र १४ हजार ५ सय बढी ऋणी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्