पालिकापत्र,पोखरा । देशभरका ६ महानगरपालिकाका प्रमुखहरूले संघीय संसदबाट महानगरपालिकाहरूका लागि छुट्टै ऐन आवश्यक रहेको माग गरेका छन् । पोखरामा आयोजित महानगरपालिकाका मेयरहरूको बैठकपछि संयुक्त घोषणापत्र सार्वजनिक गर्दै महानगरपालिकाहरूका लागि छुट्टै ऐनको आवश्यकता औंल्याउँदै संसदबाट ऐन जारी गर्न माग गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान संघीय कानुनको परिमार्जन र नयाँ कानुनको निर्माण आवश्यक रहेको बताएका मेयरहरूले महानगरपालिकाहरूका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न माग गरेका हुन् ।
संयुक्त घोषणा पत्रमा काठमाडौं, ललितपुर, चितवन, वीरगञ्ज, विराटनगर र पोखरा महानगरपालिकाका मेयरहरूले हस्ताक्षर गरेका छन् ।
यस्तो छ संयुक्त घोषणा पत्र
१. संघीय राज्य व्यवस्थाको सफल कार्यान्वयन सुनिश्चित गर्नका लागि संघ र प्रदेश सरकारहरुसँगको समन्वय, सहयोग र सहकार्यलाई अझ घनीभूत गर्दै महानगरीय सुशासन, नीति तथा योजना व्यवस्थापन, विकास निर्माण २ सेवा प्रवाहलाई थप सडक बनाउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विषय क्षेत्रसंग सम्बन्धित विद्यमान संघीय कानूनको परिमार्जन र नयाँ कानुनको निर्माणसंगे महानगरपालिकाहरुका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न समेत अनुरोध गर्दछौ ।
२. महानगरपालिकाहरुका विशिष्ट प्राकृतिक, सांस्कृतिक एवं सामाजिक मौलिक चरित्र एवं समस्या र सम्भावनाहरुलाई सम्मान र संवोधन गर्दै महानगरहरुबीच पारस्परिक सम्पर्क सञ्जाल प्रबर्द्धन गरी आपसी सहयोग र सहकार्यलाई महानगर मञ्च नेपाल माध्यमद्वारा संस्थागत गर्न प्रण गर्दछौ ।
३. उक्त महानगर मञ्च नेपालद्वारा प्रत्येक वर्ष पालैपाली महानगर सम्मेलन नेपालको आयोजनासँगै त्यसका प्रतिबद्धताहरुको कार्यान्वयनमा सहजीकरण गर्न आयोजक महानगरपालिकाले सम्मेलनको अध्यक्षता ग्रहण गरी सचिवालय समेतको आवश्यक प्रबन्ध गर्न सहमति गर्दछौ ।
४. संघीय एवं प्रादेशिक योजना निर्माण प्रक्रिया र पद्धतिसँग समेत सामञ्जस्य हुने गरी महानगरीय नीति तथा योजना तर्जुमा र कार्यान्वयनको गतिलाई तीव्र बनाई व्यवस्थित शहरीकरण, तथ्यमा आधारित नीति निर्माण र उपलब्धिमूलक एवं जवाफदेही कार्यान्वयन प्रणाली सुनिश्चित गर्न हरेक महानगरमा नीति तथा योजना आयोग गठन गरी सञ्चालन गर्न प्रतिबद्धता व्यक्त गर्दछौ ।
महानगर, यसका पदाधिकारी पक्ष वा विपक्ष नै कानुनी रक्षा र प्रतिरक्षा गर्नुपर्ने विषय जटिल बन्दै गईरहेको परिप्रेक्ष्यमा संघीय तथा प्रदेश सरकारले अपनाएको व्यवस्था बमोजिम आवश्यक कानुनी प्रबन्ध गरी सबै महानगरको संगठन संरचनामा उपयुक्त संस्थागत व्यवस्था गर्न सहमति जाहेर गर्दछौं ।
६. महानगरका छिमेकी उपमहानगरपालिका, नगरपालिका र गाउपालिकाहरुसंग समेत हरित तथा समावेशी पूर्वाधार सुशासन तथा विकास, वित्तीय लगानी, आयोजना तर्जुमा र कार्यान्वयन एवं सेवा प्रवाहका क्षेत्रमा सहकार्य गर्ने दृढता व्यक्त गर्दछौं ।
७. महानगरहरुका पारस्परिक सवाल, समस्या र चुनौतीहरुलाई समन्वित ढङ्गबाट संवोधन गर्ने सन्दर्भमा संघ र प्रदेश सरकार एवं राज्यका अन्य अङ्ग र निकायहरुसँग पारस्परिक सूचना सम्प्रेषण र परामर्श गरी सम्पर्क, समन्वय र सहकार्य गर्न ऐक्यबद्धता जारी गर्दछौं ।
बालेन्द्र शाह, प्रमुख काठमाडौं महानगरपालिका, राजेशमान सिंह प्रमुख बीरगञ्ज महानगरपालिका । रेणु दाहाल प्रमुख भरतपुर महानगरपालिका । चिरीबाबु महर्जन प्रमुख ललितपुर महानगरपालिका । नागेश कोइराला प्रमुख विराटनगर महानगरपालिका । धनराज आचार्य प्रमुख पोखरा महानगरपालिका ।