०४८ साल देखि लगातार संसदीय चुनाव लड्दै आएका दीपकुमारले यो निर्वाचनमा के गर्लान् ?


appharu

२५ श्रावण २०७९, बुधबार १२:२८ मा प्रकाशित

पालिकापत्र, बाणगंगा ।
नेपालमा बहुदल पश्चात भएका कुनै पनि आम निर्वाचन नछाडेका नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय आसन्न निर्वाचनमा उठ्छन् कि उठ्दैनन् धेरैलाई चासो छ ।

सरकारले आसन्न मंसीर ४ गते संघ र प्रदेशसभा सदस्य पदको निर्वाचनको मिति घोषणा गरेसंगै देश चुनावी मैदानमा होमिएको छ ।

२०४७ सालको संविधानअनुसार २०४८ सालमा पहिलो संसदीय निर्वाचन भयो । सो निर्वाचनमा नेपाली कांग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको थियो । सोही निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. २ बाट चुनावमा उठेका थिए । जहाँ उनले राप्रपाका भगवानदास गुप्तालाई पराजित गरेका थिए ।

०५१ साल कार्तिक २९ मा सम्पन्न आम निर्वाचनमा पनि उपाध्यायले क्षेत्र नं. २ बाटै चुनाव जिते । त्यति बेला पनि उनले गुप्तालाई हराएका थिए ।

०५६ को आम निर्वाचनमा भने उपाध्यायलाई वृजेश कुमार गुप्ताले पराजित गरे । दुई पटक उपाध्यायसंग चुनाव लडेका स्वर्गीग भगवानदासका छोरा बृजेशले उपाध्यायलाई हराउन सफल भएका हुन् ।

गुप्ता तत्कालिन बेला राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लडेका थिए ।

विसं २०६४ साल चैत्र २८ गते नेपालमै पहिलोपटक संविधानसभाको निर्वाचन सम्पन्न भयो । ०६२/०६३ सालको जनआन्दोलन पश्चात भएको पहिलो संविधानसभाको निर्वाचनमा निर्वाचन क्षेत्र हेरफेर भए । उपाध्याय क्षेत्र नं. १ बाट उम्मेद्वार बने । त्यो चुनावमा एमालेका बलराम अधिकारीलाई उपाध्यायले २ सय ९७ मतले पराजित गरेका थिए ।

तोकिएको मितिमा पहिलो संविधानसभाले संविधान बनाउन नसके पछि पुनः ०७० सालमा दोस्रो संविधानसभाको निर्वाचन भयो ।

०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा भने उपाध्याय नेकपा (एमाले)का नेता अधिकारीसंग पराजित भए ।

दोस्रो संविधानसभाले संविधान जारी गरे पछि भएको ०७४ सालमा भएको आम चुनावमा उपाध्याय क्षेत्र नं. १ बाट पुनः पराजित हुन पुगे ।

उपाध्यायलाई तत्कालिन बामगठबन्धनका उम्मेद्वार चक्रपाणी खनाल ‘बलदेव’ ले ९ सय ४६ मतका साथ पराजित गरेका थिए ।

उपाध्यायले २८ हजार ७ सय ४७ मत ल्याएका थिए भने खनालले २९ हजार ६ सय ९३ मत पाएका थिए ।

०७४ को हार उपाध्यायको लगातार दोस्रो हार थियो ।

हाल कपिलवस्तुमा ३ प्रतिनिधिसभा र ६ प्रदेशसभा रहेका छन् ।

कांग्रेससहित केन्द्रमा रहेको ५ दलीय गठबन्धनले मिलेर चुनाव लड्ने बताइसकेका छन् ।

०७४ मा नेकपा (माओवादी केन्द्र) ले जितेको कारण गठबन्धनले माओवादीलाई यहीँ क्षेत्र दिने सम्भावना बलियो छ ।

माओवादीले यो निर्वाचन क्षेत्र पाएको खण्डमा उपाध्याय यो निर्वाचनमा चुनाव नउठ्न सक्छन् । यद्यपि स्रोतका अनुसार उपाध्यायले क्षेत्र नं. २ बाट चुनाव उठ्ने तयारी थालेका छन् । यो निर्वाचन क्षेत्र कांग्रेसले पाउने लगभग पक्का छ । तर कांग्रेसका पूर्व जिल्ला सभापति तथा हालका लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य यो निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।

आचार्यको चाहनाले उपाध्यायलाई यो क्षेत्रमा पनि बाधा पर्ने निश्चित छ ।

आसन्न चुनावबारे कतै पनि औपचारिक धारणा व्यक्त नगरेका उपाध्यायले पालिकापत्रसंगको संक्षिप्त कुराकानीमा पनि खुलेर बोलेनन् । आसन्न चुनावबारे प्रतिक्रिया लिन खोज्दा उपाध्यायले भने, ‘चुनावमा उठ्नेबारे अहिले नै कहीँ सोच बनाएको छैन् । केन्द्रमा गठबन्धन छ, गठबन्धनको निर्णय कस्तो आउँछ, अहिले नै भन्न सकिन्न ।’

०४८ पछिका हरेक चुनावमा आफू उम्मेद्वार बनेको बताउँदै उनले भने, ‘०४८ पछि हरेक चुनावमा उम्मेद्वार हुने मध्येको एक जना नेता म पनि हुँ । बहुदल अगाडीका पञ्चायती मोडलका चुनावमा पनि उम्मेद्वार बनेको छु । जीवन चल्दासम्म जनताको साथमा हुन्छु, यो कुरा सुनाइदिनुस् । आसन्न चुनावमा के गर्छु भन्न सक्दिन ।’

प्रतिक्रिया दिनुहोस्