पालिकापत्र,मर्चवार । रुपन्देही क्षेत्र नं ४ प्रतिनिधि सभा सदस्यमा कांग्रेसका उम्मेदवार प्रमोद यादवले एमाले नेतृत्वको सरकारले गरेका विकास निर्माणका काम आफ्नो पहलमा भएको भनेपछि स्थानीयले झुठो बोलेको भन्दै हुटिङ गर्दा लफडा भएको छ ।
मर्चवारमा शुक्रबार ऋषि धमलाले क्षेत्र नं. ४ का ४ जना उम्मेदवार राखेर गरेको चुनावी वहसमा कांग्रेस उम्मेदवार यादवले बेलबास–बेथरी–मर्चवार सडक, झुलनीपुर–सिपवा सडक र विभिन्न विद्यालयमा वजेट आफ्नो पहलमा पारेको भनेपछि स्थानीयले विरोध गर्दै हुटिङ गरेका थिए । प्रमोद यादव पहिलो चरणमा बोल्ने क्रममै झुठो कुरा भन्दै हुटिङ भएको थियो ।
केपी ओली नेतृत्वको सरकारले १६५ वटै निर्वाचन क्षेत्रमा सडक विस्तार गर्ने कार्यक्रम अन्तर्गत बनेका सडकलाई प्रमोद यादवले आफुले वजेट पारेको भनेपछि लफडा भएको स्थानीयको भनाई छ ।
प्रमोद पछि जसपा एमाले र राप्रपाका साझा उम्मेदवार ओमप्रकाश यादव गुल्जारीले बोल्ने क्रममा बेथरी–मर्चवार र झुलनीपुर–सिपवा सडकलाई एमाले सरकारको पालामा वजेट परेको,तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल आएर शिलान्याश गरेको बताएका थिए । गुल्जारीको कुरामा अर्का उम्मेदवार लोसपाका सर्वेन्द्रनाथ शुक्ला र जनमत पार्टीका भोपेन्द्र यादव र स्थानीयले समर्थन जनाएका थिए । दोस्रो चरणमा बोल्ने पालोमा पनि प्रमोदले अरुको सरकारको पालामा भएका काम आफ्नो पहलमा भएको भनेपछि फेरि विरोधमा हुटिङ भयो । त्यस क्रममा प्रमोदका भाइ रोहिणी गाउपालिकाका निवर्तमान प्रमुख सनोज यादवले हुटिङ गर्ने स्थानीयलाई हप्काउने र धकेल्न खोजेपछि स्थानीय झन् आक्रोशित भएर कुर्सी फालाफाल गरेका थिए । कुर्सी हानाहान हुन थालेपछि प्रमोद यादव त्यहांबाट आधा घण्टासम्म भागेका थिए ।
त्यसपछि ओमप्रकाश गुल्जारीले माइकबाट आउन आग्रह गरेपनि उनी नआएको प्रत्यक्षदर्शी एक स्थानीयले बताए । ‘अरुले गरेका काम मैले गरेको भनेर झुठ बोलेपछि जनता आक्रोशित भएका हुन्, अहिलेका जनता सचेत भयसकेका छन् भन्ने प्रमोद यादवले बुझेनन्’–उनले भने ।
प्रहरीले अप्रिय घटनाको रिपोर्ट नआएको बताएपनि कुर्सी हानहान र ढुङगा प्रहार हुंदा स्थानीय लालविहारी माविका प्राचार्य मुरलीधर शुक्लाको ओठमा इट्टाले चोट लागेको र ओठमा १७ वटा टाका लगाइएको सन्दिप त्रिपाठीले बताए । उनको उपचार भैरहवा स्थित भिम अस्पतालमा भइरहेको त्रिपाठीले बताए ।