भोटेकोशी बाढीपीडितका लागि कपिलवस्तुका ६ पालिकाले जुटाए सवा २ करोड


पालिका पत्र

7 September, 2026 9:01 pm मा प्रकाशित

बाणगंगा, २२ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कपिलवस्तुका छ स्थानीय तहले रु दुई करोड २५ लाख १३ हजार सहयोग गर्ने भएका छन्।

बाढीबाट प्रभावित परिवारको राहत, उद्धार, उपचार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले पालिकाहरूले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।

कपिलवस्तु नगरपालिकाले रु ५१ लाख ११ हजार, वाणगंगा नगरपालिकाले रु ४५ लाख, बुद्धभूमि नगरपालिकाले रु ४३ लाख ४५ हजार, महाराजगञ्ज नगरपालिकाले रु ३७ लाख र शिवराज नगरपालिकाले रु ३८ लाख ५७ हजार सहयोग गर्ने निर्णय गरेका छन्। विजयनगर गाउँपालिकाले भने रु १० लाख रकम कोषमा जम्मा गरिसकेको छ।

पालिकाहरूले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको सहभागितामा रकम जुटाएका हुन्। विपद्का बेला आफ्नो स्थानीय तहभन्दा बाहिरका प्रभावित नागरिकको उद्धार र राहतमा समेत स्थानीय सरकारको सक्रियता बढ्दै गएको छ।

बाढीपीडितको उद्धार, घाइतेको उपचार, बेपत्ताको खोजी तथा प्रभावित परिवारको पुनःस्थापनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले बताए। उनका अनुसार विपद्को समयमा पीडित नागरिकलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका कार्यक्रम आवश्यक छन्।

वाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले पनि विपद्का बेला स्थानीय सरकारले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए। स्थानीय तहसँगै नागरिकस्तरबाट समेत सहयोग जुट्नुले विपद्को सामना गर्न सामूहिक प्रयास आवश्यक रहेको देखाएको उनको भनाइ छ।

कपिलवस्तुका अन्य चार स्थानीय तहले पनि भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गर्ने तयारी गरिरहेका छन्। यसैगरी जिल्लाका उद्योगी–व्यवसायी, सामुदायिक वन, विद्यालय, समाजसेवी तथा विभिन्न संघसंस्थाले समेत उद्धार कोषमा रकम जम्मा गरी सहयोग गर्ने क्रम जारी छ।

प्रतिक्रिया दिनुहोस्