गाउँ ब्लक जग्गाको स्वामित्व सुनिश्चित हुँदै, बुद्धभूमिमा ७३० जनालाई लालपुर्जा


पालिका पत्र

7 September, 2026 8:57 pm मा प्रकाशित

कपिलवस्तु, २२ भदौ । बुद्धभूमि नगरपालिकाका गाउँ ब्लक जग्गाका थप ७३० जना जग्गाधनीले जग्गाधनी दर्ता प्रमाणपूर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । बुद्धभूमि नगरपालिका र नापी कार्यालय, तौलिहवा कपिलवस्तुको संयुक्त आयोजनामा आइतबार आयोजित कार्यक्रममा वडा नं. ७ का ३३८ जना र वडा नं. ८ का ३९२ जना गरी ७३० जना जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो ।

बुद्धभूमि नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष कपिलदेव तिवारीको अध्यक्षता तथा नगर प्रमुख केशवकुमार श्रेष्ठ र नापी कार्यालय तौलिहवाका नापी प्रमुख जनक भण्डारीको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा पूर्व जिल्ला समन्वय समिति प्रमुख तथा रास्वपा नेता नारायणप्रसाद खनाल, वडा नं. ७ का अध्यक्ष शालिकराम यादव, वडा नं. २ का अध्यक्ष सुरज प्रताप राणा, वडा नं. ५ का अध्यक्ष रोमबहादुर थापा क्षेत्री, वडा नं. ९ का अध्यक्ष प्रमोद आचार्यलगायत जनप्रतिनिधि, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो ।

यसअघि बुद्धभूमि नगरपालिका वडा नं. ५ मा ३३५, वडा नं. ६ मा ६२० र वडा नं. १० मा ७३१ घरपरिवारलाई गाउँ ब्लक जग्गाको लालपुर्जा वितरण भइसकेको छ । वडा नं। ७ र ८ मा समेत लालपुर्जा वितरण भएपछि नगरपालिकामा हालसम्म २ हजार ४१६ घरपरिवारले जग्गाधनी दर्ता प्रमाणपूर्जा प्राप्त गरेका छन् ।

लामो समयदेखि गाउँ ब्लक जग्गामा बसोबास गर्दै आएका नागरिकले लालपुर्जा पाएपछि जग्गामाथिको आफ्नो कानुनी स्वामित्व थप सुनिश्चित भएको छ । लालपुर्जा प्राप्त भएपछि नागरिकलाई जग्गाको कारोबार, बैङ्किङ प्रयोजन तथा अन्य कानुनी प्रक्रियामा समेत सहज हुने अपेक्षा गरिएको छ । नापी कार्यालयले वितरण गरिएको प्रमाणपूर्जामा कुनै त्रुटि भएमा ६० दिनभित्र नापी कार्यालय, तौलिहवा, कपिलवस्तुमा सम्पर्क गरी आवश्यक सच्याउन सम्बन्धित जग्गाधनीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्