गठबन्धन सरकारबाट राष्ट्रिय गौरवका योजनाहरु रोकिए : विश्वकर्मा


appharu

२९ कार्तिक २०७९, मंगलवार १७:५६ मा प्रकाशित

पालिकापत्र,देवदह । नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले ५ दलको गठबन्धन सरकार बनेपछि नेकपा एमालेको सरकारले अघि बढाएका राष्ट्रिय गौरवका योजनाहरु ओझेलमा परेको बताएका छन् ।
रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका नेता विश्वकर्माले एमाले सरकारले अगाडि सारेका विकास निर्माणका योजनाहरुको वजेट गठबन्धन सरकारले कटौती गरेर देशलाई बर्बादीतर्फ धकेलेको आरोप लगाए ।
रुपन्देहीको देवदह नगरपालिका ६, केउलीमा नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त भेला तथा मतदातासंग कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन् ।
उनले एमालेले जितेमा शिक्षा, स्वास्थ्य, रोजगार र भौतिक पुर्वाधारका योजनाहरु विशेष महत्व दिएर अघि बढाउने दावी गरे । पुर्वमन्त्री समेत रहेका नेता विश्वकर्माले नागरिकको चाहना अनुसार विकास निर्माणका काम अगाडि बढाउने बताउंदै मंसिर ४ पछि बन्ने एमालेको सरकारले सामाजिक सुरक्षा भत्तालाई ५ हजार पु¥याउने दावी गरे ।
नेता विश्वकर्माले सरनवारी, केउलीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताउदै केउलीलाई नमुना गाउँको रुपमा विकास गर्ने बताए । उनले केउलीको भौतिक विकास निर्माणलाई प्राथमिकता राखेर योजना बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले विदेशी नागरिकलाई नागरिक दिन तयार हुने सत्ता गठबन्धनबाट देशको विकास हुन नसक्ने ठोकुवा गरे ।

उनले अहिलेको निर्वाचन राष्ट्रियता बचाउने कि बिगार्ने वीचको लडाई भएको हुदा नेकपा एमाले, राप्रपा र जसपाको साझा उम्मेदवारलाई विजय गराउनु पर्नेमा जोड दिए । सोही अवसरमा बोल्दै क्षेत्र नम्वर १ (१) प्रदेश सभा सदस्यका उम्मेदवार तथा राप्रपाका नेता आशिषकुमार चौधरीले नागरिकको चाहना अनुसार विकास निर्माणका कामहरु गर्ने प्रतिवद्धता व्यक्त गरे ।
संयुक्त निर्वाचन परिचालन कमिटी देवदह ६, का संयोजक नेत्रप्रसाद काफ्ले, राप्रपाका नेता माधव रिमाल,निर्वाचन परिचालन समितिका सदस्य विष्णु बराल,राजन अधिकारी लगायतले राष्ट्र र राष्ट्रिताको लागि एमाले नेतृत्वको गठबन्धनको जित अपरिहार्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्