नमस्ते एकेडेमीमा क्रियटिभ फेस्टिभल हुँदै


appharu

३ पुष २०७९, आईतवार १९:२३ मा प्रकाशित

पालिकापत्र,बुटवल । ‘विद्यालय नै विद्यार्थीको पहिलो घर’ अवधारणलाई आत्मसात गरी ५ वर्षदेखि सञ्चालित नमस्ते एकेडेमीमा विद्यार्थीमा अन्तरनिहित सिर्जनशील प्रतिभाहरु प्रष्फुटनका लागि नमस्ते क्रियटिभ फेस्टिभलको आयोजना गरिएको छ । एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा पुस ४ गते विद्यालयमा क्रियटिभ फेस्टिभल आयोजना गरिएको हो । नमस्ते एकेडेमी केही वर्षयता अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त द ब्रिटिस कलेजसंगको सहकार्यमा सञ्चालित हुदै आएको छ । विद्यालयमा कार्यरत ब्रिटिस शिक्षक मार्टिन स्कार्बकको प्रत्यक्ष संयोजनमा सञ्चालन हुने एक दिने फेस्टिभलको लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बीरबहादुर रानाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा १२ सम्मका विद्यार्थीले आफ्नो रुचि र क्षमता अनुसार सूचना प्रविधि र विज्ञान प्रदर्शनी, क्वीज, गायन, नृत्य, नाटक , आर्ट, क्राफ््ट ,पेन्टिङ्ख, कम्प्युटर गेम, खेलकुद प्रतियोगिता, फुड मेलाको प्रदर्शनी गर्ने विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुंवरले जानकारी दिए ।

फेस्टिभलमा वातावरणमैत्री विश्व निर्माण गर्नै पर्ने बाध्यात्मक अवस्थालाई बालबालिका माझ जानकारी गराउँदै पुनः प्रयोग गरिएका थुप्रै सामग्रीलाई अवलोकनका लागि राखिने छ । फेस्टिभलमा करिब साढे ४ सय विद्यार्थीका अभिभावकहरुको पनि सहभागिता रहने अपेक्षा गरिएको छ ।

विद्यार्थीको सिर्जनात्मक क्षमता उजागर गर्न विद्यार्थीकै अग्रसरतामा यस्तो फेस्टिभल पहिलोपटक आयोजना भएको र यसले विद्यार्थीलाई थप सिर्जनशील र खुशी बनाउने विद्यालयका प्राचार्य जिग्मे शेर्पाले बताए ।

‘यो कार्यक्रम विशुद्ध विद्यार्थीहरुको आयोजना हो,यसको सञ्चालन विद्यार्थीहरुले आफ्नै ढंगले गर्नेछन्’–प्रिन्सिपल शेर्पाले भने–‘विश्वव्यापि शैक्षक मान्यता अनुसार व्यवहारिक सिकाईलाई प्रोत्साहन गर्न र विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासमा यो कार्यक्रमले राम्रो भूमिका खेल्ने छ ।’
विद्यार्थीको सृजनात्मक क्षमतालाई प्रस्फुटन गराउँदै २१ औँ शताब्दिको परिवेश अनुसार विद्यालयले आफ्नो छुट्टै सिकाइको पाठ्यक्रम तयार पारेको र बेलायतको विद्यालयमा पढाइने इनोभेसन तथा व्यावसायिक विषयलाई केन्द्रमा राखी स्थानीय परिवेशसँग एकीकृत गरिएको एकेडेमीका स्कुल हेड अरुण कंडेलले बताए ।
विद्यालयमा कार्यरत ब्रिटिस शिक्षक मार्टिन स्कार्बकले हरेक विद्यार्थीमा फरक किसिमको सिर्जनात्मकता , नवीनता र नेतृत्व क्षमता रहेकाले तिनलाई उजागर गर्न क्रियटिभ फेस्टिभल आयोजना गरिएको बताए । ‘हरेक बच्चामा बिलक्षण प्रतिभा हुन्छ,आफ्ना आन्तरिक चाहना हुन्छन् भन्ने सिद्धान्तमा यो कार्यक्रम केन्द्रित छ,विद्यार्थी आफ्नो खुशीको प्रदर्शन गर्नका लागि सदैव तयार रहन्छन् । यो विद्यार्थीको सृजनात्मक क्षमता, व्यवस्थापन र नेतृत्वमा संचालित मोफसलको पहिलो कार्यक्रम हो’– मार्टिनले भने ।

प्रतिक्रिया दिनुहोस्