बुटवल नगरसभाको १२औं अधिवेशन शुरु, नगरप्रमुखद्वारा ३५ बुँदे प्रगति विवरण प्रस्तुत


appharu

२१ पुष २०७९, बिहीबार २०:३५ मा प्रकाशित

पालिकापत्र, बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशन शुरु भएको छ । नगरसभाको बैठकमा सम्बोधन गर्दै नगरप्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरु समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिने बताउनुभयो ।
उहाँले नगरका जनप्रतिनिधि र कर्मचारीले अधिकतम समय योजना सम्पन्न गर्न र व्यवस्थित सेवा प्रवाह गर्नतर्फ ध्यान दिने बताउनुभयो । उहाँले भन्नुभयो–‘चालु आर्थिक वर्षमा सम्पन्न गर्ने भनिएका सबै योजनाहरु चालु आर्थिक वर्षभित्रै पूरा गरी आउँदो वर्षमा नयाँ योजना, नयाँ शैली र नयाँ अभियानका साथ अघि बढ्नेछौं ।’
चालु आर्थिक वर्षमा हासिल भएका उपलब्धि र प्रयासहरुको ३५ बुँदे सम्बोधन गर्दै उहाँले बुटवल उपमहानगरपालिका वडा नं. १३ र १७ मा १६÷१६ बेडका अक्सिजन सहितका दुई अस्पताल स्थापना गर्ने काम अघि बढेको बताउनुभयो । उहाँले उज्यालो बुटवल अभियान अन्तरगत बुटवलका ५२ वटा स्थानमा उच्च क्षमताका सडक बत्ती जडान, संघीय सरकारबाट प्राप्त हुने विशेष अनुदानका लागि बुटवलका पछाडि परेका ६ वटा विद्यालयको स्तरोन्नति लगायतका कामका लागि नगरले अगुवाई गरिरहेको बताउनुभयो ।
नगरप्रमुख पाण्डेयले गत वर्षायाममा बुटवलमा बाढीपहिरोबाट क्षति हुनबाट जोगाइएको र आगामी वर्षामा समेत जोखिम न्यूनीकरणका लागि प्रयास भइरहेको बताउनुभयो ।
नगरप्रमुखले प्रस्तुत गरेको प्रगति विवरणमा बुटवलको ठेला व्यवस्थापन, इरिक्सा व्यवस्थापन गर्ने काम जारी रहेको र छाडा चौपाया व्यवस्थापनका लागि कार्यविधि तयार गरी प्रक्रिया अघि बढाएको बताउनुभयो । उहाँले रोजगारदाता र रोजगारप्राप्त गर्ने व्यक्तिबीच समन्वय र श्रमसम्बन्धि सहजीकरणका लागि श्रम बैंक स्थापनाको काम अघि बढेको बताउनुभयो ।
बुटवलको बस्तीमाथि रहेको विद्युत प्रशारण लाईन बस्तीक्षेत्रबाट हटाउन र बुटवलमा विद्युतीय तार भूमिगत बनाउनका लागि नेपाल विद्युत प्राधिकरणसँग छलफल गरी आवश्यक प्रक्रिया अघि बढाएको, बुटवलको खानेपानी समस्या समाधानका लागि हिलपार्कमा खानेपानी ट्यांकी निर्माण गर्ने र चिडियाखोला खानेपानीको निर्मलीकरण गर्ने गरी प्लान्ट स्थापना गर्नका लागि सर्भे गर्ने काम अघि बढेको उहाँले बताउनुभयो ।
नगरसभाको बैठकमा स्वास्थ्यसम्बन्धि ऐन पहिलो संसोधनको प्रस्ताव विधायन समितिका संयोजक नरेन्द्र बस्नेतले टेबुल गर्नुभयो । बस्नेतले प्रस्ताव टेबुल गरेपछि बैठक माघ ११ गतेसम्मका लागि स्थगित भएको छ ।

उपलब्धि तथा प्रयासहरु :
१. चालु आर्थिक वर्षका लागि तय गरिएका योजनाहरु समयमै सम्पन्न गर्नका लागि नियमित रुपमा बैठक तथा कार्यादेश भइरहेको छ ।
२. बुटवल उपमहानगरपालिका वडा नं. १३ र १७ मा १६÷१६ बेडका अक्सिजन सहितका दुई अस्पताल स्थापनाका लागि टेण्डर आह्वान गरि सम्झौता भइसकेको छ ।
३. उज्यालो बुटवल अभियान अन्तरगत बुटवलका ५२ वटा स्थानमा उच्च क्षमताका सडक बत्ती जडानका लागि प्रस्ताव तयार गरी संघीय सरकारमा पठाइएको छ ।
४. संघीय सरकारबाट प्राप्त हुने विशेष अनुदानका लागि बुटवलका पछाडि परेका ६ वटा विद्यालयको स्तरोन्नति तथा क्षमता वृद्धिका लागि १० करोड रुपैयाँको प्रस्ताव पेश गरिएको छ ।
५. बुटवल–१५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने कामका लागि इआइए (भ्क्ष्ब्) अन्तिम चरणमा पुगेको छ ।
६. बुटवल उपमहानगरपालिका वडा नं.७ र ८ मा रहेको धागो कारखानादेखि उत्तरतर्फको २५ विगाहा जग्गा प्रदेश स्तरको हरियाली बसपार्क निर्माणका लागि शिवनगर सामुदायिक वनसँग सहमति प्राप्त भई आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।
७. लामो समयसम्म विवादमा रहेको मोतीपूर औद्यौगिक क्षेत्रमा जग्गा यकिन गरी ब्यवस्थापन गर्न ड्रोन प्रविधिबाट जग्गा नापजाँच गर्ने कार्य सम्पन्न भएको छ ।
८. नगरभित्रको जग्गालाई कृषि र गैरकृषि क्षेत्र छुट्याउने कार्यका साथै कित्ताकाट खुला गर्ने काम भएको छ ।
९. लामो समयसम्म बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बसोबास गरेपनि बसोबासको कुनै प्रमाण नभएकाहरूलाई बसोबासको प्रमाण पत्र प्रदान गर्न सूचना जारी गरी प्रमाण पत्र वितरणको लागि प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
१०. उपमहानगर क्षेत्रभित्र सडक तथा सार्वजनिक स्थलमा अव्यवस्थित रुपमा रहेका ठेला व्यवसाय र अन्य व्यवसाय तथा सामग्री हटाई व्यवस्थित गर्ने कार्य अगाडि बढेको छ ।
११. बुटवल उपमहानगरपालिकाबाट इजाजत प्राप्त नगरेका ई–रिक्सा सञ्चालनमा रोक लगाउँदै इजाजत प्राप्त भएका ई–रिक्सालाई नियमन तथा व्यवस्थापन गर्ने कार्य निरन्तर चलिरहेको छ ।
१२. सडकपेटीमा लगाउदै आएका हरेक खालका व्यवसायलाई व्यवस्थित गर्दै हाटबजारभित्र व्यवस्थापन गर्ने कार्य अगाडि बढाइएको छ ।
१३. नियमित रुपमा बजार अनुगमन गर्दै उपभोक्ताको हित र अधिकारको संरक्षणका लागि निरन्तर अभियान सञ्चालन भएको छ ।
१४. तिनाउ नदी किनारका बस्तीमा बाढीले जोखिम पु¥याउनबाट रोक्नका लागि नदीको विभिन्न स्थानमा च्यानलाइज गर्ने कार्यको प्रक्रिया थालनी भएको छ र नदीको विभिन्न ठाउँमा तारजाली लगाउने कार्यलाई निरन्तरता दिइएको छ ।
१५. ज्योतिनगर–लक्ष्मीनगर तथा पाखापानी पहिरोबाट प्रभावित क्षेत्रलाई गएको वर्षायाममा जोखिममुक्त बनाउने काम सफल भएको छ । साथै, आगामी वर्षायाममा जोखिम न्यूनीकरण गर्न बजेट व्यवस्थापन गरिसकिएकोले छिटै टेण्डर प्रक्रियामा जाने तयारी रहेको छ ।
१६. आम्दा अस्पतालमा पारा मेडिकल र नर्सिङ विषयको प्रविणता प्रमाण पत्र तहको कक्षा सञ्चालन, फार्मेसी ल्याब र थेरापी अध्ययनका लागि काम अघि बढेको छ ।
१७. बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि भौतिक पूर्वाधार तयार गर्ने काम अघि बढेको छ ।
१८. बुटवल १६ मा कृषिविज्ञान (बी.एस.सी.ए.जी.) कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।
१९.बुटवल उपमहानगरपालिका, नगरविकास कोष र मल्टि डेफोर्ट हार्मोनिक जेभीसँग बहुतले पार्किङ भवन निर्माणका लागि परामर्शदातासँग सम्झौता भई आवश्यक प्रक्रिया अघि बढेको छ ।
२०. बुटवल ७ शिवनगरमा छाडा चौपाया व्यवस्थापनका लागि कार्यविधि तयार गरी प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
२१. रोजगारदाता र रोजगार व्यक्तिबीच समन्वयको काम गर्ने र श्रमसम्बन्धि सहजीकरणका लागि श्रम बैंक स्थापना गर्न कार्यविधि बनाइएको छ ।
२२. बुटवलको कालिकापथमा रात्रीकालीन बजार सञ्चालनका लागि अनुमति दिइएको छ भने ट्राफिक चोक र अमरपथ क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका बारेमा अध्ययन भइरहेको छ ।
२३. राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको ६ लेन सडक निर्माण कार्य छिटै सम्पन्न गर्न सहजीकरण र समन्वय गर्ने काम निरन्तर भइरहेको छ ।
२४.बुटवलको बस्तीमाथि रहेको विद्युत प्रशारण लाईन बस्तीक्षेत्रबाट हटाउन र बुटवलमा विद्युतीय तार भूमिगत बनाउनका लागि नेपाल विद्युत प्राधिकरणसँग छलफल गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
२५.पूर्वपश्चिम राजमार्गस्थित तिनाउ पुललाई विस्थापित गरी पर्यटकीय पार्कसहितको सिग्नेचर ब्रिज निर्माणका लागि विश्व बैंकसँग छलफल र वार्ता गरि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
२६. बुटवलको खानेपानी समस्या समाधानका लागि हिलपार्कमा खानेपानी ट्यांकी निर्माण गर्ने र चिडियाखोला खानेपानीको निर्मलीकरण गर्ने गरी प्लान्ट स्थापना गर्नका लागि सर्भे गर्ने कार्य अघि बढेको छ र नेपाल खानेपानी संस्थान बुटवलले यसैवर्ष टेण्डर गर्ने गरी लिखित प्रतिबद्धता प्राप्त भइसकेको छ ।
२७. बुटवल–११ मा वीपी–पुष्पलाल–सूर्यप्रसाद प्रधान पार्क निर्माणको लागि डीपीआर अन्तिम चरणमा पुगेको छ ।
२८. बुद्धनगर पुलदेखि झोलुंगे पुलसम्म पक्की सडक निर्माण कार्यका लागि सम्झौता भइसकेको छ ।
२९. बुटवल नगरभित्रको विभिन्न स्थानका १७ किलोमिटर सडक स्तरोन्नति गर्ने कार्यका लागि सर्भे सम्पन्न भईसकेको छ र एडीबीबाट यसै वर्ष ठेक्का प्रक्रिया अगाडि बढाउने तयारी रहेको छ ।
३०. बहुतले र व्यवसायिक भवन निर्माणका लागि डीपीआर तयार गर्ने र आवश्यक प्रक्रियामा अघि बढाउने काम गरिएको छ ।
३१. कोभिड १९ विरुद्ध खोप लगाएका नागरिकहरुलाई वैदेशिक प्रयोजनका लागि आवश्यक पर्ने क्युआर कोड ११ हजार १ सय ९ जनालाई उपलब्ध गराइएको छ ।
३२. बुटवलभित्रका सरकारी कार्यालयहरुका बीचमा समन्वय र सहकार्यका लागि नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहितको टीमले नियमित रुपमा छलफल तथा बैठक बस्ने र सहजीकरण गर्ने कार्य निरन्तर भइरहेको छ ।
३३. चालू आर्थिक वर्षका लागि सम्पत्ति कर र घरबहाल कर, इरिक्सा कर, हाटबजार बैठकी कर, महिला, अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका व्यवसायका लागि लाग्ने व्यवसायमा लाग्ने कर छुट कार्यान्वयन गरिएको छ । साथै, राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माण कार्य समयमा सम्पन्न नहुँदा राजमार्गतर्फ पसल राखी व्यवसाय गर्न कठिनाई भोग्नुपरेका व्यवसायीहरुलाई व्यवसायमा लाग्ने कर छुट कार्यान्वयन गरिएको छ ।
३४. ज्योतिनगर पहिरो प्रभावित क्षेत्रका संरचनाहरुमा सम्पत्ति कर असुली गर्दा सम्पत्ति मूल्यांकनमा लाग्ने घटाइएको कर छुट कार्यान्वयन गरिएको छ ।
३५. बुटवलका स्थायी बासिन्दाको लागि आमा र नवजात शिशुलाई पोषण खर्चवापत् रु २ हजार रुपैयाँ दिने व्यवस्था गरिएकोमा कार्यविधि बनाइ कार्यान्वयनको चरणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्