जन्मकैद भएका रेशम चौधरीको मुद्दाको पेशी आज,रिहा गराउने चलखेल


appharu

१७ माघ २०७९, मंगलवार ०८:२६ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । वहुचर्चित टीकापुर घटनाको पेशी आज रहेको छ । २०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने,एक अबोध बालकसहित आठ सुरक्षाकर्मी मारिएका थिए ।

उक्त घटनामा रेशम चौधरी सहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । त्यसको २ वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

सोही साल फागुन १२ गते रेशमको पक्षका कानुन व्यवसायीहरूले सर्वोच्चमा पुनरावेदनका लागि दिएको निवेदनमाथि आज बहस हुने बताइएको छ ।
यस अघि सर्वोच्च अदालतमा ८ पटक सम्म साधारण तारिख र ५ पटक पेशी सरेको थियो ।
रेशमको पक्षमा सरोज बुढाथोकी,ध्रुवलाल श्रेष्ठ, रन्जितभक्त प्रधानाङ्ग, दीपेन्द्र झा, लोकमनी पोख्रेल, मनिस श्रेष्ठ, आसिश श्रेष्ठ लगायत करिब १ दर्जन बढी वरिष्ठ अधिवक्ताहरूले झगडिया झिकाऊका लागि बहस गर्ने छन्।

जिल्ला अदालतले ११ जनालाई जन्मकैदको फैसला सुनाएको र उच्च अदालत दिपायलले ८ जनालाई जन्मकैदको फैसला सुनाएको हुँदा सरकारी वकिलले पनि झगडिया झिकाऊका लागि बहस गर्ने बताइएको छ ।
टीकापुर घटनाको सन्दर्भमा न्यायाधीशले झगडिया झिकाऊका लागि फैसला गरे टीकापुर घटनाका विषयमा थप बहस हुने छ ।

न्यायाधीशले उच्च अदालतकै फैसला सदर गरे अदालतीय प्रक्रिया मार्फत रेशम रिहाइको बहस सकिने छ ।
कानुन व्यवसायीहरू भने आज दुवै सम्भावना रहेको बताउँछन् ।

यसअघि मुख्य अभियुक्त रेशम चौधरीको राजनीतिक शक्ति कमजोर भएपनि गएको मंसिर ४ को चुनावले उक्त पार्टीको संसदमा बलियो उपस्थिति रहेको, उनको पार्टीले प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको र प्रधानमन्त्रीले समेत उनलाई भेट्दै आएकाले उनको मुद्दा प्रभावित भई रिहा हुने सम्भावना बढी रहेको राजनीतिक वृत्तमा चर्चा छ । यद्यपि यो अनुमान गलत सावित हुन पनि सक्छ । यो खबर आज न्युज बुटवलटुडेले प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्