विकास निर्माणमा सबै दल एकतावद्ध हौं : विष्णु पौडेल


पालिका पत्र

१ चैत्र २०७९, बुधबार १८:४२ मा प्रकाशित

पालिकापत्र,तिलोत्तमा । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले बिकास निर्माणको सवालमा सबै दल दलीय घेरा भन्दा माथि उठेर एकताबद्ध बन्न जरुरी रहेको बताएका छन् । तिलोत्तमा नगरपालिकामा आयोजित सरसफाई तथा हरियाली प्रवद्र्धन अभियानको एक सयौं श्रृंखला मूल समारोहमा बोल्दै पौडेलले आफू विकास निर्माणको सवालमा आफ्नो दल बिर्सेर सबैको साझा प्रतिनिधिका रुपमा काम गर्दै आएको बताए । सरसफाई अभियानमा आसपासका अन्य पालिकाहरुलाई समेत जोड्न तिलोत्तमालाई आग्रह गर्दै उनले सरसफाई, विकास निर्माण र अन्य सामाजिक विषयमा तिलोत्तमाले आफ्नो विशिष्ट पहिचान बनाएको बताउँदै विकासको पक्षमा सबै जनप्रतिनिधिहरु एकै ठाउँमा रहेको स्पष्ट पारे ।
सरसफाईका क्षेत्रमा तिलोत्तमाले गरेको प्रयास र कामहरु दुरगामी र अनुकरणीय रहेको उनले बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको दीगो र पूर्ण क्षमतामा सञ्चालन, मोतिपुर औद्योगिक क्षेत्र,सिद्धबाबा सुरुङ्ग मार्ग लगायतका ठूला आयोजनाहरु निर्धारित समयमै पूरा गरी रुपन्देहीलाई पुर्वाधार विकासमा देशकै नमूना र विकासको पाठशाला बनाउन सकिने उनले बताए ।
रुपन्देही ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले तिलोत्तमालाई वातावरणमैत्री नगर बनाउंदै प्रांगारिक नगरको रुपमा विकास गर्नुपर्ने सुझाए । भारतबाट आयातित तरकारीको बिषादी परिक्षण अनिवार्य गरिनुपर्ने भन्दै उनले नगरभित्र विषादीयुक्त तरकारी फलफूलको प्रयोग पनि निषेध गर्नुपर्ने बताए ।

यस्तै प्रतिनिधिसभा सदस्य एवं प्रथम तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले नेपालले दीगो विकास लक्ष्यका लागि जनाएको प्रतिबद्धता पूरा गराउन पनि सरसफाई अभियान हरेक पालिकाले चलाउनुपर्नेमा जोड दिए । आफ्नो कार्यकालमा सुरु भएको सरसफाई अभियानलाई निरन्तरता दिएकोमा नगरपालिकाको नेतृत्वप्रति आभार व्यक्त गर्दै उनले तिलोत्तमालाई अब तरकारीमा आत्मनिर्भर बनाउँदै प्रारङ्गारिक खेतीमा जोड दिन सुझाव दिए ।

बाग्मती सरसफाई महाअभियानका संयोजक एवं पूर्व मुख्यसचिव लिलामणि पौडेलले फोहोरमैला व्यवस्थापनमा कोही पनि बाधक बन्न नहुने बताउँदै संस्कार बदल्न सके मात्र फोहारमैलाको दीगो व्यवस्थापन हुने बताए । उनले सबै कर्तव्यनिष्ट भएर काम गर्दा हरेक अभियान सफल हुने बताउँदै फोहोर कम उत्पादन, पुनः प्रयोग र प्रशोधनमा समेत ध्यान पुर्याउनुपर्ने बताए ।

सो अवसरमा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईं, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलगायतले साझा समस्या समाधानका लागि अन्तरपालिका समन्वय हुनुपर्ने बताए ।

सो अवसरमा हरियाली प्रवद्र्धन तथा नगर सरसफाई अभियान प्रारम्भ गरी संस्थागत गराउन महत्वपूर्ण काम गरेकोमा पूर्व नगरप्रमुख बासुदेव घिमिरे र विभिन्न संघ संस्थाहरुलाई सम्मान गरिएको अभियानका संयोजक कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्