कपिलवस्तु कारागारको २ नम्बर ब्लक दोस्रो दिन पनि कैदीबन्दीकै नियन्त्रणमा के हुन माग ?


पालिका पत्र

30 June, 2026 1:10 pm मा प्रकाशित

कपिलवस्तु । सोमबारदेखि कैदीबन्दीको नियन्त्रणमा रहेको कपिलवस्तु कारागारको २ नम्बर ब्लक मंगलबार पनि प्रशासनको नियन्त्रणमा आउन सकेको छैन। कारागार प्रशासन तथा सुरक्षाकर्मीहरू हालसम्म ब्लकभित्र प्रवेश गर्न नसकेको जनाइएको छ।

आन्दोलनरत कैदीबन्दीहरूले २ नम्बर ब्लकका चौकीदार दामोदर थारु तथा मूल नाइकेसहितको समूहले गत शनिबार चार जना कैदीबन्दीलाई निर्घात कुटपिट गरेको, सरकारले तोकेको मापदण्डअनुसार राशन उपलब्ध नगराएको, कारागारभित्रको क्यान्टिनमा चर्को मूल्य असुल गरिएको तथा विरोध गर्ने कैदीबन्दीमाथि चरम दुर्व्यवहार भएको आरोप लगाउँदै आन्दोलन जारी राखेका हुन्।

आन्दोलनका क्रममा कैदीबन्दीहरूले नियन्त्रणमा लिएका मूल नाइके केयर सिंह खत्री, सहनाइके विजय खत्री र अर्जुन थारुलाई नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालको समन्वयमा मंगलबार मुक्त गरिएको छ। जिल्ला सुरक्षा समितिसँग वार्ताका लागि तयार नभएका आन्दोलनरत कैदीबन्दीहरूले सोमबार राति पत्रकार महासंघलाई मध्यस्थताका लागि आग्रह गरेका थिए।

आन्दोलनरत पक्षले आफ्ना १८ बुँदे माग तत्काल सम्बोधन गर्नुपर्ने, साथै हाल कार्यरत चौकीदार तथा नाइकेहरूलाई हटाएर नयाँ जिम्मेवारी तोक्नुपर्ने माग राख्दै आएका छन्। आन्दोलनरत कैदीबन्दी नारायण वलीका अनुसार कारागार प्रशासनले विवादमा मुछिएका चौकीदार तथा नाइकेहरूलाई नै पुनः परिचालन गर्ने अडान नछाडेकाले दोस्रो दिन पनि ब्लक आफ्नै नियन्त्रणमा राख्न बाध्य भएको हो।

कैदीबन्दीहरूले कारागार प्रमुख मानबहादुर सारुले आफ्ना मागप्रति बेवास्ता गरेको, उल्टै सुरक्षाकर्मी परिचालन गरी बल प्रयोग गर्ने चेतावनी दिएको आरोप लगाएका छन्। उनीहरूले जबर्जस्ती हस्तक्षेप गरिए आत्मदाहसम्म गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन्।

यता प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले घटनाको समाधानका लागि जिल्ला सुरक्षा समितिको बैठक जारी रहेको र आन्दोलनरत कैदीबन्दीसँग निरन्तर समन्वय भइरहेको बताए। उनका अनुसार अवस्था समाधानउन्मुख रहेको छ।

तर सुरक्षा स्रोतका अनुसार जिल्ला प्रशासन र कारागार प्रशासनले घटनालाई सामान्य रूपमा लिएको देखिएको छ। माग सम्बोधन नभए बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिने तयारी प्रशासनको रहेको र त्यसो भए अप्रिय घटना हुन सक्ने जोखिम रहेको सुरक्षा स्रोतको आकलन छ।

कपिलवस्तु कारागारमा दुईवटा ब्लक रहेका छन्। तीमध्ये २ नम्बर ब्लकमा करिब १९० जना कैदीबन्दी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्