कपिलबस्तुमा नदीजन्य पदार्थको बेथिति: राजश्व संकलनमा गिरावट !


२६ चैत्र २०७९, आईतवार १७:०६ मा प्रकाशित

कपिलवस्तु :

कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित कोईली र धिरि खोलामा बिगत २ बर्षदेखि ठेक्का नलाग्दा राजश्वमा भारी मात्रामा गिरावट आएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७९/८० मा नदीजन्य पदार्थ उत्खनन् र निकासीका लागि चार/चार पटक ठेक्का आह्वान ग¥यो तर नगरक्षेत्रका पाँच नाका मध्ये कोईली र घिरि खोलामा ठेक्काको प्रस्ताव नै पर्न सकेन ।

चारपटक सम्म पनि आह्वान गर्दा समेत ठेक्का पर्न र सम्झौता अझैसम्म भएन । ठेक्का नलागेका नाकावाला नदी तथा खोला क्षेत्रमा एकातर्फ दिनहुँ चोरी निकासी भइरहे पनि त्यसलाई नियन्त्रण गर्नेतर्फ कसैको चाँसो छैन्, अर्कोतर्फ चोरी निकासी बढिरहँदा स्थानीय सरकारले खोलेको ठेक्का समेत लागेको अवस्था छैन् । नदीजन्य पदार्थ चोरी भएर राजश्व गुमिरहेको छ भने अर्कोतर्फ स्थानीय सरकारको आम्दानीको स्रोत पनि घटेको छ ।

यहाँका मधुवन नाका, धनेशपुर र बनकसिया नाकामा मात्रै ठेक्का लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुषाल बताउँछन् । पाँचवटै नाकामा ठेक्का लगाउन प्रारम्भिक वातावरण प्रभाव मूल्यांकन गरिएको थियो । सोही आधारमा सार्वजनिक सूचना प्रकाशित गरेर ठेक्का आह्वान गरिएको हो । तर कोईली र घिरि खोलामा ठेक्का पर्न मुस्किल प¥यो, उनले भने ।

बाणगंगा नगरपालिकाको क्षेत्रभित्र रहेका कोईली र धिरि खोला क्षेत्रमा बालुवा र ढुंगा चोरी भई नदीजन्य पदार्थ नै नभएको भन्दै प्रस्ताव नआएको दाबी छ, तर चोरी निकासी भइरहेकाले कसैले पनि ठेक्का हाल्न तयार नभएको श्रोतको भनाइ छ । ‘हामीले त ठेक्का आह्वान ग¥यौं तर, उक्त नाकामा एउटा पनि प्रस्ताव आउन सकेन, यसबारे बैठक आह्वान गरेर छलफल प्रक्रियामा जान्छौं’–उपप्रमुख रीता कुमारी चौधरीले भनिन् । चोरी निकासी भइरहेको बारेमा मौखिक तथा लिखित जानकारी आफुहरुसँग आएको छैन्, यदि त्यस्तो भएको भए कारवाहीको दायरामा ल्याउछौं ।

घिरि खोला (नगरपालिकाको सूचनामा उल्लेख नाम) अर्थात धिरि खोला अन्र्तगत आर्थिक बर्ष २०७८/०७९ मा पश्चिम जिनुवा पुल तलको क्षेत्र, श्री राम नि.मा.वि. क्षेत्र, बक्सिसपुर क्षेत्र, कालिका सामुदायिक वन, सालघारी टोल क्षेत्र गरि उत्खनन् क्षेत्रहरुमा बिक्रिका लागि तोकिएको बार्षिक परिणाम ४४,०३८ घनमिटर रहेको थियो । उक्त परिणामको लागि मुल्य अभिवृद्धि कर बाहेक न्यूनतम अंक १ करोड २४ लाख ३६ हजार ३९६ रुपैयाँ निर्धारण नगरपालिकाको नवौं नगरसभा अधिवेशन दोस्रो बैठकले निर्णय समेत गरेको थियो ।

यस्तै, कोईली खोलाको खोजीपुर क्षेत्रमा पनि आर्थिक बर्ष २०७८/०७९ मा बिक्रीका लागि तोकिएको बार्षिक परिणाम २४,०२२ घनमिटर निर्धारण गरिएको थियो । उक्त परिणामको लागि भ्याट बाहेक न्यूनतम अंक ६७ लाख ८५ हजार ७३५ रुपैयाँ उक्त बैठकले तोकेको थियो । उता, आर्थिक वर्ष २०७८/७९ मा समेत ठेक्का आह्वान गरिए पनि ठेक्का सम्झौता हुन सकेको थिएन् । २०७८ असोज २५ गते प्रकाशित सूचनामा १९/७८–७९ कोईली खोला र २०/७८–७९ घिरि खोलाको ठेक्का आह्वान गरिएको थियो ।

यो बर्षमा मात्रै तीनपटक ठेक्का आह्वान :
यो बर्षमा मात्रै तीनपटक ठेक्का आह्वान गरिएको छ । तर अहिले सम्म पनि यी नाकामा ठेक्का सम्झौता हुन सकेन् । २०७९ पुष ४ गते कोइली खोला र घिरि खोलाको नदीजन्य पदार्थको उत्खनन्का लागि ठेक्का आह्वान गरेको थियो । यस्तै २०७९ माघ २३ गते कोइली खोला र घिरि खोलाको नदीजन्य पदार्थको उत्खनन्का लागि पुनः ठेक्का आह्वान गरेको थियो । २०७९ फागुन २१ मा नगरपालिकाको करार प्याकेज नं. ४२/७९–८० मा कोइली खोला र ४३/७९–८० मा घिरि खोलाका लागी नदीजन्य पदार्थको उत्खनन्को ठेक्का आह्वान नगरपालिकाले गरेको थियो ।

कोईली र घिरि खोलामा ठेक्का लगाउन चाहाने ठेकेदारले नाकामा एक्साभेटर लगाएर खोलाको उत्खनन् गर्न पाउनुपर्ने माग राखेपछि ठेक्का सम्झौता हुन नसकेको श्रोतको भनाइ छ । नगरपालिकाको वडा ९ मा पर्ने यी दुई नाकामा ठेक्का नलाग्दा आन्तरिक राजश्वमा गिरावट आएको छ नै, त्यसमाथि चोरी निकासी समेत बढ्दै गएको छ ।

पटक–पटक प्रस्ताव आह्वान गर्दा पनि ठेक्का नलाग्दा समस्या आएको नगरपालिकाको पूर्वाधार बिकास शाखाको भनाइ छ । यद्यपि, धिरि खोलाको ठेक्का आह्वान पश्चात सम्झौता प्रक्रियामा रहेको नगरपालिकाका इन्जिनियर सुरज घिमिरेले बताए । प्रयाप्त परिणाम समेत खोलामा नरहेकाले निर्धारित राजश्व संकलनमा संकुचन आउन सक्ने उनको धारणा छ ।

भलवाडका ट्याक्टर ब्यवसायीको सिण्डिकेट :
भलवाड क्षेत्रमा करिब ५० भन्दा बढि ट्याक्टर ब्यवसायी छन् । उक्त नाकाहरुमा ती ब्यवसायीहरुको एकल सिण्डिकेट लागू गर्दा ठेक्का हुन समस्या रहेको ठेकेदारहरुको भनाइ छ । कोईली खोलामा ठेक्का सम्झौता गरि काम गरेको ढोरपाटन कन्ट्रक्सनका मुख्य संचालक सुरेन्द्र कुमार बुढाले कोईली खोलामा काम गर्न निक्कै असहज रहेको प्रतिक्रिया दिन्छन् । सोहि कन्ट्रक्सनका संचालक भरत कुमार कार्की समेत उक्त नाकाबाट मोटो रकम कुम्ल्याएर हालसम्म फरार रहेका छन् ।

भलवाड क्षेत्रका प्रत्येक घरमा नेता हुने कारण पनि ठेकेदारलाई काम गर्न असहज भएको, काम गर्ने वातावरण नभएको संचालक रविन न्यौपाने स्वीर्काछन् । उत्खनन् देखि डम्पिङ सम्म तोकिएको मापदण्ड भन्दा अधिक रकम माग गर्ने कारण पनि समस्या रहेको बताइन्छ । भलवाडमा ट्याक्टर ब्यवसायीको सिण्डिकेटका कारण झन् काम गर्न असहजता पैदा भएको बुझिएको छ ।

बस्ती बचाउन घिरिखोलाको टेण्डर भएन : वडाध्यक्ष
यता वडाध्यक्ष कमल पौडेलले कोईली खोलाको ठेक्का नलाग्नुका मुख्य कारण नदीजन्य पदार्थको कमी हुनु नै रहेको बताए । बर्दहवा औद्योगिक ग्रामका अगाडि थोरैमात्र नदीजन्य पदार्थ रहेको दावी गर्दै कोईली खोलामा टेण्डर प्रक्रियाको आह्वान हुन नसकेको पौडेल बताउँछन् । धिरि खोलाको आइईई प्रतिवेदन गर्दा बस्ती बचाउनका लागि पनि उक्त खोलामा ठेक्का आह्वान हुन नसकेको हुनसक्ने उनले जनाए । यद्यपि धिरि खोलामा टेण्डर आह्वान भएर सम्झौता प्रक्रियामा रहेको उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्