कपिलवस्तु । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले चालु आर्थिक वर्षको ९ महिनामा १ करोड ६७ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । विभिन्न शिर्षकमा चालु आर्थिक वर्ष २०७९/८० को ९ महिनाको अवधिमा १ करोड ६७ लाख २ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
उनले यस अवधिमा १६ हजार तीनसय सवारी साधन कारबाहीमा परेको जानकारी दिए । यस वर्ष ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रम तथा घरदैलो कार्यक्रममा क्रियाशिलता देखाएका कारण राजस्वमा वृद्धि भएको तिमिल्सिनाले बताए ।
नौ महिनाको अवधिमा सबैभन्दा धेरै बस चालक कारबाहीमा परेको उनले जानकारी दिए । ट्राफिक प्रमुख तिमिल्सिनाले जिल्लामा सबै सवारी चालकले ट्राफिक नियम कानुनको पालना गर्नुपर्ने बताए ।
नियम अनुसार नचल्दा सवारी दुर्घटना बढ्ने भएकाले जनताकै ज्यान रक्षाको लागि चेकजाँच प्रभावकारी बनाइएको उनको जिकिर छ ।
यस्तै, चालु आव २०७९/८० को नौं महिनामा कपिलवस्तु जिल्लामा भएको ७६ वटा सवारी दुर्घटनामा परी ४४ जनाको मृत्यु भएको छ ।
जिल्लाको मुख्य सडक तथा विभिन्न सहायक सडकमा भएको सवारी दुर्घटनामा ३५ पुरुष, पाँच महिला, चार बालबालिका गरी ४४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ ।
बढ्दो सवारी साधनको चाप, साँघुरो सडक, चालकको लापरवाही तथा सडकमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना बढेको कार्यालय प्रमुख तिमिल्सिनाको भनाइ छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, कपिलवस्तुले जिल्लामा बढी सवारी दुर्घटना हुने स्थानहरुको बर्गीकरण समेत गरेको छ । प्रहरीले बुङचीचोक, कोईली बनगाई, चप्परगाउँ, बैरिया, पानीधारा, चम्पापुर जंगल, शिवपुर, रेन्जर मोड, बालापुर, खैरि र चोरखोलालाई प्रमुख दुर्घटना स्थलका रुपमा बर्गीकरण गरेको छ ।