‘लाइफलाईन’ मानिएको पूर्वपश्चिम राजमार्ग ‘मृत्युमार्ग’ बन्दै


२ बैशाख २०८०, शनिबार १४:०९ मा प्रकाशित

कपिलवस्तु, बैशाख २ ।
बि.सं. २०१९ बैशाख १ गतेका दिन तत्कालिन राजा महेन्द्रले यो सडकको शिलान्यास गरेका थिए । तत् पश्चात पूर्वपश्चिम राजमार्ग सयौंपटक भत्केका सडकखण्डहरु टालटुल पार्ने, मर्मत गर्ने लगायतका काम बाहेक खासै उपलब्धिमूलक र दीगोपना आएको भने पाइदैन् ।

सडकको दुरावस्थाका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको कपिलवस्तुका बिभिन्न सडक खण्डमा चालु आर्थिक बर्षको नौं महिनाभित्र ४० वटा सडक दुर्घटना भए । बस/ट्रकट्याङकर र डोजर लोडर १०/१० वटा साधन दुर्घटनामा परे । ५९ मोटरसाइकल दुर्घटना हुँदा जीपकार नौ वटा गरि एकसय ७ सवारीसाधन दुर्घटनामा परे । उक्त दुर्घटनामा चार बालबालिका, ५ महिला र ३५ पुरुष गरि ४४ जनाको मृत्यु भयो भने एकसय ९ जना घाइते भए ।

राजमार्गमा हाल हुने गरेका यस प्रकारका साना ठूला दुर्घटना सडकको दूरावस्था र त्यसमाथि चल्ने तीब्र गतिका साधनका कारण हुने गरेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा पर्ने ६०.८४ किमी क्षेत्रको अधिकांश सडक खण्ड जीर्ण छ । कोठी खोलादेखि धानखोलासम्मको कालोपत्रे सडक अहिले सवारी साधनका लागि एम्बुस सरह बनेको छ ।

बढ्दो सवारी चाप, सवारी ओभरलोड, कमसल सडक निर्माण तथा मर्मतले यतिखेर राजमार्गको अधिकांश भाग जीर्ण छ । नेपालकै ‘लाइफ लाइन’ मानिने यो सडक अहिले दुर्घटनाको मुख्य कारण बन्दै गएको छ । विशेषगरी कोठी खोला, बैरिया, बुङची, बोडगाउँ–चप्परगाउँ, बनगाई, गोरुसिंगे, डुमरा तथा शिवपुरदेखि धानखोलासम्मको अधिकांश सडक खण्ड जर्जर अवस्थामा छ ।

ठूला-ठूला खाडल, उप्किएको कालोपत्रे, भत्किएका सडक र सडक किनारका संरचनाले सडकमा हिँड्ने यात्रुले सास्ती भोग्न बाध्य छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जिल्लाका बढी सवारी दुर्घटना हुने स्थानहरु समेत तोेकेको छ । जस्मा, बुङची चोक, कोईली बनगाई, चप्परगाउ, बैरिया, पानीधारा, चम्पापुर जंगल, शिवपुर, रेन्जर मोड, बालापुर, खैरि र चोर खोलालाई बढि सवारी दुर्घटना हुने स्थानहरु छन् ।

सडक डिभिजन शिवपुर, कपिलवस्तुले जीर्ण सडक टालटुल गरे पनि हप्ता दिन बढी नटिक्ने पश्चिम नेपाल बस व्यवसायी संघका चालक गिरिराज पौडेल बताउँछन् । ‘सुगम भएर पनि दुर्गममा झैँ गाडी चलाउनुपरेको छ’, उनको गुनासो छ ।

सडक डिभिजन कार्यालय शिवपुरले भने सडक पुरानो भएकाले मर्मत गरेर मात्रै नहुने प्रतिक्रिया दिएको छ । डिभिजनका प्रमुख इन्जिनियर (सि.डि.ई.) बिसुनदास लामा सडकको चाप र ओभरलोडका कारण म्याद अगावै सडक जीर्ण बन्ने गरेको दाबी गर्छन् । ‘यो सडक ४५ वर्ष पुरानो भइसक्यो, यसलाई भत्काएर अर्को नबनाउँदा सम्म सडकको अवस्थामा सुधार आउँदैन’, लामा भन्छन् ।

अत्यधिक सवारी चापका कारण सडक राम्ररी मर्मत तथा निर्माण गर्न नसक्नु अर्को समस्या रहेको सडक इन्जिनियरहरू बताउँछन् । वैकल्पिक मार्ग नहुँदा मर्मत तथा नयाँ निर्माण गर्न निकै समस्या देखिएको छ ।

बाणगंगा नगरपालिका अन्तर्गतको पूर्व–पश्चिम राजमार्गको पिपरा–खारखानी खण्डमा भइरहेका सवारी दुर्घटनामा सडकको दुरावस्था नै रहेको स्थानीय लोकराज गिरीको आरोप छ । ‘मुख्यतः सडकको किनारा मर्मत नगरिनु र सडक साघुँरो हुँदा सडक दुर्घटनाका घटना बढेका छन्, बोडगाउँदेखि चप्परगाउँ सम्मको सडक सिधा घुम्तीबिनाको भएकाले पनि सवारी चालकले सवारी कुदाउने गरेका छन्’, गिरीको भनाइ छ ।

काँग्रेस क्षेत्रीय कार्यसमिति सदस्य समेत रहेका गिरीले छाडाचौपायाको ब्यबस्थापन नहुँदा पनि आफ्नै अगाडि धेरै दुर्घटना भएको प्रत्यक्ष देखेको बताए । दिनरात चल्ने सडकको मर्मतसम्भारका लागि सरोकारवाला निकायले चाँसो नदेखाउने गम्भिर अपराध सरह रहेको गिरीको बुझाई छ । सडक संकेत नहुनु, ट्राफिक सचेतनाको अभाव रहनु लगायतका कारण पनि यो क्षेत्रमा सडक दुर्घटना बढेको उनको धारणा छ ।

सडक जीर्ण हुनुको अर्को मुख्य कारण देखिएको ओभरलोड नियन्त्रणप्रति पनि आशंकाहरू देखिएका छन् । उक्त सडकमा ६ चक्के ट्रकले ८ र १२ चक्केले १६ टनका दरले ढुवानी गर्न पाउँछ । सडक सुरक्षा र यातायात कानुन व्यवस्थापनको जिम्मेवारी पाएको ट्राफिक प्रहरीले काम गरेको देखिए पनि चुहावट भने उत्तिकै छ । कुनै बेला ओभरलोड गाडी देख्नेवित्तिकै कारवाही गरिहाल्ने ट्राफिक प्रहरी अहिले भने सुस्त देखिएको छ । माथिल्लो निकाय र व्यक्तिको दबाब तथा यातायात व्यवसायी संघसँगको मिलेमतोमा कपिलवस्तु ट्राफिक प्रहरीले जरिवाना काटेर मात्रै ओभरलोडलाई वैधानिकता दिइरहेको स्थानीयको आरोप छ ।

जरिवाना तिरेर पनि फाइदा हुने भएपछि ओभरलोड नियन्त्रणमा आउन सकेको छैन । यसका कारण सडक भासिने, बिग्रने र मर्मत गरिएको सडक उप्किने गरेको सडक प्राविधिकहरूको दाबी छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले भने सडक जीर्ण भएका कारण दुर्घटना भए पनि सडक सुरक्षामा आफूहरू गम्भीर रहेको जनाएको छ ।

संघीय मन्त्रीदेखि प्रदेशका मुख्यमन्त्री लिला गिरीसम्म र स्थानीय तहका जनप्रतिनिधिहरुले दैनिक ओहोर–दोहोर गर्ने यो सडकखण्डको पिपरा–खारखानी खण्ड, गोरुसिंगे, बालापुर, चम्पापुर, शिवपुर क्षेत्रका दर्जनौँ ठाउँमा खाल्टैखाल्टा सहित सडक किनार ध्वस्त छन् । जसले गर्दा सवारी साधनका टायर र अन्य पार्टपूर्जा समेत धेरै नटिक्ने, सवारी दुर्घटना बढाउने गरेको यातायात व्यवसायीहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्