लुम्बिनी र गण्डकीले आज नयाँ सरकार पाउँदै

दुबै प्रदेशका मुख्यमन्त्रीमा काँग्रेसको दाबी, माओवादी असन्तुष्ट


पालिका पत्र

१४ बैशाख २०८०, बिहीबार ०८:३६ मा प्रकाशित

काठमाडौं : लुम्बिनी र गण्डकी प्रदेशमा आज नयाँ सरकार बन्दै छ। केन्द्रको सत्ता समीकरण फेरिएसँगै यसको असर प्रदेशमा परेको हो।

लुम्बिनीका विपक्षी दलले आज नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गर्न लागेका हुन्। प्रदेश प्रमुख शेरचनले मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको आह्वान गरेका हुन्।

नेकपा एमाले संसदीय दलका नेता मुख्यमन्त्री लीला गिरीले सोमबार विश्वासको मतका लागि प्रदेश सभामा गरेको प्रस्तावमा विश्वासको मत पाउन नसकेपछि एमाले नेतृत्वको सरकार ढलेको थियो।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम गत पुस २७ गते नेता गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। गिरीले आफूलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार सरकार बनाउन दाबी पेश गरेका छन्। उनले आफूलाई मुख्यमन्त्री नियुक्त नगरिए अदालत जाने चेतावनी दिएका छन्।

८७ सांसद रहेको लुम्बिनी प्रदेशमा एमालेका २९ ,नेपाली कांग्रेस २७, नेकपा माओवादी ११, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जसपा, लोसपा, जनमत ३–३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी १–१, स्वतन्त्र १ प्रदेशसभा सदस्य छन्। एमाले र राप्रपाबाहेक ८ दलका ५३ सांसद एक ठाँउमा उभिएका छन्।

यस्तै, गण्डकी प्रदेशमा पनि आज नयाँ सरकार बन्ने सम्भावना छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आहृवान गरेपछि गण्डकीमा नेपाली कांग्रेसले आज मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेको छ।

प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसले माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेको हो। वैशाख ९ गते एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि गण्डकी सरकार ढलेको थियो। ​

कांग्रेसले संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्रीमा पठाउने तयारी छ। आलोपालो गर्ने सहमति भए पनि पहिलो नेतृत्व नपाएको भन्दै माओवादी केन्द्र असन्तुष्ट देखिएको छ।

६० सदस्यीय प्रदेशसभामा कांग्रेसको २७, नेकपा एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई र एकीकृत समाजवादी प्रवेश गरेका एक स्वतन्त्र सांसद छन्।

प्रतिक्रिया दिनुहोस्