‘पहिलो पटक परिचयपत्र बन्यो’ भन्दै खुसी भए विद्यार्थी


पालिका पत्र

31 August, 2026 9:35 pm मा प्रकाशित

जितपुर, १५ भदौ । शितगंगा नगरपालिका–१४ मा रहेको श्री गंगा आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोगी दाताहरूले शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई टाई, बेल्ट, जुत्ता तथा परिचयपत्र कार्ड प्रदान गरिएको हो ।
कक्षा ५ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा हाल ८५ जना विद्यार्थी तथा ८ जना शिक्षक र कर्मचारी रहेका छन् । सहयोगस्वरूप सामग्री पाएपछि विद्यार्थीहरूमा उत्साह देखिएको विद्यालयले जनाएको छ ।


कार्यक्रमका प्रमुख अतिथि शितगंगा नगरपालिका–१४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता दामोदर न्यौपानेले विद्यालयलाई सहयोग गर्ने दाताहरूलाई धन्यवाद दिँदै विद्यालयको भौतिक विकासका लागि वडा कार्यालयले विभिन्न योजना बनाएर काम गरिरहेको बताए ।
उनले विद्यालयलाई आवश्यक शैक्षिक सामग्री वडा कार्यालयबाट समेत उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै श्री गंगा आधारभूत विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्न आफ्नो पहल निरन्तर रहने बताए ।


यस्तै समाजसेवी वेदबहादुर दर्लामी मगरले विद्यार्थीका लागि टाई, बेल्ट र जुत्ता सहयोग गरेका हुन् । उनले सरकारी तथा सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढाउन विद्यालयको शैक्षिक गुणस्तर र भौतिक अवस्था सुधार गर्नुपर्नेमा जोड दिए । बोर्डिङ विद्यालयतर्फ बढिरहेको आकर्षणलाई कम गर्न सरकारी विद्यालयलाई समेत गुणस्तरीय र नमुना बनाउन सकिने बताउँदै दर्लामी मगरले आफूले सुरुवातका रूपमा सानो सहयोग गरेको र आगामी दिनमा पनि विद्यालयलाई आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।


त्यस्तै विद्यालयका विद्यार्थीका लागि परिचयपत्र निर्माणमा सहयोग गरेकी वडा सदस्य हिमा परियारले विद्यालयलाई नमुना बनाउने अभियानमा आफूले पनि ‘एउटा इँटा थप्ने’ उद्देश्यले सहयोग गरेको बताईन । विद्यालय आगामी दिनमा नमुना बनेको हेर्ने आफ्नो चाहना रहेको परियारको भनाइ छ ।


कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो। दाताहरूबाट प्राप्त सहयोगले विद्यार्थीलाई आवश्यक सामग्री उपलब्ध हुनुका साथै विद्यालयप्रति समुदायको अपनत्व र सहयोगको भावना थप बलियो बनेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्