लुम्बिनी र गण्डकीका नवनियुक्त मुख्यमन्त्रीको शपथ आज


पालिका पत्र

१५ बैशाख २०८०, शुक्रबार १०:४३ मा प्रकाशित

बैशाख १५ । लुम्बिनी र गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दैछन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि आजै शपथ ग्रहण गर्दैछन्। बिहान साढे ११ बजे मुख्यमन्त्री अमिक शेरचनसँग शपथ ग्रहणको कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालयका सचिव प्रल्हाद पोखरेलले बताए।

लुम्बिनीमा मुख्यमन्त्रीसँगै थप तीन मन्त्रीले पनि शपथ लिने कार्यक्रम रहेको नवनियुक्त मुख्यमन्त्री चौधरीले थाहाखबरलाई बताए। मुख्यमन्त्री चौधरीका अनुसार माओवादीबाट एक मन्त्री र साना दलबाट थप दुई जना मन्त्रीले सपथ लिनेछन्। आज कांग्रेसले मन्त्री नपठाउने उनले बताए।

एमाले नेता लिला गिरी नेतृत्वको यसअघिको सरकारले सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो ।

नेपाली कांग्रेसका २७, नेकपा माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा, लोसपा, जनमत पार्टीका ३र३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टीका १र१ गरी ५३ प्रदेशसभा सदस्यको समर्थनमा चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

यता, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मध्याह्न सवा १२ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए।

आज मुख्यमन्त्रीसँगै केही मन्त्रीको शपथ हुने माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए। अहिले कति मन्त्रीले शपथ लिने भन्ने टुंगो लागि नसकेकोले मन्त्रालयको भागबण्डा टुंग्याएर मन्त्रीको शपथ हुने उनको भनाइ छ।

गण्डकीमा माओवादी र कांग्रेसमा कसले पहिले नेतृत्व गर्ने विवादकाबीच कांग्रेसका पाण्डे मुख्यमन्त्री बनेका हुन्। पाण्डेले गण्डकीमा आलोपालो मुख्यमन्त्री हुने सहमति भएको बताए।

वैशाख ९ गते एमालेका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन नसकेपछि गण्डकीमा नयाँ सरकारको बाटो खुलेको थियो।

पाण्डे कांग्रेसका २७ र माओवादी केन्द्रका ७ जना र एकीकृत समाजवादी प्रवेश गरेका एक स्वतन्त्रसहित ३५ जना बहुमत प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्