मुख्यमन्त्री डिल्लीबहादुर चौधरी को हुन् ?


पालिका पत्र

१५ बैशाख २०८०, शुक्रबार ११:०७ मा प्रकाशित

बैशाख १५ । कमैया मुक्ति आन्दोलनको पृष्ठभूमिबाट उदाएका नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् ।

चौधरी यसअघि प्रदेशको पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री थिए । चौधरी दाङबाट लगातार ३ पटक निर्वाचित सांसद हुन् । उनले संघीयता कार्यान्वनपछि दाङको प्रदेशसभा ३९१० बाट २ पटक लगातार जीत निकालेका थिए । नेकपा एमालेका घनश्याम पाण्डेलाई ५ हजार ४०० मतान्तरले पराजित गरी आमनिर्वाचन २०७९ मा चौधरी निर्वाचित भएका थिए ।

पार्टीभित्र प्रभाव राख्ने लगभग सबैजसो नेताले प्रतिनिधिसभा सदस्यको दाबी गरिरहँदा चौधरीको रोजाइँ र दाबी प्रदेश सभामा रह्यो । यदि चौधरीले प्रतिनिधिसभा सदस्यको उम्मेदवार दाबी गरेका थिए भने टिकट पाउन असम्भव थिएन । प्रदेश सरकारको नेतृत्व गर्न प्रदेश सभामा उम्मेदवार बनेका थिए ।

उनी २०७० सालमा जिल्लाबाटै दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएपछि १ वर्ष राज्यमन्त्री समेत भएका थिए । चौधरी पार्टी सभापति शेरबहादुर देउवा निकट नेता हुन् ।

यसअघि २०७४ सालमा उनले लुम्बिनी प्रदेशको सार्वजनिक लेखा समितिका सभापतिको भूमिका सशक्त रूपमा निभाएका थिए । त्यो बेला उनले प्रदेश सरकार र प्रदेश सभाले खरिद गरेका दर्जन बढी गाडीमा लाखौं रूपैयाँ अनियमितता भएको ठहर गर्दै प्रदेश सरकारले गुमाएको ६० लाख रूपैयाँ फिर्ता गराएका थिए ।

दाङलाई राजधानी घोषणा गराउन पार्टी निर्णयको विपरीत दाङको पक्षमा मतदान गरी महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

विक्रम संवत् २०२६ असार १५ गते दाङको तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँमा उनी बुवा टुकलाल चौधरी र आमा सोमती चौधरीको कोखबाट जन्मिएका थिए । चौधरी जनताको कुरा सुन्ने, विकास गर्ने र जनताको अपेक्षा अनुसारको काम गर्ने नेताको रूपमा आफूलाई चिनाउँदै आएका छन् ।

पश्चिम नेपालका थारूहरूमा शिक्षा फैलाउन अभियान सञ्चालनदेखि मुक्त कमैया आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको इतिहास चौधरीको छ ।

पार्टीमा निरन्तरको संघर्ष र योगदानमा चौधरीलाई प्रदेश सरकारको नेतृत्व गर्ने अवसर जुरेको कांग्रेस नेताहरू बताउँछन् । चौधरीले थारू समुदायसहित अन्य अल्पसंख्यक गरीबीको रेखामुनि रहेका नागरिकहरूलाई समेत शिक्षाको उज्यालो दिन ब्याकवार्ड सोसाइटी (बेस) मार्फत टुकी लिएर उनी २०४२ सालमा गाउँगाउँ छिरेका थिए । उनकै कार्यकालमा राजधानीको पूर्वाधार निर्माणको काम समेत शुरू भएको थियो ।

विभिन्न अध्ययन र अवलोकनका लागि ४३ देश पुगेका चौधरीले समाजशास्त्रमा स्नातक गरेका छन् । मुलुकमा संघीयता कार्यान्वनसँगै लुम्बिनी प्रदेशले पहिलो मुख्यमन्त्री दाङका एमाले नेता शंकर पोखरेललाई पाएको थियो ।

प्रदेशको चौथो मुख्यमन्त्री पनि दाङकै चौधरीले पाए । उनी अन्य मुख्यमन्त्रीसरह सत्ता टिकाउन जम्बो र संघीयताप्रति वितिष्णा जगाउने पदचाप पछ्याउँदै हिँड्छन् कि संघीयतालाई राम्रो र अब्लब बनाउने काम गर्छन् भन्ने नै उनको परीक्षा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्