विजयनगरमा आन्तरिक श्रोततर्फ करिब १५ प्रतिशत राजश्व संकलन


पालिका पत्र

२५ बैशाख २०८०, सोमबार १६:५९ मा प्रकाशित

बैशाख २५ । कपिलवस्तुको विजयनगर गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा बैशाख सम्ममा आन्तरिक स्रोतबाट ६६ लाख १६ हजार ९ सय रुपैया राजश्व संकलन गरेको छ । पालिकाले चालु आर्थिक वर्षमा आन्तरिक श्रोत तर्फ ४ करोड ५३ लाख ६७ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

आर्थिक बर्ष सकिन अब २ महिना मात्रै बाँकि रहँदा गाउँपालिकाले लक्ष्यको करिब १५ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ । यस्तै, अनुमानित आयको ४१ प्रतिशत रकम प्राप्त गर्न बाँकी रहेको गाउँपालिकाका लेखा अधिकृत हिमकान्त आचार्यले बताए । गाउँपालिकाले आव ०७९÷०८ मा बार्षिक अनुमानित आय तर्फ ६६ करोड ४५ लाख ६५ हजार तर्जुमा गरेको छ । जसमा हाल सम्म ३९ करोड ३७ लाख ५ हजार रुपैया आम्दानी गरेको आचार्यले बताए ।

संघले पठाउने बित्तीय समानिकरण अनुदान ५० प्रतिशत रकम प्राप्त गर्न बाँकी रहेको उनको भनाइ छ । आर्थिक अवस्था कमजोर बन्दै गर्दा प्रदेश समानिकरण अनुदान ५० प्रतिशत रकम घट्ने भनेकोले पालिकाले बनाएका योजना र कार्यक्रम समेत प्रभावित हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताए । गाउँपालिकाले अनुमानित आय तर्फ नेपाल सरकार समानिकरण अनुदानमा १३ करोड १५ लाख मध्ये ९ करोड ८६ लाख २५ हजार आम्दानी गरेको छ ।

यस्तै लुम्बिनी प्रदेश समानिकरण अनुदान ७२ लाख ९ हजार मध्ये ५० प्रतिशत घट्दा ३६ लाख ४ हजार ५ सय आम्दानी गरेको छ । यस्तै राजश्व बाडफाँडमा ३ करोड ४४ लाख अनुमान गरिएकोमा हाल सम्म ५३ लाख ५९ हजार ८ सय २७ रुपैया मात्रै आम्दानी भएको छ । राजश्व बाडफाँड संघिय सरकार तर्फ ११ करोड ६३ लाख ७१ हजार अनुमान गरिएकोमा हाल सम्म जम्मा ६ करोड ७ लाख ८४ हजार ५ सय रुपैया आम्दानी भएको गाउँपालिकाको लेखा शाखाले जनाएको छ ।

गाउँपालिकामा अनुमानित आयमा गिरावट आउदाँ योजना तथा कार्यक्रम समेत प्रभावित भएको गाउँपालिकाका योजना शाखा प्रमुख बोधराज भुसालले बताए । गाउँपालिकामा हाल सम्म वडा र पालिका स्तरिय गरेर १ सय ३१ वटा योजनाहरु सम्झौता भएको र ६३ वटा योजनाहरु कार्य सम्पन्न भई भुक्तानी प्रक्रियामा गई भुक्तानी समेत भइसकेको भुसालले बताए । सम्झौता भईसकेका अन्य योजनाहरु तिब्र रुपमा कार्यान्वयन भईरहेको समेत उनले बताए ।

गाउँपालिले अनुमानित गरेभन्दा कम आम्दानी भएपछि गाउँपालिकाले प्राथमिकताका आधारमा योजनाहरु कार्यान्वयन गरेको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए । यस बर्ष योजना रहेका तर रकम अभावका कारण कार्यान्वयन हुन नसकेका योजनाहरुलाई आगामी बर्षको कार्यक्रममा समावेश गरेर लैजाने अध्यक्ष थापाले बताए ।

गाउँपालिकामा बजेट अभाव भएपछि नयाँ योजनाहरुको सम्झौता नगरिने तर आगामी आर्थिक बर्षको योजना तथा कार्यक्रममा समावेश भने गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्