अमराई बजार दुई सातादेखि ‘काकाकुल’

खानेपानीको ब्यवस्थापनका लागि ज्ञापनपत्र पेश (हेर्नुहोस् भिडियो)


पालिका पत्र

१० जेष्ठ २०८०, बुधबार १९:२३ मा प्रकाशित

कपिलवस्तु, जेठ १० । अर्घाखाँचीको शितगंगा नगरपालिकाको मुख्य बजार अमराई बिगत २ सातादेखि काकाकुल बन्न पुगेको छ । वडा नम्बर ४ अमराई बजारमा खानेपानीको अभाव हुँदा त्यहाँका करिब दुईसय घरधुरी दुईसाता देखि काकाकुल बन्न पुगेका हुन् ।

स्थानीय अमराइकी खानेपानी उपभोक्ता दीपा अधिकारी खानेपानी नहुँदा भाँडा धुन र करेसाबारीमा पानी हाल्न नपाएको धेरै भएको बताउँछिन् । खानेपानीको उपभोग वापत् प्रतिघरधुरी सय रुपैया तिर्ने गरेको भएता पनि उक्त रकमको उपभोक्ता समितीबाट कुनै लाभ देखिएको छैन्, उनी भन्छिन् ।

पानी नआउँदाको दुःख दीपाको मात्र हैन । अमराईकै गोमा पौडेल भन्छिन्, “न खाना पकाउन सजिलो छ न त सरसफाइका लागि नै पानी छ । खानेपानीको अभावमा हामीले ज्यादै दुःख पाइरहेका छौं ।” दुईतीन घण्टाको बाटो गएर पानी बोक्नुपर्ने बाध्यता रहेको उनको दुखेसो छ ।

चुनावका बेला पानीको समस्या समाधान गर्दिन्छु भन्ने तर चुनाव जितिसकेपछि कुनै चाँसो नदिएको आमा समुहकी अध्यक्ष सावित्रा गैरे बताउँछिन् । यस्तै, खानेपानी सम्बन्धि बिषयमा नगरपालिकामा गुनासो राख्न आउँदा सिस्टमले आउनुपर्ने भन्दै नगरप्रमुख तथा उपप्रमुखले बेवास्ता गरेको अर्का उपभोक्ता हुम बहादुर बिश्वकर्माले बताए । “मेयर, उपमेयर आफ्ना जनप्रतिनिधि भएपनि उहाँहरुले हाम्रो माग र समस्या सुनिदिनु भएन्,” उनले दुखेसो पोखे ।

यस्तै नगरपालिकाले बिपतको बेला अमराईवासी प्रति कुनै चाँसो नदिएको र जनताका गुनासो समेत सम्बोधन गर्न जनप्रतिनिधि गम्भिर नदेखिएको उपभोक्ता सुसन पौडेलको भनाइ छ । नगरकै बढि जनघनत्व भएको अमराईमा खानेपानीको श्रोतको पहिचान र समस्या निराकरणका लागि स्थानीय सरकारले उचित कदम चाल्नुपर्ने आवश्यकता रहेको पौडेल बताउँछन् ।

यता, अमराई बजारमा खानेपानीको उपलब्ध गराउँदै आएको जोगीनीकोट–अमराई खानेपानी योजना अन्र्तगत गत बैशाख २५ गते बिद्युत सर्ट भई बिद्युत मोटर जल्दा खानेपानी आपुर्ति बन्द भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार केशव सिंहले बताए । बिद्युत मोटरमा समस्या आएकाले मोटरको सहज उपलब्धता हुनुपर्ने उनको माग छ । समितीसँग रकम अभाव रहेकोले प्राविधिक काम संचालन गर्न थप समस्या भएको सिंह बताउँछन् ।

खानेपानी उपभोक्ता समितीका अध्यक्ष सिंहले नगरपालिकाले अमराई बजार क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाए । उपभोक्ताको गुनासो सुन्दै नसुनि नगरपालिकाबाट मेयर र उपमेयर बाहिरिए पछि नगरपालिका पुगेका स्थानीय आक्रोशित बनेका छन् ।

खानेपानी योजनाबाट करिब ८०० जनसंख्या खानेपानी सुविधाबाट बञ्चित रहेकोले अबिलम्ब नयाँ बिद्युत मोटर सेट खरिद गरि खानेपानी सुचारु गर्नुपर्न माग सहित बुधबार स्थानीयवासी नगरपालिका पुगेका छन् ।

खानेपानी योजनाको १० हर्जपावरको प्यानल बोर्ड समेत १ सेट खरिद गर्न रकम उपलब्ध गराईदिने व्यवस्थाको लागि आफुले पहल गरेको वडाध्यक्ष दामोदर अधिकारी बताउँछन् । लिफ्टिङ्ग खानेपानी योजनाको प्रभावकारि तवरले संचालन, मर्मतसम्भार र ब्यवस्थापनका लागि समस्या जहिंतहिं समस्या रहेको वडाध्यक्ष अधिकारीले बताए ।

उपभोक्ता समितीले समेत समन्वयात्मक तवरले काम गर्नुपर्ने र धारा जडानमा समेत एकरुपता ल्याउनुपर्ने उनले धारणा राखे । वडाबाट उपभोक्ता समितीलाई खानेपानीको संचालनका लागि आवश्यक बजेट समेत ब्यवस्था गरिएको तर समिती मार्फत नै कमजोरी देखिएको वडाध्यक्ष अधिकारी बताउँछन् ।

वडा नम्बर ४ मा मात्रै फरक–फरक चारवटा मुहानबाट पानी आपूर्ति गरिन्छ । अमराई बजारको खानेपानी समस्या अहिलेको समस्या मात्र हैन । हरेक वर्ष यही किसिमले खानेपानीको अभाव हुने गरेको छ । यसको दीर्घकालीन समाधान खोज्नका लागि स्थानीय सरकार र खानेपानी उपभोक्ता समिति दुवै लागेका छन् ।

यसैबीच उपभोक्ताहरुले आजै नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा पुगि समस्या समाधानका लागि ज्ञापनपत्र बुझाएका छन् ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्