कृष्णनगरमा पूँजिगत खर्च ३० प्रतिशत, समग्र बजेटको ४२ प्रतिशत खर्च !


पालिका पत्र

१० जेष्ठ २०८०, बुधबार १९:५१ मा प्रकाशित

कपिलवस्तु, जेठ १० ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले आर्थिक बर्ष ०७९/८०को कुल बजेटको ४२ प्रतिशत रकम खर्च गरिसकेको छ । नगरपालिकाको चालु खर्च तर्फ कुल ४८ करोड २८ लाख १४ हजार ५ सय मा ५२ प्रतिशत रकम खर्च भइसकेको छ भने पुजिगत तर्फ ३९ करोड ३९ लाख १० हजार ५ सय रहेकोमा ३० प्रतिशत खर्च भएको छ ।

कृष्णनगर नगरपालिकामा आर्थिक बर्ष ०७९/८० मा संशोधित र थप गरी कुल ८७ करोड ६७ लाख रकम विनियोजन गरिएको छ । नगरपालिकाको विनियोजित बजेट बाहेक प्रकोप व्यवस्थापन कोषमा ६२ लाख ४३ हजार, बहादुरगंजमा रहेको शिवराज अस्पतालको लागी २ करोड १० लाख २० हजार र कर्मचारी कल्याणकारी कोषमा ४९ लाख रकम रहेको लेखा अधिकृत मनिष पाण्डेले जानकारी दिए ।

नगरपालिकामा संघिय समानीकरणको अनुमानित आम्दानी १८ करोड २२ लाख मध्ये हाल सम्म १५ करोड ९४ लाख २५ हजार आम्दानी भएको छ । संघिय राजश्व बाँडफाडमा १३ करोड २१ लाख ४१ हजार अनुमानित आम्दानी मध्ये ७ करोड ३८ लाख ९० हजार रकम आम्दानी भएको पाण्डेले बताए।

प्रदेश समानिकरण तर्फ अनुमानित आय १ करोड ३ लाख १० हजार गरिएकोमा ७७ लाख ३२ हजार ५ सय आम्दानी भएको छ । प्रदेशको राजश्व बाडफाड तर्फ १ करोड ४२ लाख ९४ हजार अनुमाानित आय रहेकोमा १ करोड २ लाख २८ हजार खर्च आम्दानी भइसकेको छ । यस्तै २ करोड २५ लाख आन्तरिक राजश्व उठाउने लक्ष्य लिएको पालिकाले १ करोड ५० लाख राजश्व जम्मा भई सकेको लेखा अधिकृत पाण्डेले जनाए ।

राजश्व बाँडफाड, प्रदेश समानीकरण र संघिय समानीकरणको बजेटमा रकम घटेर आउदाँ पालिकाले बनाएका योजनाहरु प्रभावित हुने प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद शर्माले बताए। नगरपालिकाले अनुमानित आयको आधारमा योजनाहरु निर्माण गरेकाले आम्दानी घट्दा योजनाहरुमा प्रभाव पर्ने उनले बताए।

यस बर्ष बजेट अभावले सम्पन्न गर्न नसकिने योजनाहरुलाई अर्को आर्थिक बर्षमा प्राथमिकताको आधारमा समावेश गरि संचालन गरिने नगर प्रमुख रजत प्रताप शाहले बताए ।

यस आर्थिक बर्षमा ९ सय ४७ वटा योजनाहरु रहेकोमा हाल सम्म ६० वटा योजनाको काम सम्पन्न भई भुक्तानी समेत भइसकेको छ । १ सय ९९ वटा योजनाहरु सम्झौता भई संचालनमा रहेको योजना शाखा प्रमुख साकिर अहमदले बताए।

प्रतिक्रिया दिनुहोस्