नेपालमा ढिलो गरि भित्रियो मनसुन, औसतभन्दा कम वर्षा हुने

यसवर्ष 'अलनिनो'को प्रभाव हुने


पालिका पत्र

३१ जेष्ठ २०८०, बुधबार १४:४७ मा प्रकाशित

जेठ ३१ । यस वर्षको मनसुन नेपालमा ढिलो गरि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको हो ।

बुधबार नेपाल भित्रिएको मनसुन कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा फैलिएको छ । नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन फैलिंदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । यद्यपि यो सम्भावना स्थानपिच्छे फरक-फरक हुने छ । यसअघि गत दुई वर्ष लगातार औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण विभागले गरेको थियो । तर गत वर्ष औसतमै वर्षा भएको थियो । दशैंको बेलामा समेत वर्षा हुँदा जनजीवन प्रभावित भएको थियो ।

अघिल्ला तीन वर्ष लानिनाको प्रभाव थियो । तर यस वर्ष अलनिनोको प्रभाव हुने सम्भावना रहेकाले वर्षा कम हुने प्रक्षेपण गरिएको मौसमविदको भनाइ छ ।

के हो अलनिनो ?
समुद्री पानी सामान्य भन्दा बढी तातेको अवस्थालाई ‘अलनिनो’ भनिन्छ । यसो हुँदा दक्षिण एसियामा कम वर्षा हुन्छ । अलनिनो एक प्राकृतिक मौसमी प्रक्रिया हो । प्रशान्त महाशाखाको सतह माथिको तापक्रममा ०.५ डिग्रीभन्दा बढी तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ । यो असरले वायुको नियमित प्रणालीलाई खलबल्याउँदा पैदा हुने अवस्था नै अलनिनो इफेक्ट हो ।

प्रशान्त महासागरमा एलिनोको विकास हुँदा नेपालमा सरदरभन्दा कम वर्षा हुन्छ, लानिनाको विकास भए बढी वर्षा हुन्छ। ‘अलनिनो’को उल्टो ‘लानिनो’ हो । अर्थात्, समुद्री पानी औसतभन्दा चिसो भयो भने त्यसलाई ‘लानिनो’ भनिन्छ । यसो हुँदा औसतभन्दा बढी वर्षा हुन्छ र बाढीपहिरोको जोखिम बढ्छ ।

कहाँ कस्तो वर्षा ?

विभागकी वरिष्ठ मौसमविद इन्दिरा कँडेलले पूर्व र मध्य नेपालका केही क्षेत्रबाहेक अन्य स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको जानकारी दिइन् । उनका अनुसार आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ ।

विभागका अनुसार कोशी प्रदेशका मध्य तथा उत्तर–पूर्वी भूभाग, बागमती प्रदेशका दक्षिण–पूर्वी भूभाग र मधेश प्रदेशका अधिकांश भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

‘कर्णाली प्रदेशका अधिकांश भूभाग, गण्डकी प्रदेशका धेरैजसो भू–भाग, सुदूरपश्चिम प्रदेशका मध्य तथा उत्तरका थोरै भूभाग, लुम्बिनी प्रदेशका पश्चिमी तथा मध्य भू–भाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ,’ विभागले भनेको छ ।

यस्तै कोशी प्रदेशका पश्चिमी भूभाग, बागमती प्रदेशका धेरैजसो भूभाग, लुम्बिनी प्रदेशका केही भूभाग र सुदूपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली, बैतडी तथा बझाङ लगायतका भू–भागमा सरदर भन्दा कम हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको प्रक्षेपण छ ।

कोशी प्रदेशका मध्य तथा उत्तर–पूर्वका थोरै भूभाग, बागमती प्रदेशका दक्षिण–पूर्वी भूभाग र मधेश प्रदेशका अधिकांश भूभागमा सरदर वर्षा हुने ३५ देखि ४५ प्रतिशत सम्भावना छ ।

कर्णाली र गण्डकीका धेरैजसो, सुदूरपश्चिमका मध्य तथा उत्तरका थोरै क्षेत्र, लुम्बिनीका पश्चिम तथा मध्य क्षेत्र र कोशीका दक्षिण क्षेत्र भने झनै कम पानी पर्ने प्रक्षेपण छ । वर्षा कम हुने क्षेत्रमा अधिकतम तापक्रम औसतभन्दा बढी भएर गर्मी हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्