‘निस्दी’ पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा


पालिका पत्र

३२ जेष्ठ २०८०, बिहीबार १९:२३ मा प्रकाशित

जेठ ३२ । पाल्पाको निस्दी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । खोपको मापदण्ड पूरा गरेपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक अर्जुन रानाले गाउँपालिकाका सात वटै वडामा रहेका पाँचसय ५६ जना बालबालिकाले १३ प्रकारको खोप लिईसकेको बताए । जन्मेदेखि १५ महिनासम्मका सम्पुर्ण खोप लगाएका ३ सय २६ जना र १६ महिनादेखि २३ महिनासम्मका २ सय ३० जना गरि कुल पाँच सय ५६ जना बालबालिकाले मापदण्ड अनुसारको सबै खोप लिइसकेकोले पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको उनले बताए ।

सो अवसरमा कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले जिल्लाका सबै पालिकालाई समयमै पूर्णखोप घोषणा गर्नुपर्ने बताए । खनालले अब पनि हरेक बर्ष बालबालिकालाई खोजेर खोप लगाउनुपर्ने र खोपको महत्व बुझाउनुपर्ने समेत बताए । स्वास्थ्य र शिक्षामा गरिएको लगानी तत्काल नदेखिने भए पनि बालबालिकाको भविष्यमा यसको महत्वपूर्ण प्रभाव रहने उनले बताए ।

उनले भौतिक संरचनासंगै स्वास्थ्य र शिक्षामा लगानी वृद्धि गर्न आग्रह गरे । उनले पछिल्लो समय सर्ने रोग भन्दा पनि नसर्ने रोगको संक्रमण बढ्दै गएको भन्दै यस तर्फ सचेत हुने समय आएको बताए । खोपले बाल मृत्युदर र मातृमृत्युदर घटे पनि मनोसामाजिक परामर्शको आवश्यकता खड्किएको प्रमुख खनालले उल्लेख गरे ।

पालिका खोप समन्वय समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले नेपाल सरकारको नियमित कार्यक्रम भएकोले निस्दी गाउँपालिका पनि पूर्णखोप सुनिश्चितता हुन सफल भएको बताए । दीर्घकालिन विकास भनेकै स्वास्थ्य र शिक्षामा लगानी भएको भन्दै गाउँपालिकाले विगतको वर्षको तुलनामा थप कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।

अध्यक्ष सारुले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नका लागि सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरे । उनले उपचारको उत्तम उपाय विश्वास, बोली, व्यवहार भएको भन्दै गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई यसमा विषेश ध्यान दिन आग्रह गरे ।
निस्दी गाउँपालिकाका उपाध्यक्ष तीरन कुमारी श्रेष्ठले सामाजिक विकास विना पूर्वाधार विकासले सार्थकता नपाउने भन्दै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताइन् । शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर निस्दी अघि बढेकोले अस्पतालदेखि स्वास्थ्य केन्द्रहरुको समेत स्तरोन्नती भइरहेको श्रेष्ठले दाबी गरिन् ।

सो अवसरमा निस्दी गाउँपालिकामा कार्यरत स्वास्थ्य स्वयंसेविकाको सम्मान तथा बिदाई समेत गरिएको छ । लामो समयदेखि समाजमा स्वास्थ्य सेवा पु¥याउदै आएका निस्दीका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मान सहित बिदाइ भएका छन् ।
उमेर हदका कारण र शारीरिक अस्वस्थताले सेवा गर्न असर्मथ रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई निस्दी गाउँगालिका सम्मान गरेको हो । पालिकाका विभिन्न वडामा रहेर समुदायमा राष्ट्रिय अभियानका कार्यक्रम नियमित खोप, विभिन्न थरिका औषधि खाँदै आएका बिरामीलाई घरायसी सरसफाइ देखि स्वास्थ्य संस्था जान प्रेरित गर्दै परामर्श सेवा दिदै आएका ३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानका साथ बिदाई गरिएको हो ।

गाउँपालिका अन्तर्गत सेवा दिदै आएका सरुमी सोती, धनीसरा सारु र दिलकुमारी ढेंगालाई सम्मान गरिएको हो । उनीहरुलाई निस्दी गाउँपालिका पाल्पाले रकम र सम्मान पत्रले सम्मान गरेको हो । सम्मान गर्दै गाउँपालिका अध्यक्ष सारुले समुदायको डाक्टरको रुपमा सदैव तैनाथ हुने महिला स्वास्थ्य स्वयंसेविकाको उच्च प्रशंसा गर्दै दीर्घ जिवनको शुभकामना ब्यक्त गरे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रव दयालले नेपाल सरकारको राष्ट्रिय अभियानलाई सफल बनाउन सबैको दायित्व र भूमिका रहेको बताए । पूर्ण खोप सुनिश्चितताका लागि ९५ प्रतिशत सूचकांक पुरा गर्नु पर्ने हुन्छ । बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गर्न प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिन्छ ।

तस्बिरहरु : निस्दी गाउँपालिकाको फेसबुक पेजबाट साभार ।

प्रतिक्रिया दिनुहोस्