मोतीपुर-लक्ष्मणघाट-तौलिहवा प्रसारण लाइन निर्माणमा अवरोधै अवरोध !


पालिका पत्र

१ असार २०८०, शुक्रबार १८:०३ मा प्रकाशित

कपिलवस्तु, असार १ । कपिलवस्तुको बिद्युत प्रसारण र बितरणमा दीर्घकालिन समाधानको रुपमा महत्वपूर्ण बिकल्प मानिएको मोतीपुर–लक्ष्मणघाट–तौलिहवा प्रसारण लाईन निर्माणमा पटक–पटक अवरोध सिर्जना भएको छ । विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीको सबलीकरण नै विद्युत् खपत बढाउने महत्वपूर्ण औजार भएकाले पनि यो प्रसारण लाईन अवरोध हुनु जिल्लावासीको लागि दुखद पक्ष मानिएको छ ।

स्थानीय उपभोक्तादेखि औद्योगिक क्षेत्रमा माग अनुसारको विद्युत् आपूर्ति हुन नसकेको गुनासाहरू बारम्बार आइरहेको अवस्था विद्यमान नै छ । गर्मीयाममा अत्यधिक मात्रामा बिद्युत आवश्यक पर्ने हुँदा पनि दिनहुँ जसो कपिलवस्तुवासी पटक–पटकको बिद्युत प्रसारणमा रोकावट, पूर्वसुचना बिना नै बिद्युत काटिनु, लो–भोल्टेज जस्ता तमाम समस्याले आजित भइरहेका छन् । प्राधिकरण लक्षित गुनासाले सामाजिक सञ्जाल भरिएका देख्न सकिन्छ ।

यद्यपि, जिल्लामा बिद्युत आपूर्तिका लागि सहज होस् र लो–भोल्टेज समस्या हल होस् भन्ने दीर्घकालिन उपाय मध्येको यो मोतीपुर–लक्ष्मणघाट–तौलिहवा प्रसारण लाईन बिस्तारमै अवरोधै अवरोध देखिएपछि बिगत एकबर्षदेखि निर्माण कार्य ठप्प छ । उक्त प्रसारण लाईन निर्माणमा राज्यले करिब १४ करोड लगानी गरेको छ । काम समेत ७० प्रतिशत जति सम्पन्न भईसक्दा पटक–पटकको अवरोधका कारण रोकिएको छ ।

बाणगंगा नगरपालिका मोतीपुरदेखि सदरमुकाम तौलिहवाको चौबिसहजार सम्म प्रसारण लाईन निर्माणका लागि ५ सय पोलको स्टिमेट गरि कार्य प्रारम्भ गरिएको थियो । जस्मा दुईवटा सर्किट निर्माण गरिने र जिल्लावासी समक्ष बिद्युत प्रवाह सहज रुपमा सुचारु गराउने गरि जीतपुरलाई एक सर्किट र अर्को तौलिहवालाई दिने गरि योजना समेत निर्माण गरिएको नेपाल बिद्युत प्राधिकरण तौलिहवाले जनाएको छ ।

स्थानीय उपभोक्ताको चर्को आलोचनाका कारण प्रसारण रुट आंशिक परिवर्तन गरि जंगलको बाटो भएर लैजाने तयारी समेत थालिएको थियो । प्रसारण लाईन अन्र्तगत हालसम्म ३०० पोल गाड्ने काम सकिएको कार्यालयले जनाएको छ । राज्यको करिब ७० प्रतिशत लगानी खर्च भइसकेको यो योजना रोकिनुको कारण घना मानव बस्ती हो या राजनैतिक अभीष्ट पुरा गर्ने सुनियोजित षडयन्त्र ?

राज्यले बिद्युत उपभोक्ताको माग सम्बोधनका लागि भन्दै यो योजनाका लागि करिब ८ करोड खर्चिसकेको परिप्रेक्ष्यमा एकाएक राजनैतिक अभीष्ट पुरा गर्ने बाहानामा सार्वजनिक कार्य रोक्नु गलत रहेको सरोकारवाला बताउँछन् । बाणगंगा नगरपालिकाको वडा नम्बर ६ देखि कपिलवस्तु नगरपालिका वडा नम्बर ९ सम्म बिस्तार काम रोकिएको छ । पुर्व संविधानसभा सदस्य बिश्राम प्रसाद चौधरी र बाणगंगा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष करुण टण्डनले उक्त योजनामा अवरोध सिर्जना गरेको श्रोतको भनाई छ । चौधरीले प्रसारण लाईन बिस्तारका क्रममा आफ्नो जग्गा पर्ने भन्दै रोक लगाएको स्थानीयले आरोप लगाएका छन् ।

बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालको नेतृत्वमा पटक–पटक छलफल भएता पनि योजना बिस्तारका सवालमा ठोस निर्णय निस्कन सकेन । निरन्तरको अवरोध र स्थानीयको बिरोधपछि प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको पहलमा छलफल समेत भएको तौलिहवा बितरण केन्द्रका प्रमुख राजेश कुमार झाले बताए ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ९ कुस्मामा बस्ती बीचबाटै प्रसारण लाईन बिस्तार गर्ने कार्यको बिरोध भइरहँदा बनकसियाबासीले रुट परिवर्तन भएर प्रसारण लाईन लैजान नहुने रुष्टता प्रकट गरेपछि बिवादले झन् ठुलो रुप लिएको बुझिएको छ । उपभोक्ताको निरन्तर डेलिगेशनका लागि धाउने गरेका कारण आफुले यो समस्या समाधानका लागि प्रजिअलाई अनुरोध गरेको झाले बताए ।

यता, बाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुरमा रहेको विद्युत प्रसारण लाईन वडा नम्बर ६ को लक्ष्मणघाट हुदै बुद्धमार्गबाट तौलिहवा लैजादा बस्ती प्रभावित हुने भन्दै त्यस क्षेत्रका वासिन्दाले विभिन्न निकायमा ज्ञापनपत्र समेत बुझाए । बाणगंगा ६ र कपिलवस्तु नगरपालिका ९ का बासिन्दाले संघर्ष समिति बनाएरै सो प्रसारण लाईन अन्य क्षेत्रबाट लैजानुपर्ने भन्दै विकल्पसहित प्रमुख जिल्ला अधिकारी, विद्युत प्राधिकरण तौलिहवा शाखा, कपिलवस्तु नगरपालिका वडा नं ९ र १० तथा बाणगंगा नगरपालिका, र वडा नं ६ मा ज्ञापनपत्र बुझाएको संघर्ष समितिका अध्यक्ष गणेश पौडेलले बताए ।

बिगत लामो समयदेखि कपिलवस्तु लोडसेडिङ्गको चर्को समस्याबाट गुज्रिएको कुरालाई कसैले नकार्न नसक्ने नागरिक अगुवा नारायण खनाल बताउँछन् । आम जनताले व्यापक गुनासो गरेकै कारण जिल्लाको नेतृत्वले संघिय सरकार र सरोकारबाला निकायहरु संग कैयौंपटक बिमर्श गरेपछि यस प्रकारको समस्यालाई हमेशाका लागि हल गर्ने उदेश्यलाई ध्यानमा राखेर यो योजनाको सुरुवात भएको उनको ठम्याई छ । यो ३३ केभी राष्ट्रिय प्रशारण लाइनले बाणगङ्गा, बुद्धभुमी , पकडी, कपिलवस्तु नगरपालिकालाई लक्षित गरि बिद्युतको क्षमता बढाउने र त्यसका लागि मोतिपुर, कोपवा, जगदिशपुर, तौलिहवा प्रशारण लाइन बिस्तार गर्नु रहेको उनले बताए ।

स्थानीय केही तथा कथित अराजनीतिक, असामाजिक तत्वहरुकै निजी स्वार्थ र अवरोधकै कारण अहिले उक्त परियोजना वास्तबमा अलपत्र परेको खनालको जिकिर छ । आधुनिक लोकतान्त्रिक समाजको तिब्र गतिमा बिकास र बिस्तारको निम्ति जीवनकै महत्वपूर्ण अङ्ग र साधन भनेकै बिधुत (उर्जा) भएको कुरामा कसैको दुई मत हुदैन, उनले भने । हाम्रो समाजको वरिपरि नै केही अराजनीतिक, असामाजिक, भडुंवा बिकासवादी तत्वहरु पनि रहेका हुन्छन् र तिनीहरुले आफ्नो निहित स्वार्थका लागि स्थानीय गरिब जनताको न्यून चेतना स्तरको फाइदा उठाउदै उनीहरुलाई गुमराहमा राख्ने, विभिन्न प्रलोभन देखाउने, आवश्यक परे खरिदबिक्री गर्ने जस्ता हर्कत प्रति सचेत हुन उनले आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्