पाल्हीनन्दन गाउंपालिका अध्यक्षविरुद्ध न्याय परिषद र न्याय सेवा आयोगमा उजुरी,भ्रष्टाचार र लागु औषध मुद्दामा छानवीन गर्न माग

नक्कली भुटानी शरणार्थी काण्डमा पुर्व उपप्रधानमन्त्री,पुर्व गृहमन्त्रीमाथि समेत अनुसन्धान भई कारवाही भएको अवस्थामा गाउंपालिका अध्यक्षमाथि निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न सम्बन्धित निकायहरु आलटाल गर्नुको पछाडि कुन शक्तिको हात छ भन्दै उजुरीकर्ताले आश्चर्य व्यक्त गरेका छन् ।


८ असार २०८०, शुक्रबार १०:४८ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउंपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) विरुद्ध छानवीन गरी कारवाही गर्न माग गर्दै न्याय परिषद र न्याय सेवा आयोगमा उजुरी परेको छ । पाल्हीनन्दन गाउंपालिका वडा नंं ६ कै जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले गुप्तालाई लागु औषध र भ्रष्टाचार मुद्दामा कारवाही गर्न माग गर्दै उजुरी दिएका हुन् । भ्रष्टाचार गरेको आरोपमा अध्यक्ष गुप्तासंगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय वुटवलका प्रमुख योगेन्द्र पाण्डेय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय वुटवलका अनुसन्धान अधिकृत बाबुराम पौडेल, पाल्हीनन्दन गा.पा. का तत्कालिन प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेल,पाल्हीनन्दन गा.पा. का तत्कालिन प्रमुख प्रशासकिय अधिकृत श्रीप्रसाद गौतम,पाल्ही नन्दन गा.पा. का वहालवाला प्रमुख इन्जिनियर उमेश शर्मा,पाल्हीनन्दन गा.पा. का तत्कालिन लेखा अधिकृत शरद न्यौपानेलाई विपक्षी बनाई छानवीन गरेर कारवाहीको माग गरिएको छ ।
गुप्ताविरुद्ध गाउंपालिका अध्यक्ष हुंदा आर्थिक अनियमितता गरेका र साझेदारी व्यापारको करोड बढी रकम हडप्ने उद्देश्यले दुई भारतीयलाई लागुऔषध मुद्दामा फसाएको आरोपमा छानवीन गरी कारवाही गर्न माग गर्दै उजुरी गरिएको हो ।
लागु औषध सम्बन्धी मुद्दामा गुप्ताविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका थिए तर पछि राजनीतिक शक्तिको आड र आर्थिक चलखेल गरेर धरौटीमा रिहा भएका थिए । अध्यक्ष गुप्ता माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।
नक्कली भुटानी शरणार्थी काण्डमा पुर्व उपप्रधानमन्त्री,पुर्व गृहमन्त्रीमाथि समेत अनुसन्धान भई कारवाही भएको अवस्थामा गाउंपालिका अध्यक्षमाथि निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न सम्बन्धित निकायहरु आलटाल गर्नुको पछाडि कुन शक्तिको हात छ भन्दै उजुरीकर्ताले आश्चर्य व्यक्त गरेका छन् ।

अनुसन्धानको क्रममा गुप्ताकै योजनामा भारतीय नागरिकलाई नक्कली मुद्धा चलाउन खोजेको पुष्टि भएको थियो । सो घटनामा पक्राउ परेका गुप्ताका सहयोगी पूर्व नगर प्रहरी रघुनाथ धोबीको बयान र अन्य प्रमाणका आधारमा उनको संलग्नताका आधार भेटिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको थियो ।
गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिमनवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो । उनीहरूसँग दुई सय ७० सेट डाइजेपाम, नुरर्फिन र फेनार्गन लागुऔषध बरामद भएको प्रहरीको दाबी थियो ।
छानबिनका क्रममा घटना विवरण नै बनावटी भएको र उनीहरू निर्दोष देखिएको प्रहरी उच्च स्रोतले बताएको थियो । तर उनीहरु प्रहरी हिरासतमा छन् । अनुसन्धानपछि प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी धोबी र अर्का युवक विवेक पाण्डेलाई लागुऔषध मुद्दामा सजायको मागदाबी लिई अनुसन्धान प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालयले जनाएको थियो ।
थुनामा रहनुभन्दा अघि गुप्ता र पासवानले अध्यक्ष गुप्तासँग कवाड सामानको कारोबार गर्दै आएका थिए । तर, नाफाको २० प्रतिशत रामा गुप्तालाई दिने सहमतिलाई बेवास्ता गर्दै रकम दिन आलटाल गर्दै आएका थिए । रामा गुप्ताले अध्यक्ष बैजुप्रसादबाट एक करोड ३३ लाख रुपैयाँ पाउनुपर्ने थियो ।
सोही रकम हडप्नकै लागि गाउँपालिका अध्यक्षले आर्थिक चलखेल गरेर नवलपरासी प्रहरी प्रमुख ऋषिराम कंडेललाई समेत प्रभावित गरेर भारतीयलाई लागूऔषध मुद्दामा फसाएको आरोप छ । यही काण्डले एसपी कंडेलको सरुवा भएको थियो ।
थुनामा रहेका गुप्ता र पासवान निर्दोष रहेको भन्दै तत्काल रिहा गर्न र गाउँपालिका अध्यक्षलाई पक्राउ गरी उनीमाथि छानबिन गर्न थुनामा रहेका भारतीयको परिवार, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नवलपरासीले माग गर्दै आन्दोलनसमेत गरेका थिए ।
लागु औषध मुद्दामा गुप्ताविरुद्ध परेको उजुरी यस्तो छ
उपरोक्त सम्बन्धमा निवेदन यो छ कि जिल्ला नवलपरासी पाल्हीनन्दन गा.पा.का अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) ले जिल्ला प्रहरी कार्यालयका तत्कालिन एस.पि. ऋषीराम कण्डेल समेतको मिलोमतोमा भारत घर भै नेपालमा सुनवल न.पा. वडा नं. ९ भुमहीमा स्क्रेय कवाडीका कारोवार सञ्चालन गरी आएका रामा साह र जितेन्द्र पासवानलाई ०७९÷०३÷२२ गते षडयन्त्र रचेर पक्राउ गरी नक्कली एवं बनावटी लागु औषध मुद्दामा फसाएका छन ।
त्यस पछि प्रहरी प्रधान कार्यालय समेतको जानकारीमा आएकोले सो घटना अनुसन्धानमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय समेतबाट केही प्रहरी खटी आई छानबिन गर्दा गा.पा. अध्यक्ष बैजु प्रसाद गुप्ता सँग मिलोमतो गरी प्रहरी उपरिक्षक निर्दोष ब्यक्तिहरुलाई फसाएको भन्ने थाहा पाए पश्चात प्रहरी उपरिक्षक ऋषीराम कण्डेल बैजु प्रसाद गुप्ता (दिपक) ले नै फोन गरि मलाई भनेकाले मैले प्रहरी टोली पक्राउ गर्न पठाएको र प्रतिवादी राम साहले बयान गर्दा बैजु प्रसाद गुप्ताले नै आफ्नो गाउँ पालिकाको नगर प्रहरी रघुनाथ धोवी मार्फत लागु औषध मेरो मोटरसाइकलमा नजिकै फाल्न लगाई मलाई फसाएको भनी गरेको बयान समेतको आधारमा गा.पा. अध्यक्ष पनि लागु औषध कारोबारमा संलग्न रहेको कुरा सबैमा बिदित नै छ ।
निज माथि समेत छानबिन गर्न प्रतिवेदन पेश गरेकोमा प्रहरीले प्रारम्भीक अभियोग पत्र जिल्ला न्यायधीवक्ताको कार्यालयमा बुझाए पश्चात तत्कालिन जिल्ला न्यायधिवक्ता चन्द्र बहादुर सिंजालीले गा.पा. अध्यक्ष विपक्षी बैजु प्रसाद गुप्ता उपरको अभियोग हलका गर्न नमाने पछि निजलाई रातारात अध्यक्ष गुप्ताले राजनीतिक शक्ति र पहुच लगाई सरुवा गराई जिल्ला न्यायाधिवक्ता कृष्ण चन्द्र पाण्डेलाई ल्याउनु भयो ।
जिल्ला न्यायाधीवक्त ज्यूले विपक्षी बैजु प्रसाद गुप्ता जसलाई मुख्य अभियुक्त बनाउनु पर्ने बैजु प्रसाद गुप्ताको दबाब प्रभाव र आर्थिक प्रलोभन समेतमा परी निजलाई मतियारको आरोप लगाई अभियोग पत्र दाखिल गरी निज प्रतिवादी बैजु प्रसाद गुप्तालाई धरौटमिा छुट्ने गरी षडयन्त्र गर्नु भएको हो ।
निज प्रतिवादी गा.पा. अध्यक्ष बैजु प्रसाद गुप्ता केही समय गाउँपालिकमा हाजिर पनि नरही सरकारी गाडी सहीत फरार भई सोको जानकारी गा.पा. कार्यालयलाई दिई वेपता भएका थिए । मिति २०७९।०८।०३ मा भएको संसदिय निर्वाचनमा सांसद पदको उम्मेदवार ध्रुव बहादुर प्रधानले तपाईलाई धरौटीमा छुट्टाई दिन्छु भनी निज बैजु प्रसाद गुप्ताले ध्रुव बहादुर प्रधानलाई समर्थन गरी जिताउन मद्दत गरेका र सोही क्रममा श्री नवलपरासी जिल्ला अदालतमा रहेका ०७९–सी १–७०४४ को लागु औषध मुद्दामा मिति २०७९।०८।०६ गते अर्थात निर्वाचन लगतै हाजिर भै सोही दिन रु.५,००,०००। पाच लाख धरौटीमा छुटेका छन् । यसरी निज बैजु प्रसाद गुप्तालाई छुट्टाउनको लागि मात्र रातारात सरुवा गराई जिल्ला न्यायधिवक्ता कृष्ण चन्द्र पाण्डे आउदा अनुसन्धान अधिकृतबाट पेश भएको प्रारम्भीक अभियोग पत्र विपरीत बैजु प्रसाद गुप्तालाई मुख्य अभियुक्तबाट ठुलो रकमको चलखेल गरी मतियारमा अभियोग पत्र दाखिल भएको र निज बैजु प्रसाद गुप्तालाई धरौटी राख्ने गरी मिति २०७९।०८।०६ मा भएको आदेश उपर मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ७३ बमोजिम सो आदेश बदर गराउन पुनरावदेन सुन्ने अदालतमा निवेदन दिनु पर्नेमा रकम खुवाई प्रलोभनमा पारी सो दफा ७३ बमोजिमको निवेदन नै नगरी मौन बसी प्रतिवादी बैजु प्रसाद गुप्तालाई सघाएकाले निज जिल्ला न्यायधिवक्ता कृष्ण चन्द्र पाण्डेलाई कानुन बमोजिम कार्यवाही गरी भ्रष्टाचारमा समेत कार्यवाही गरी पाउन यो निवेदन गरेको छु ।

आर्थिक अनियमितता गरेको भन्दै परेको उजुरी यस्तो छ

जिल्ला नवलपरासी पाल्हिनन्दन गा.पा. अध्यक्ष वैजु प्रसाद गुप्ता मिती २०७४ को स्थानिय निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भै आफनो कार्यालयमा धेरै जसो शिर्षकमा र विभिन्न योजना तथा कार्याक्रममा व्यापक अनियमित्ता चरम भ्रष्टाचार गरेको कुरा जगजाहेर छ । निज गा.पा. अध्यक्ष ले आफनो मातहातका कर्मचारीहरुलाई प्रभावित गरि नियम कानुनको मर्यादालाई उल्लंघन र वेवास्था गरि गा.पा. अध्यक्ष वैजुप्रसाद गुप्ता तत्कालिन प्रमुख प्रशासकिय अधिकृतद्वय दुर्गा पौडेल,श्री प्रसाद गौतम, वाहाल वाला इन्जिनियर श्री उमेश शर्मा र तत्कालिन लेखा अधिकृत श्री शरद न्यौपाने समेतको मिलोमतोमा नेपाल सरकारको र जनता बाट उठेको करको रकम ब्रम्हलुट गरि कालो धन र अकुत सम्पति जोडेको कुरा तपशिल वमोजिम बँुदागत रुपमा बिवरण उल्लेख गरेको छु ।
तपशिल
पाल्हिनन्दन गा.पा. का अध्यक्ष श्री वैजु प्रसाद गुप्ता र तत्कालिन प्रमुख प्रशासकिय अधिकृत श्री दुर्गा पौडेल,श्री प्रसाद गौतम , वाहाल वाला इन्जिनियर श्री उमेश शर्मा र तत्कालिन लेखा अधिकृत श्री शरद न्यौपाने समेतको मिलोमतोमा आर्थिक अनियमित्ता र व्यापक भ्रष्टाचार गरि कालो धन अकुत सम्पति जोडेको विषयमा विभिन्न शिर्षकको आय.व्यय सम्वधित सुचनाको हक मांगदा उपलव्ध नगराएता पनि गा.पा. कार्यालय भित्रका ईमान्दार कर्मचारीहरु बाट केहि बिवरण प्राप्त भै आवश्यक छानविन गरि कानुन वमोजिम कार्यवाहि गर्न विभिन्न चरणमा विभिन्न मितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ,क्षेत्रिय कार्यालय बुटवल रुपन्देहीमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल काठमाण्डौ मा यस गा.पा. अन्तर्गतका सचेत नागरिक समाजसेवीहरु को चौतर्फी रुपमा निवेदन प्रस्तुत गरेको फाईल आयोगमा तामेल गरि राखिएको व्यहोरा वाहिर आएको छ ।

श्रीमान् यसमा भए गरेको कमि कमजोरि सम्वन्धमा जानकारी लिन धेरै प्रयासहरु भयो तर गा.पा. अध्यक्ष समेतको द्वेय प्रमुख प्रशासकिय अधिकृत श्री दुर्गा पौडेल,श्री प्रसाद गौतम , वाहाल वाला प्रमुख इन्जिनियर श्री उमेश शर्मा र तत्कालिन लेखा अधिकृत श्री शरद न्यौपाने को मिलोमतोमा प्रत्येक आ.वा.मा विभिन्न शिर्षकहरुमा भएगरेको अनियमित्ता र व्यापक भ्रष्टचार गरेको विषय सम्वन्धित अनुसन्धान अधिकृत श्री बाबुुराम पौडेल लाई थाहा हुँदाहुदै पनि भ्रष्टचारीहरु लाई बचाउने नियतले आर्थिक प्रलोभनमा परि र तत्तकालिन प्रमुख प्रशासकिय अधिकृत श्री दुर्गा पौडेल र अनुसन्धान अधिकृत एउटै व्याजिका कर्मचारी भएको हुनाले प्रायः सबै आवेदनमा वार्गेनिगं गरि निज अनुसन्धान अधिकृत बाबुराम पौडेल ले क्षेत्रिय अख्तियार प्रमुख योगेन्द्र पाण्डेय लाई मिलाई भ्रष्टचारीहरुलाई संरक्षण गरेका हुन् ।यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय पनि चुकेको अवस्था छ । यसमा केहि आवश्यक कुरा वुँदागत रुपमा उल्लेख गर्न चाहान्छु ।
तपशिल
१, श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग एउटा न्यायिक पवित्र निकाय हो । यस आयोगमा कार्यरत उच्च तहका कर्मचारी हरुको कर्तुतले गर्दा यसमा सिगों न्यायिक निकाय वदनाम भै आयोग नै अपाहिज भैसकेको अवस्था छ । आम सर्व सर्वधारण जन्ता ईमान्दार समाजसेवि कानुन को मर्यादा भित्र रहि जन्ताको भलो चिताउने व्यक्तित्वहरु अख्तियार दुरपयोग अनुसन्धान आयोग बाट केहि हुन्छ भन्ने आशा मरिसकेको अवस्था आईसकेको छ । परिस्थिति लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय बुटवलका प्रमुख श्री यागेन्द्र पाण्डेय ज्यु र अनुुुसन्धान अधिकृत बाबुराम पौडेल समेतले वुझनु नै पर्ने वातावरण शृजना भएको छ ।
२, पाल्हिनन्दन गा.पा. अध्यक्ष बैजु प्रसाद गुप्ता ले २०७४ सालमा भएको स्थानिय निर्वाचनमा निर्वाचित भै आफ्नो मातहातका कर्मचारी तत्कालिन प्रमुख प्रशासकिय अधिकृत श्री दुर्गा प्रसाद पौडेल र तत्कालिन प्रमुख प्रशासकिय अधिकृत श्री प्रसाद गौतम को कार्याकालमा मिलोमतोमा र प्रभावमा परि प्रमुख इन्जिनियर श्री उमेश शर्मा र तत्कालिन लेखा अधिकृत श्री शरद न्यौपाने समेतलाई अध्यक्ष ले प्रभावमा लिई आर्थिक अनियमित्ता गरि चरम भ्रष्टाचार गरेको कुरा तपशिल वमोजिम बुँदागत रुपमा उललेख गर्न चाहान्छु । निम्न उल्ल्ेखित बँुदामा आर्थिक अनियमित्ता गरि व्यापक भ्रष्टाचार गरेता पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय बुटवल रुपन्देहीका प्रमुख श्री योगेन्द्र पाण्डेय र क्षेत्रिय कार्यालय अनुसन्धान आयोग बुटवलका अनुसन्धान अधिकृत श्री बाबुराम पौडेल को संरक्षणमा भ्रष्टाचनरीहरु जोगिएका छन् ।
३, पाल्हिनन्दन गा.पा अध्यक्ष बैजु प्रसाद गुप्ता तत्कालिन प्रमुख प्रशासकिय अधिकृत श्री दुर्गा पौडेल,श्री प्रसाद गौतम , वाहाल वाला इन्जिनियर श्री उमेश शर्मा र तत्कालिन लेखा अधिकृत श्री शरद न्यौपाने समेतको मिलोमतोमा सांगठनिक आर्थिक अनियमित्ता र संस्थागत भ्रष्टचार गरेको कुरा निम्न लिखित बुँदामा उल्लेख गरेको छु ।
निम्न
क) यस पाल्हिनन्दन गा.पा. मा मिति २०७४ साल देखि हाल सम्म जिल्लाको दर रेटलाई बेवास्था गरि जिल्ला दर भन्दा बढि दर रेटमा लगत ईष्टिमेट गरि सोहि बमोजिम बढि दर रेट अनुसार मु्ल्याकंन बढाई रकम मासेको कुरा बाहिर आएको जाहेर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल काठमाण्डौमा चेकजाँचको लागि अनुरोध गर्दछु ।
ख) यसमा पटक पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल काठमाण्डौमा पटक पटक निवेदन पेश भएको छु तर अनुसन्धान गर्ने कार्य अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रिय कार्यालयबाट भए गरेकोले सत्य तथ्य लुकाउने कार्य भएको छ ।
ग) यसमा कुनै पनि गा.पा. का निर्वाचित जन प्रतिनिधि को कार्यालयमा एक पटक मात्र डिजिटल भिलेज प्रोफाइल बनाउन सकिने व्यवस्था छ र सो को अध्यावधिक गर्न सकिने नियममा व्यवस्था छ तर गा.पा अध्यक्ष बैजु प्रसाद ग्ुप्ता को दबाव अथवा प्रभावमा परि तत्कालिन प्रमुख प्रशासकिय अधिकृत श्री दुर्गा पौडेल को कार्याकालमा २०७४ सालमा प्रथम पटक डिजिटल भिलेज प्रोफाइल बनाइए बापत रु चालिस लाख (४०,००,०००) खर्च भएको र पुनः सोहि कार्याक्रमका लागि तत्कालीन प्रमुख प्रशासकिय अधिकृत श्री प्रसाद गौतम को कार्याकालमा अध्यक्षको मिलोमतोमा दोस्रो पटक डिजिटल भिलेज प्रोफाइल कार्याक्रममा रु बीस लाख (२०,००,०००) खर्च गरि आर्थिक अनियमित्ता गरि चरम भ्रष्टाचार गरेको कुरा अ.ले.प. र म.ले.प. वाट स्पष्ट देखिएको छ । आफैमा यो एउटा प्रमाण पनि हो ।
घ) २०७४ सालमा प्रथम पटक सम्पन्न स्थानिय निर्वाचनवाट निर्वाचित जनप्रतिनिधीको निर्णय ले गाउँकार्यपालिका भवन निर्माण को लागि बजेट बिनियोजन भएको सो को टेण्डर हुँदा रु ७,४९,०००,०० स्विकृत भ निर्माण कार्य भएको हो र प्रत्येक आर्थिक वर्षमा भेरियन्ट अर्डर गरि विभिन्न बहानामा रकम थप गर्र्दै निर्माण कार्य भएको उक्त भवन मिति २०७८ सालमा उद्धघाटन हुँदा सम्म रु १०,००,०००,००।– (दश करोड) सम्म रकम मिलोमतोमा भुक्तान भई आर्थिक अनियमित्ता चरम भ्रष्टाचार भएको छ ।
ड) २०७९ सालमा स्थानिय निर्वाचन मा पुनः निर्वाचित हुनु भएका जनप्रतिनिधी हरुको पहिलो बैैठकबाट उक्त पाल्हिनन्दन गा.पा भवनको वक्यौता भुक्तानिको रकम रु १,४०,०००,००(एक करोड चालिस लाख) ठेकेदार लाई बक्यौता भुक्तानी दिनु छ भनि झुठा बिवरण उल्लेख गरि निर्माण गराई आर्थिक अनियमित्ता भएको र चरम भ्रष्टचार गरेको स्पष्ट छ । यसमा गा.पा. अध्यक्ष बैजु प्रसाद गुप्ता, द्धेव तत्कालिन प्रमुख प्रशासकिय अधिकृत श्री दुर्गा पौडेल,श्री प्रसाद गौतम , वाहाल वाला इन्जिनियर श्री उमेश शर्मा र तत्कालिन लेखा अधिकृत श्री शरद न्यौपाने समेतको संल्गनता छ ।छानविन गरि आवश्यक कार्यवाही को लागी अनुरोध छ ।
च) आ.वा. ०७६ ०७७ आ.वा. ०७७ ०७८ मा भएको पम्पिगं सेट खरिदमा व्यापक आर्थिक अनियमित्ता चरम भ्रष्टचार भएको कुरा यस भन्दा पहिलेको निवेदनमा उल्लेख गरिएको छ ।उक्त पम्पिगं सेट आफनो कार्यकर्ता आसेपासेलाई दिई धेरै जसो ले पम्पिगंसेट विक्री गरि सरासर गलत कार्य गरेका छन् ।यसमा छानबिन गर्न आवश्यक भएको ले छानबिनका लागि अनुरोध छ ।
छ) आ.वा. ०७७ ०७८ मा र आ.वा. ०७८ ०७९ मा आर्थिक सहयोग शिर्षकमा रु ३०००००० ( तिस लाख) रकम छट्याई गा.पा. अध्यक्ष बैजु प्रसाद गुप्ता ले आफुले नियुक्ति गरेको करारका कर्मचारी पशुपति गुप्ता,प्रदिप तिवारी,नर्वदेश्वर गुप्ता, गाडी चालक प्रदिप चौधरी समेतको नाममा पेश्की गएको रकमको फर्जी भर्पाई गराई रकम हिनामिना गरि व्यापक अनियमित्ता गरि चरम भ्रष्टचार गरेको कुरा अख्तियार दुरपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय बुटवल रुपन्देहीका प्रमुख श्री योगेन्द्र पाण्डेय र क्षेत्रिय कार्यालय अनुसन्धान आयोग वुटवलका अनुसन्धान अधिकृत श्री बाबुराम पौडेल को जानकारीमा हुँदा हुदैं पनि भ्रष्टाचारीलाई संरक्षण गरेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल काठमाण्डौबाट छानविनको लागि अनुरोध गर्दछु ।
ज) निज पाल्हिनन्दन गा.पा अध्यक्ष वैजु प्रसाद गुप्ता ले आफनो जीवनमा कुनै पनि काम वाकी लगाएका छैनन् । द्धन्दकालमा चन्दा असुली तथा लुटपाट गरि कालो धन र अकुत सम्पति जोडेका हुन् ।कालो धनको प्रयोग गरि गा.पा. अध्यक्ष पदमा निर्वाचित भै अफिस कै सरकारी गाडीमा लागु औषध ओसार पसार गरि आफुले नियुक्ति गरेको गाउँपालिका नगर प्रहरिलाई प्रयोग गरि आफनै व्यापारी साथी राम गुप्ता र जितेन्द्र पासवानलाई लागु औषध कार्यमा फसाएको कुरा प्राय धेरैलाई सर्वदित नै छ । गा.पा. अध्यक्ष बैजु प्रसाद गुप्ता र रामा गुप्ता ,जितेन्द्र पासवान कवाडीको कारोवार गरि मोटो रकम फाईदा भएको र सर्त वमोजिम १३३००००० (एक करोड तेतिस लाख) गा.पा. अध्यक्षबाट रामा गुप्ता ले पाउनु पर्ने रकम माग्दा रिसले निर्दोष मानिसलाई आफनै कर्मचारी,पालिका प्रहरि लाई पैसा दिई लागु औषध खरिद गर्र्न लगाई प्रहरि प्रशासन समेतलाई झुटो विवरण को फोन गरि जिल्ला प्रहरि कार्यालय न.प. (ब.सु.प) का प्रहरि उपरिक्षक ऋषिराम कण्डेल र शसस्त्र प्रहरि उपरिक्षक ,राष्टिय अनुसन्धान का उपरिक्षक र जिल्ला प्रमुख अधिकारी समेतलाई भ्रममा पारी झुठो कुरा गरि निर्दाेषलाई फसाएको र गाडीमा लागु औषध ओसार पसार गर्दै आएको कारण गाडीको भित्रि समानहरु परिवर्तन गरेको कुरा मोटो रकमको विल पेश गर्दा गा.पा. अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत विच विवाद उत्पन्न हुँदा कुरा वाहिर आएपछि जानकारी प्राप्त भएको छ ।
झ) निज गा.पा. अध्यक्ष लागु औषध कारोवार गर्दा गर्दै आफनै कवाडि कारोवार व्यापार पाटनर लाई योजनाकार को रुपमा सम्वन्धित निकायहरुमा गलत रिपोटीगं गरि फसाएको कुरा सवै स्थानिय वासी हरुलाई जानकारी भएको कुरा स्पष्ट गर्न चाहन्छु ।
ञ) निज गा.पा. अध्यक्ष को पैसा र पावरको आडमा नवलपरासी सम्मानित जिल्ला अदालत वाट रु ५००००० (पाँच लाख) धरौटिमा तारेख लिई मुद्धा खेपी रहेको अवस्था छ । निजको कालो कर्तुत लाई ढाकछोप गरि बचाउने प्रयास भएमा न्यायलय नै बदनाम हुने अवस्था सृजना भएको छ । सत्य तथ्य लाई अध्ययन गरि कानुन बमोजिम कारवाहिको लागी निवेदन साथ अनुरोध गर्दछु ।

अध्यक्ष गुप्ताले भने उजुरीमा उल्लेख गरिएका आर्थिक अनियमितता र लागु औषध मुद्दामा फसाएको भन्ने कुराहरु गलत भएको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्