खेतीयोग्य जमिन बाँझो राखे सन्धिखर्कमा दोब्बर रकम तिरो तिर्नुपर्ने


पालिका पत्र

१० असार २०८०, आईतवार २०:२१ मा प्रकाशित

अर्घाखाँची, असार १० । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा कृषियोग्य जमिन बाँझो राखेमा दोब्बर रकम तिरो तिर्नुपर्ने भएको छ । कृषि उत्पादन बढाउन भन्दै नगरपालिकाले खेतीयोग्य जमिन बाँझो राखेको खण्डमा दोब्बर रकम तिरो तिर्नुपर्ने नीति तथा कार्यक्रम पास गरेको छ ।

नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठले आज आइतवार आउँदो आर्थिक वर्ष २०८०/८१ लागि कृषि, पशुपालन र पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

कृषि र पशुपालनबाट हुने उत्पादनमा अनुदानको व्यवस्थापन गर्ने, कम लागतमा बढी उत्पादन गर्न यान्त्रिकीकरण र आधुनिकीकरण गर्नेलगायतका कार्यक्रम सन्धिखर्क नगरपालिकाले गर्ने भएको छ ।

सुपा देउरालीमा आएका धार्मिक पर्यटकलाई सन्धिखर्क बजार हुँदै एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति भएको ठाउँ अर्घा भगवती मन्दिर र अर्घा दरबारमा लैजान निजी क्षेत्रसँग सहकार्य गरेर सार्वजनिक गाडी सञ्चालन गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।

पालिकाले रैथाने बालीको संरक्षण गर्ने, पर्यटनका लागि पदमार्ग निर्माण गर्ने भएको छ । तारे होटल र स्वदेशी कच्चा पदार्थको प्रयोग गरेर उत्पादन गर्ने उद्योग सञ्चालन गरेमा राजस्व दस्तुरमा ५० प्रतिशत छुट दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पालिकाभित्र रहेका वादी समुदाय र गन्धर्व समुदायको नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको मूल्याङ्कन गर्दै निःशुल्क स्वास्थ्य बिमा गरिने उल्लेख छ ।

यस्तै नगरभित्रका मुख्य सडकको स्तरोन्नति र कालोपत्र गर्ने, घरघरमा खानेपानी पुर्‍याउनेलगायतका कुरा समावेश भएको नीति तथा कार्यक्रम नगरपालिकाले पास गरेको छ ।

यस्तै उपमेयर मिश्रा आचार्यले आजै आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि कृषि, पशुपालन र पर्यटनलाई प्राथमिकतामा राखेर एक अर्ब एक करोड ४५ लाख रुपैयाँको बजेट प्रस्तुत गरिन ।

बजेटमा पुँजीगत खर्च ३२ करोड, चालु खर्च ५१ करोड ४५ लाख र सामाजिक सुरक्षा खर्च १८ करोड रुपैयाँ रहेको छ । आज प्रस्तुत भएको बजेट १३ गते बस्ने नगरसभाले पास गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्