प्रदेश स्थापनाको ५ बर्षमा लुम्बिनीमा ८ सय किलोमिटर सडक कालोपत्रे


पालिका पत्र

२१ असार २०८०, बिहीबार ११:२३ मा प्रकाशित

कपिलवस्तु, असार २१ । प्रदेश स्थापनाको पाँचबर्षको अन्तरालमा लुम्बिनी प्रदेशमा प्रादेशिक सडक बिस्तारले तिब्रता पाएको छ । लुम्बिनी प्रदेशमा पछिल्लो पाँच वर्षमा आठसय ११ किलोमिटर सडक कालोपत्रे गरिएसँगै सडक बिस्तारको कार्यले तिब्रता पाएको हो ।

लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार प्रदेश स्थापनाकाल देखि हालसम्म सो परिमाणमा सडक कालोपत्रे भएको हो । आर्थिक वर्ष २०७५/७६ देखि चालु आर्थिक वर्ष २०७९/८० को चैत्रसम्म आठसय ११ किलोमिटर सडक कालोपत्रे भएको हो ।

चालु आर्थिक वर्ष २०७९/८० चैत्रसम्म कुल प्रादेशिक सडक निर्माण तर्फ दुईसय ६६ किलोमिटर सडक थप निर्माण भई प्रदेश स्थापनादेखि चालु आर्थिक वर्ष २०७९/८० चैत्रसम्म कुल तीनहजार ८४३ किलोमिटर प्रादेशिक सडक बिस्तार भएको छ ।

प्रदेश स्थापनापछिको आव २०७८/७९ मा सबैभन्दा बढि २०२ किलोमिटर सडक सञ्जाल बिस्तार भएकोमा आव २०७५/७६ मा २ सय किलोमिटर सडक निर्माण भएको थियो । यस्तै, आव २०७६/७७ मा १५३ किलोमिटर, आव २०७७/७८ मा १९४ किलोमिटर र चालु आव २०७९/८० मा ६२ किलोमिटर सडक निर्माण गरिएको मन्त्रालयका सूचना अधिकारी मोहन पाण्डेले बताए ।

सर्वेक्षण अनुसार एक हजार ६८ किलोमिटर सडक ग्राभेल र एक हजार ९६४ किलोमिटर सडक कच्ची छ । चालु आवमा ८० किलोमिटर ग्रोभल र १२४ किलोमिटर कच्ची सडकलाई सुधार गर्दै निर्माण सम्पन्न गरेको छ । सडक सुरक्षालाई प्राथमिकतामा राखेर सडक निर्माण, मर्मत र स्तरोन्नतिको काम अघि बढाएको लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बताए ।

उनका अनुसार कृषि सडक, पर्यटन स्थल एवं उद्योग स्थल पहुँच मार्ग, सीमा क्षेत्र सडक कार्यक्रम, प्रदेश गौरबका सडक तथा प्रदेशका प्रमुख राजमार्ग निर्माण एवं स्तरोन्नतिबाट ग्रामीण–सहरी आवद्धता र कृषि उत्पादन तथा बजारीकरणमा टेवा पुगेको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्ला सदरमुकाम पक्की सडक सञ्जालले जोडिएका मन्त्री मास्की बताउँछन् ।

लुम्बिनी प्रदेशमा पछिल्लो ५ वर्षमा ८९ मोटरेवल पुल निर्माण भएका छन् । त्यस्तै प्रदेश भरि २६ झोलंङ्गे पुल निर्माण भएका छन् । चालु आवमा मात्रै १७ मोटरेवल पुल र तीन झोलुङ्गे पुल निर्माण भएको छन् । सबैभन्दा बढि आव २०७८÷७९ मा ५१ वटा पुल निर्माण भएका छन् । जस्मा ४० वटा मोटरेवल पुल र ११ वटा झोलुङ्गे पुल छन् ।

प्रतिक्रिया दिनुहोस्