कपिलवस्तुमा सर्पले डसेर दाजुभाइसहित चार जनाको मृत्यु


पालिका पत्र

२६ असार २०८०, मंगलवार १५:४० मा प्रकाशित

असार २६ । कपिलवस्तुमा सर्पको डसाइबाट एकैदिनमा चार जनाको मृत्यु भएको छ। सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ कपासीमा एकै घरका दुई दाजुभाइको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ९ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसाल रहेका इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए । दुवैजना आफ्नो हजुरआमासँग एकतले घरको भुइँमा सुतेका थिए ।

सोमबार बिहान दुई दाजुभाइ बेहोस अवस्थामा भेटिएपछि लगत्तै स्थानीय अस्पतालमा पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा एक जनाको बाटोमा र अर्काको उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक शाहीले बताए ।

नातिसँग सुतेकी ६० वर्षीया हजुरआमा बसन्ता भुसाललाई पनि सर्पले डसेको हुन सक्ने भन्दै सोही अस्पतालमा उपचारका लागि पठाइएको सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिए ।

मृतकका आमा वैदेशिक रोजगारको सिलसिलामा विदेश रहेको प्रहरी निरीक्षक शाहीले बताए । बुबाको भने केही महिना अगाडि नै मृत्यु भइसकेको थियो ।

यसैगरी, सोमबारै बुद्धभूमि नगरपालिका–१० धनकाैलीका १६ वर्षीया ममता रैदासको पनि सर्पको डसाइबाट मृत्यु भएको छ। सर्पले डसेलगत्तै उनलाई नजिकै रहेको गोरुसिङ्गेस्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्र लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि तौलिहवा जिल्ला अस्पताल पठाइएको थियो । तर त्यहाँका चिकित्सकले ढिलो भएकाले बचाउन नसकिएको प्रतिक्रिया दिएका छन् ।

यस्तै सोहि दिन नै महाराजगन्ज नगरपालिकाकी ३१ वर्षीया अनिता यादवको पनि सर्पको डसाइबाट मृत्यु भएको छ। दिउँसो साढे १ बजेको समयमा घर नजिकै रहेको पराल निकाल्ने क्रममा उनलाई गोमन सर्पले डसेको थियो ।

लगत्तै सर्पदंश उपचार केन्द्रमा उपचारका लागि लगिएकोमा त्यहाँ उपचार नभएपछि बुटवल लैजाँदै गर्दा उनको पनि बाटोमै निधन भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्