अनुदान रोकिएपछि बाणगंगा नगर औद्योगिक ग्राम अलपत्र, प्रदेश र स्थानीय सरकारलाई छैन चाँसो


पालिका पत्र

२६ असार २०८०, मंगलवार १९:०० मा प्रकाशित

कपिलवस्तु, असार २६ । कपिलवस्तुको बाणगंगा नगरपालिका क्षेत्र भित्रमा औद्योगिक ग्राम स्थापनार्थ संघीय उद्योग मन्त्रालयले बिशेष चाँसो ब्यक्त गर्दै २०७७ चैत्र ३० मा नगरपालिका सँग सम्झौता गर्यो । मन्त्रालयको औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखाका तत्कालिन प्रमुख बलराम रिज्याल र तत्कालिन उपप्रमुख चक्रपाणी अर्यालबीच औद्योगिक ग्राम स्थापना गर्ने सम्झौतापत्रमा हस्ताक्षर पनि भएको थियो ।

उद्योग मन्त्रालयमा भएको सम्झौतामा आव २०७७/७८ मा मन्त्रालयले ९२ लाख उपलब्ध गराउने सहमती समेत भएको थियो । यस्तै आव २०७७/७८ मा लुम्विनी प्रदेश र स्थानीय पालिकाले समेत रकम विनियोजन गरेर काम अघि वढाउने प्रावधान राखिएको थियो ।

बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडको वर्दहवा स्थित वाल कल्याण आधारभूत प्रावि भन्दा २०० मिटर दक्षिणमा नदी उकासको ११ विगाह जग्गामा औधोगिक ग्राम बनाउने गरी विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार भएको थियो ।
उद्योग मन्त्रालयले औद्योगिक ग्रामको लागि लगानी लगाउन कम्तीमा ७ विगाह जग्गा ब्यवस्था गरिएको हुनुपर्ने भन्ने प्रावधान रहेको छ । डिपिआरमा ५१ करोड लागतमा आधुनिक किसिमको औद्योगिक ग्राम बन्ने उल्लेख थियो ।

मन्त्रालयले पठाएको उक्त प्रारम्भीक ९२ लाख रकमवाट सबैभन्दा पहिले वाउण्ड्रीवाल, विद्युतीकरण र खानेपानीको काम भएको बाणगंगा नगरपालिकाले जनाएको छ । तर त्यसपश्चातका आवहरुमा संघीय सरकारले प्रदान गर्ने भनिएको अनुदान उपलब्ध नगराउँदा अहिले नगर औद्योगिक ग्राम अलपत्र परेको छ ।

अनुदानबाट बर्दहवामा निर्माण हुँदै गरेको औद्योगिक ग्राम बिगत चार वर्षदेखि अलपत्र अवस्थामा रहेको हो । डीपीआर अनुसार ८.९३ हेक्टर क्षेत्रफलमा निर्माण हुने ग्राममा ५१ करोड रुपैयाँ खर्च हुने अनुमान छ । बाणगंगा नगरपालिकाका सूचना अधिकारी केशव भट्टराईका अनुसार संघीय सरकारले बजेट कटौती गर्दा औद्योगिक ग्राम अलपत्र परेको छ । भट्टराइले डीपीआरपछि आर्थिक वर्ष २०७७/७८ मा योजना सञ्चालनका लागि बजेट आएको बताउँछन् ।

पहिलो वर्ष निर्माण स्थलको पश्चिमतर्फ पर्खाल निर्माण गरिएको छ । जसका लागि ४१ लाख ९४ हजार रुपियाँ खर्च भएको थियो । निर्माणस्थलको एकतर्फ मात्र पर्खाल लगाइएको छ । एकतर्फी पर्खाल निर्माण हुँदै गर्दा नदीको बहावले कटान गर्ने क्षेत्रमा भने कुनै काम भएको छैन् । उद्योग सञ्चालनको प्रचुर सम्भावना रहेको पालिकामा काम रोकिँदा उद्यमीलाई समस्या हुने वडा नम्बर ९ का वडा सदस्य चुडामणि अर्यालको भनाइ छ ।

योजनाका लागि २०७७/७८ बाट बजेट विनियोजन नभएको नगरपालिकाले जनाएको छ । “संघीय सरकारले रकम पठाएको छैन् । पालिकाले ठूलो लगानी गर्न सक्ने सार्मथ्य छैन” । सुचना अधिकारी भट्टराइले भने ।

प्रावधान अनुसार, औद्योगिक ग्रामका लागि प्रदेश र स्थानीय सरकारले समेत बजेट उपलब्ध गराउने ब्यवस्था छ । तर, बाणगंगा नगरपालिकाका जनप्रतिनिधि नै यो योजना सार्थक तुल्याउन गम्भिर नदेखिएको स्थानीय लोकराज गिरी बताउँछन् ।

प्रतिफल बिहिन कोठे कार्यक्रम र लक्षित बर्गको नाममा जनताको करको दुरुपयोग गर्ने परिपाटी स्थानीय सरकारमा हाबी भएको प्रति पनि उनको असन्तुष्टि छ । भलवाडमा कुनै बिकास भएको नचाहने प्रवृत्ति अहिलेका स्थानीय जनप्रतिनिधिमा रहेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्