बाणगंगा नगरपालिकाः १ अर्ब ६० करोडको बजेट पारित


पालिका पत्र

३० असार २०८०, शनिबार १९:३५ मा प्रकाशित

कपिलवस्तु, असार ३० । कपिलवस्तुको बाणगंगा नगरपालिकाको १३ औँ नगर सभा सकिएको छ । असार २ गते बाट सुरु भएको नगर सभा १ अर्ब ६० करोडको बजेट पारित गर्दै आज सकिएको हो ।

नगर सभालाई संम्बोधन गर्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नगरको समग्र विकासको लागि आगामी वर्षहरुमा अझ सक्रियताको साथ गुणस्तरीय कार्य गर्ने प्रतिबद्धता जनाएका छन् । उनले यो एक वर्षमा बजेटले भ्याए सम्म नगर विकासका कार्यमा महत्वपुर्ण योजनालाई अघि सार्दै काम गरेको स्मरण गर्दै आगामी दिनमा त्यसलाई थप जनमुखी बनाउँदै लैजाने बताए । आगामि आर्थिक वर्षको लागि ल्याएको बजेट, योजना र कार्यक्रम जनताले प्रत्यक्ष लाभ लिने खालका रहेको दाबी गर्दै ति योजनाको कार्यान्वयनमा आफु सङ्गै नगर खटेर लाग्ने मेयर अर्याललको भनाई छ।

त्यस्तै कार्यक्रममा उप मेयर रिता कुमारी चौधरीले नगरमा सुशासन कायम गर्न सिगोँ नगर प्रतिबद्ध रहेको बताईन । आगामी वर्षको लागि स्वास्थ्य, शिक्षा कृषि, पूर्वाधार, पिछडावर्ग, महिला, दलित आदिलाई समेट्ने गरी बजेट र कार्यक्रम ल्याएको भन्दै त्यसलाई सफलतापुर्वक कार्यान्वयन गर्नको लागि जनता सगैं जनप्रतिनिधि, राजनैतिक दल लगायत सबै क्षेत्र निस्वार्थ लाग्नुपर्ने बताएकि छन् ।

त्यस्तै कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले नगर बाट प्रवाह हुने सेवा सुविधालाई जनमुखी बनाउँदै लैजाने बताए । भौतिक विकास गरेर मात्र जनताको जीवन माथि नउठ्ने भएकाले बाणगंगा नगरपालिका भौतिक, सामाजिक, सांस्कृतिक लगायत सर्वाङ्गिण विकास गर्न तर्फ लागिपरेको प्रशासकिय अधिकृत भुसालले जिकिर गरे ।

नगर सभाले विभिन्न क्षेत्रमा रहेर नगरको विकासमा योगदान पुर्याएका विभिन्न व्याक्तिलाई पुरस्कार सहित सम्मान गरिएको नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले बताए । नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले गत असार ९ गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०/०८१ को बार्षिक नीति, बजेट तथा कार्यक्रम र अनुमानित आय व्यय गरी रु १ अर्ब ६० करोडको बजेट शनिवार बसेको १३ औँ नगर सभाले पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्