मायादेवी गाउँपालिकामा बिकासको गतिले तिब्रता पाउँदै


पालिका पत्र

१ श्रावण २०८०, सोमबार १२:४१ मा प्रकाशित

राघवेन्द्र चौवे, साउन १ । कपिलवस्तुको मायादेवी गाउँपालिकामा आर्थिक वर्ष २०७९/८० मा बिकासको गतिले तिब्रता पाएको छ । नगरपालिकाले बार्षिक स्वीकृत कार्यक्रम अनुरुप लिएका लक्ष्यको प्राप्ती तर्फ उन्मुख देखिएको गाउँपालिका अध्यक्ष वलिउद्धिन मुसलमानले बताए ।

मुख्यतः बिकास निर्माण, पूर्वाधारको बिकास र सडक बिस्तार जस्ता कार्यलाई प्राथमिकताका साथ कार्य गरिएको पालिकाले जनाएको छ। प्रभावकारी सेवा प्रवाहका लागि प्रशासनिक भवनको निर्माण सम्पन्न गरि हाल सोहि भवनबाट प्रशासनिक कामकारवाही सञ्चालन गरिएको छ ।

आर्थिक बर्ष २०७६/७७ बाट शिलान्यास भई हाल २४ कोठे प्रशासनिक भवन सञ्चालनमा ल्याइएको मुसलमानले बताए । तीन करोड ६४ लाख लागत अनुमान गरिएको भवन निर्माण सम्झौता २ करोड ९६ लाखमा गरिएको जनाइएको छ । एक करोड जिल्ला समन्वय समितीको लगानी र बाँकी गाउँपालिकाको संयुक्त लगानीमा उक्त भवन निर्माण सम्पन्न गरिएको बताइएको छ ।
साढे तीन तलाको भवनमा २४ कोठा, एक किचन र हल समेत रहेको छ।

प्रशासनिक भवन नजिकै रहेको सभाहलको समेत निर्माण सम्पन्न भएको छ । गत आवमा प्रदेशको ६० लाख अनुदान र चालु आवमा गाउँपालिकाको तर्फबाट ३० बजेट बिनियोजित गरि कुल ९० लाखमा उक्त सभाहल निर्माण गरिएको छ ।

मायादेवीको चालु आर्थिक वर्षको अर्को नमुनायोग्य कार्य नवप्रवद्र्धन साझेदारी कोष कार्यक्रम अन्र्तगत विपन्न परिवार आवास निर्माण सम्पन्न भएका छन् । कार्यक्रम अन्र्तगत १२ वटा भवन मायादेवी गाउँपालिका वडा नम्बर ५, ठुलो सेहरहवामा सम्पन्न गरिएका छन् । २०७९ जेठ १४ गते निर्माण सम्झौता भएकोमा २०८० जेठ २९ मा निर्माण सम्पन्न भएको थियो । भवनको साथमा शौचालय समेत निर्माण गरिएको छ ।

सोहि ठाउँमै १३ लाखको लागतमा सिकाई केन्द्रको समेत स्थापना गरिएको छ । गाउँपालिकाले एक आर्थिक वर्षमा कुल ५५ लाखका चापाकल समेत बितरण गरिसकेको छ । गाउँपालिका अध्यक्ष मार्फत ३५ लाखका ७२ वटा र उपाध्यक्ष मार्फत २० लाखका ३६ वटा चापाकल बितरण गरिएको जनाइएको छ ।

गाउँपालिका क्षेत्र भित्रका वडा कार्यालयको निर्माण सम्पन्न भएका छन् । वडा नम्बर १, ४ र ८ मा आफ्नै वडा कार्यालय निर्माण भई सेवा प्रवाह भइरहेको छ । यस्तै, वडा नम्बर २, ५ र ६ मा नवनिर्मित स्वास्थ्य चौकी निर्माण गरिएका छन् । स्वास्थ्य चौकी निर्माणका लागि प्रति स्वास्थ्य चौकी २३ लाख रकम बिनियोजन गरिएको प्रमुख प्रशासकिय अधिृकत प्रमेश्वर यादवले बताए ।

मायादेवीको केन्द्र रहेको पकडि स्थित छत्रपाली तिर्थादेवी स्कुलमा नमुना बिद्यालयको रुपमा स्तरोन्नतीका काम भइरहेको छ । १३ करोड लगानीमा ९ कोठे बिद्यालय भवन निर्माण हुँदै गरेको उनले बताए । यस्तै, भैसकुण्डा माबिमा चारकोठे भवन र सिसहनियामा समेत चारकोठे भवन निर्माण भइरहेको यादवले बताए ।

गाउँपालिकाको हरेक वडामा ड्युप ट्युवेल जडान समेत गरिएको छ । गोदामघरको समेत निर्माण कार्य शुभारम्भ गरिएको छ । मायादेवी गाउँपालिका वडा नम्बर १, पकडी इमिलियामा एकसय मेट्रिकटन क्षमताको खाद्य भण्डार (ग्रेन स्टोरेज) निर्माण सुरु भएको हो । स्थानीय पालिका र संघीय सरकारको ५०/५० प्रतिशत संयुक्त लागत साझेदारीमा उक्त खाद्य भण्डार निर्माण हुने भएको हो । २०८० बैशाख २७ गते सम्झौता भई काम सुरु भएको इन्जिनियर सुनिल आचार्यले बताए ।

३ करोड ३६ लाख ३३ हजार ३९६ रुपैया लागत अनुमान रहेको गोदामघरको निर्माण युरोटेक चन्द्र जेभि काठमाडौंले सम्झौता गरि २०८१ पुष ३० गते सम्पन्न गर्ने लक्ष्य छ ।

मायादेवी वडा नम्बर ७ अवस्थित मायादेवी गाउँपालिका र यशोधरा गाउँपालिका जोड्ने रतनपुर पुल निर्माण सम्पन्न भएको छ । २०७८ फागुन ५ गते सम्झौता आरम्भ भई २०८० फागुन ४ गते सम्पन्न गर्ने सम्झौता गरिएको छ । यद्यपि सम्झौता अवधि भन्दा छिटो निर्माण सम्पन्न भएको निर्माणको जिम्मा पाएको माउण्टेन आकृति पन्थ जेभि बुटवलले जनाएको छ । ४ करोड ७ लाख ६७ हजार ३२२ रुपैयामा सम्झौता भई काम सम्पन्न गरिएको छ ।

वडा नम्बर ७ मै रहेको हरनामपुर प्राथमिक स्वास्थ्य केन्द्र समेत निर्माणको अन्तिम चरणमा पुगेको छ । १५ शैया अस्पताल निर्माणको जिम्मा कमलजीत आकृति पन्थ काठमाडौंले पाएको छ । २०७८ श्रावण ४ गते सम्झौता भई २०८० असार २५ गते निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । अस्पताल निर्माणको लागि १८ करोड ६ लाख ८२ हजार रुपैया स्वीकृत भएको प्राविधिक बताउँछन् ।

यसैगरि, मायादेवी गाउँपालिकामा चालु आर्थिक बर्षमा करिब १० किलोमिटर सडक निर्माण भएको जनाइएको छ । बसन्तपुर–सिसवा कालोपत्रे सडक निर्माणको सम्झौता २०७७ फागुन १२ गते भएको थियो । कुल लम्बाई ४.२ किलोमिटर रहेको उक्त सडक निर्माणको जिम्मा पिएस रोयल जेभिले पाएको थियो ।

२०७८ माघ २ गते सम्पन्न गर्ने सम्झौता रहेतापनि कोरोनाका कारण निर्माणमा ढिलाई भएको थियो । ५ करोड ४४ लाख २७ हजार ७६० रुपैयामा उक्त सडक निर्माण सम्पन्न भएको जनाइएको छ । चारसय २४ मिटर लम्बाइको मनखोरिया र डुमरा–रजवापुर सडक कालोपत्रेको काम पनि अघि बढेको छ । ३५ लाख लागतको उक्त सडक निर्माणको चरणमा रहेको गाउँपालिकाको भौतिक पूर्वाधार शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्