बाढीले तटबन्ध भत्काउँदा कपिलवस्तुका दर्जनौं गाउँबस्ती जोखिममा


३१ श्रावण २०८०, बुधबार ०९:०४ मा प्रकाशित

कपिलबस्तु । साउन ३१ ।

नेपालको दोस्रोस्तरको रुपमा रहेको बाणगंगा नदीले प्रतिवर्ष बहाव क्षेत्र विस्तार गर्दै गएपछि नदी किनारका गाउँबस्ती संकटमा परेका छन् । नदीले बहाव क्षेत्र बिस्तार गर्दै गएर बर्षाको समयमा आउने भिषण बाढीले वर्षेनी बाँध समेत कटान गर्दा दर्जनौं गाउँबस्ती उच्च जोखिममा परेका हुन् ।

बाणगंगा नदीमा आएको भिषण बाढीले जिल्लाका दक्षिणी क्षेत्रका यशोधरा गाउँपालिका र महाराजगंज नगरपालिका अन्र्तगतका गाउँबस्तीका नदी छेउमा लगाइएको बाँध भत्काएपछि उक्त क्षेत्र डुबानको उच्च जोखिममा परेका छन् । बाणगंगा नदीको बहाव बस्तीतर्फ सर्दै गएपछि गाउँ नै बगाउने खतरा बढेको हो ।

४० वर्ष अघिसम्म पश्चिमतर्फ रहेको नदीको बहाव अहिले गाउँसँग सटेर नजिक पुगेको छ । नदीको बहाव क्षेत्रदेखि गाउँ मात्रै २ मिटर भन्दा कम छ । कटानलाई रोक्न कच्ची तटबन्ध मात्र छ । त्यसभन्दा तल कटान रोक्न नदीको पूर्वपट्टी तटबन्ध निर्माण गरिएको छ । वर्षोदेखि स–सानो प्याकेजमा तटबन्ध निर्माण गरिदै आएता पनि अहिले नदीमा आएको बाढीले उक्त तटबन्ध नै भत्काइदिएपछि गाउँमा बाढीको सन्त्रास फैलिएको स्थानीयले बताएका छन् ।

बाणगंगा नदी प्रवाह क्षेत्र अन्र्तगत जिल्लाका बिभिन्न पालिका जोखिममा रहेता पनि यस बर्ष यशोधरा गाँउपालिकाका मात्रै आधा दर्जन गाउँलाई उच्च जोखिममा पारेको छ । यशोधरा गाँउपालिकाको वडा नम्बर ८ खोरियामा बाणगंगा नदीको बाढीले त्यहाँको बाँध भत्काउदै गएपछि ती गाउँहरु उच्च जोखिममा परेका हुन् । नदीको बहाव बस्ती तर्फ सर्दै गएपछि गाउँ नै बगाउने खतरा बढेको स्थानीय बताउँछन् । नदीको बहाव बस्ती तर्फ च्याप्दै गएपछि नदीले गाउँलाई छुन थालेसँगै अहिले खोरियाबासी चिन्तित बनेका छन् । बाँधको पुर्ननिर्माण तत्काल नगरिए दर्जन बढी गाँउमा जनधनको ठुलो क्षति हुने देखिएको छ ।

नदीले बहाव परिवर्तन गर्दै पूर्वतर्फ गएपछि ४० वर्षको अवधिमा दुई हजार बिघा खेतीयोग्य जमिन पनि नदीले कटान गरेको वडाध्यक्ष सहाबुद्धिन मुसलमानले बताए । ‘गाउँका सबै जसोको धेरै÷थारै जमिन नदीले बगाएको छ’ उनले भने । अधिकांस विपन्न परिवार रहेको गाउँमा नदी कटानले खेत बगरमा परिणत भएपछि गाउँलेहरू समस्यामा परेको बताउँछन् ।

बनाईएको तटबन्ध नदीको उच्च बहावलाई भत्काउन थालेपछि गाउँलेहरू त्रसित बनेका छन् । तटबन्ध नरहेको दक्षिणतर्फ नदीले धमाधम कटान गर्न थालेको छ । ‘तटबन्ध नभएको ठाउँमा नदीले कटान गर्दै गाउँतिर धकेल्न थालेको छ’ स्थानीय राम मिलन कोरीले भने ‘चाँडै तटबन्ध पुर्ननिर्माण नगरिए नदी गाउँमा पस्नबाट अब कसैले रोक्न सक्दैन ।’

अहिले बर्षाद्को समयमा खोरिया गाउँ र हर्दौना क्षेत्रका स्थानीयको निन्द्रा नै गायव भएको छ । बर्षादमा परेको पानीका कारण उर्लिएर आएको बाढीले आफ्नो बसोबास नै सखाप पारिदिने डरका कारण उनीहरु रातभरी जाग्नु पर्ने अवस्था छ । यसपटक नदीमा आएको बाढीले खोरिया गाउको पश्चिम दक्षिणमा बनाइएको बांध झत्काई दिएपछि गाउँलेलाई झन् पिरलो थपिएको छ । जब आकाशमा बादल मडारिन थाल्छ, उनीहरुमा डर त्रासले डेरा जमाउँछ, अनि गाउँलेहरु खोला किनारमा आएर बस्ने गर्दछन् ।

सातबर्ष अघि नदी गाउँमा पसेर खोरिया गाउँ नै डुबानमा परेको थियो । बाढीको सतह बढ्दै गएको खण्डमा खोरिया गाउँलाई नै बगाउने ठूलो खतरा रहेको गाउँलेहरू बताउँछन् । त्यस क्षेत्रका अधिकांश स्थानीयबासीहरुको घरबास खोलावारी भएपनि खेतबारी खोला पारी भएकाले समेत नदी कटानले खेतलाई बगर बनाएपछि गाउँलेहरु समस्यामा परेका छन् ।

नदी कटानको समस्याबारे भने कसैले चाँसो नदिएको गाउँलेहरू गुनासो गर्छन् । नेताहरु चुनावका बेला बिभिन्न लोभ देखाउँदै भोट माग्ने गर्छन् तर चुनाव जितिसकेपछि फर्केर नहेर्ने गरेको खोरियाबासीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्