लुम्बिनी प्रदेशसभा बैठक करिब एकमहिना पछि बस्दै

निजामती कर्मचारी विधेयक पारित गर्ने तयारी


पालिका पत्र

२० भाद्र २०८०, बुधबार १३:१७ मा प्रकाशित

भदौ २० । करिब एक महिनापछि लुम्बिनी प्रदेशसभाको आगामी बैठक भदौ २१ गते बिहिबार बस्ने भएको छ। प्रदेशसभाले सूचना जारी गरी आगामी बैठक बिहीबार १२ बजे बस्ने जनाएको हो ।

करिब एक महिनापछि लुम्बिनी प्रदेशसभा बैठक बस्न लागेको हो । दोस्रो अधिवेशनको २४ औँं बैठक बिहीबार मध्याह्न बस्ने सूचना जारी भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

प्रदेश सरकारले आगामी बस्ने प्रदेश सभाको बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’को पारित गर्ने तयारी गरेको छ ।

यसअघि बिधेयकमा दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो । तर, विधेयकमा समेटिएका र संसोधन गर्न सुझाव दिइएका विषयमा भने सहमति जुट्न सकेको छैन।

प्रदेश तहबाटै प्रमुख सचिव अर्थात् १३ औं तहको कर्मचारी नियुक्त गर्ने प्रावधान समेट्न सुझाव प्रदेश मामिला तथा कानुन उपसमितिले दिएको थियो।

तर, यस विषयमा सरकार र उपसमितिको सुझाव बाझिन पुगेको हो। सरकारले प्रस्ताव गरेको विधेयकमा १२ औं तह सम्मको कर्मचारीमात्रै प्रदेशले नियुक्त गर्न सक्ने उल्लेख गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्