लुम्बिनी प्रदेश लोकसेवा आयोगले प्रदेश प्रमुखलाई बुझायो प्रतिवेदन


पालिका पत्र

२७ भाद्र २०८०, बुधबार १३:५० मा प्रकाशित

भदौ २७ । लुम्बिनी प्रदेश लोकसेवा आयोगले आफ्नो चौथो बार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाएको छ। बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश लोकसेवा आयोगका अध्यक्ष प्रा. डिलाराम भट्टराईले प्रदेश प्रमुख अमिक शेरचनलाई प्रतिवेदन बुझाएका हुन् ।

आयोगको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख अमिक शेरचनले आयोगले औल्याएको समस्या समाधानको लागि गम्भिर बन्न
प्रदेश सरकारलाई निर्देशन दिए । प्रदेशले मात्रै ऐन कानुन बनाएर समस्या समाधान नहुने बताउँदै उनले संघीय सरकार पनि त्यसमा गम्भिर हुनुपर्नेमा जोड दिए ।

उनले लुम्बिनी प्रदेशमा प्रहरी ऐन आएपनि संघीय सरकारका कारण कार्यान्वयन हुन नसकेको बताउँदै प्रदेश सरकारले अहिले भर्खरै पारित गरेको निजामति कर्मचारी विद्ययेक पनि कार्यान्वयनमा आईहाल्छ भन्नेमा आशंका व्यक्त गरे । उनले संघीय सरकारको यस्तो गतिबिधिले प्रदेशलाई कमजोर बनाईरहेको उनको भनाइ थियो ।

प्रतिवेदन बुझाउदै प्रदेश लोक सेवा आयोगका अध्यक्ष प्रा. डिलाराम भट्टराईले आयोगले प्रदेश निजामती सेवा ऐन र स्थानीय सरकारी सेवा ऐन समयमै नबन्दा कर्मचारीको नियुक्ति, सरुवा, बढुवा तथा अन्य बृत्ति विकासमा असर परेको, आयोगमा आवश्यक जनशक्ति माग गरी दरवन्दी स्वीकृतिको लागि सरकारलाई अनुरोध गरिएकोमा स्वीकृति नहुदा कर्मचारीको अभावमा कार्यसम्पदानमा समस्या परेको लगायतका समस्या भएको बताए ।

आयोगले प्रदेश र स्थानीय तहका लागि विभिन्न सेवाहरुको गठन र सञ्चालन एवं कर्मचारी व्यवस्थापनका लागि आवश्यक कानुनहरु यथासिघ्र तर्जुमा हुनुपर्ने, आयोगको प्रस्तावित संगठन संरचना तथा दरवन्दी स्वीकृति गरी लागु गर्नुपर्ने लगायतको सरकारलाई सुझाव दिएको छ ।

यसैबीच प्रदेश लोकसेवा आयोगले १ हजार १३८ पदका लागि खुलाएको विज्ञापनमा १ लाख ८० हजार बढीले आवेदन दिएका छन् ।

आयोगले अघिल्लो आर्थिक वर्षमा खुल्ला तर्फ १ हजार १३८ र बढुवा तर्फ ४१५ गरी १ हजार ५५३ पदको लागि ५५ वटा विज्ञापन गरेको थियो । जसको लागि १ लाख ८० हजार १७६ जनाको आवेदन परेको प्रदेश लोकसेवा आयोगले मंगलबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुखलाई बुझाएको चौथो वार्षिक प्रतिवेदन २०७९।०८० मा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष सकिएको दुई महिना भित्र वार्षिक प्रतिवेदन बुझाउनु पर्ने संवैधानिक व्यवस्था अनुसार आयोगले मंगलबार प्रदेश प्रमुख अमिक शेरचनलाई आर्थिक वर्ष २०७९।०८० को प्रतिवेदन बुझाएको हो ।

आयोगले निकालेका ५५ विज्ञापन मध्ये २ वटाको कार्यसम्पादन सकिएर सिफारिस भईसकेको र अरु ३१ वटाको लिखित परीक्षा सकेर अन्तरवार्ताको क्रममा रहेको प्रदेश लोक सेवा आयोगका अध्यक्ष प्रा। डिलाराम भट्टराईले बताए ।

विज्ञापन नं। ५१००१–१ को स्वास्थ्य सेवा तर्फ कविराज पाँचौ तहमा १ जना र विज्ञापन नं। ५१००२–६ को स्वास्थ्य सेवा तर्फ पाँचौ तहको हेल्थ असिस्टिेन्ट १० जना गरी ११ जनालाई प्रदेश निजामती सेवामा सिफारिस गरिएको अध्यक्ष भट्टराईले जानकारी गराए ।

आयोगले अप्राविधिक (सहायकस्तर पाँचौं) २४३, अप्राविधिक (सहायकस्तर चौथो) ११०, प्राविधिक (सहायकस्तर पाँचौं) ५९३ र प्राविधिक (सहायकस्तर चौथो) ६०७ गरी जम्मा १ हजार ५५३ पदको लागि विज्ञापन गरेको थियो । आयोगले सरकारलाई ५ बुदामा समस्या राख्दै ७ बुँदे सुझाव पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्