वन व्यवस्थापनमा मायादेवी साझेदारीको चासो विरुवा रोप्ने देखी झाडि सरसफाईको काम सुरु


पालिका पत्र

४ मंसिर २०८०, सोमबार ०८:३७ मा प्रकाशित

बाणगंगा, मंसिर ०४ । कपिलवस्तुको वाणगङ्गामा रहेको मायादेवी साझेदारी वनमा अहिले प्रशस्त बिरुवा रोपिएको देख्न सकिन्छ । वर्षेनी रूख काटिरहने तर काटिए जति बिरुवा नरोप्ने प्रचलनले वन क्षेत्र मासिदै गैरहेको समयमा मायादेवीमा भने खाली ठाउँमा प्रशस्त बिरुवा रोपिएको हो । त्यति मात्र हैन वनमा अनावश्यक झाडि फाँडेर सरसफाइ समेत गरिएको छ ।

वन जन्य स्रोतको सही सदुपयोग गरेर जिल्लामै नाम कमाउन सफल भएको यस वनले पछिल्लो समय वन व्यवस्थापनको लागि विभिन्न उत्कृष्ट कार्य गर्दै आइरहेको छ । अतिक्रमणका कारण विश्व बाटै सङ्कुचित बन्दै गैरहेको वन क्षेत्रलाई वृद्धि गर्न यस्ता कार्य गर्दै आइरहेको वनका अध्यक्ष दिनेश जयसवालले बताए।

 उनले आफू अध्यक्ष भएर आएदेखि वनलाई व्यवस्थित बनाउन आफू र सिङ्गो टिम लगातार खटिरहेको बताए । अध्यक्ष जयसवालले भने, “हाम्रो वनमा साधन स्रोत प्रशस्त छ, यसको सही सदुपयोग गर्नेमा हामी सचेत छौँ । वनको सही व्यवस्थापन गर्न हामिले अहिले वृक्षरोपण र झाडि सरसफाइ लाई तिव्र रुपमा अगाडि बढाई रहेका छौँ ।”

अहिले वनमा साल, सिसौ, खयर, अमला लगायत विभिन्न प्रकारका काठ र फलफूल जन्य बिरुवाहरू समेत लगाएको उहाँले बताए । लगाएका बिरुवाको संरक्षण र संवर्द्धन गर्न पनि आफूहरूले विभिन्न योजनाका साथ काम गरिरहेको बताए ।

जिल्लाको बाणगङ्गा नगरपालिका सहित कपिलवस्तु, शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकाका विभिन्न क्षेत्र भित्र फैलिएको यस वनले विभिन्न समयमा हुँदै आएको अतिक्रमणलाई समेत हटाउँदै गैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्