साहसी खेल प्रेमीका लागि कपिलवस्तुको बाणगंगामा खुल्यो ‘स्केट पार्क’ 


पालिका पत्र

४ मंसिर २०८०, सोमबार १३:०४ मा प्रकाशित


मंसिर, ०४ ।
कपिलवस्तुमै पहिलो पटक ‘स्केट पार्क’ सञ्चालनमा आएको छ । जिल्लाको बाणगङ्गा नगरपालिका ४ दरखास्तमा ’स्केट पार्क’ सञ्चालनमा आएको हो । दुईजना ट्रेनर सँगै सुरक्षाका लागि हेलमेट, सेफ्टी गार्ड, नि गार्ड लगायतका सामग्री सहित सञ्चालन गरिएको छ ।


करिब २५ लाख रुपैयाँको लगानीमा साहसी खेल प्रेमीका लागि लक्षित गर्दै ’स्केट पार्क’ सञ्चालनमा ल्याएको सञ्चालक केशव पाण्डेले बताए । उनले पछिल्लो समय स्केटिङमा किशोरकिशोरी तथा युवायुवतीको आकर्षण बढ्दो रहेको र सोहीलाई मध्यनजर गर्दै स्केट पार्क सञ्चालनमा ल्याएको बताए ।


रूपन्देहीको सैनामैन नगरपालिका ४ स्थायी घर भएका युवा व्यवसायी पाण्डेले कपिलवस्तुका विभिन्न स्थानबाट दैनिक दर्जनौँ किशोरकिशोरी तथा युवायुवती आउने गरेको बताए । प्रारम्भिक चरणमै स्केट पार्कमा दैनिक एक सय जना बढी आउने गरेको उनको भनाई छ । 


 २८ वर्षीय युवा व्यवसायी पाण्डेले उक्त पार्कमा ६ जनालाई रोजगारी समेत दिएका छन् । अब स्केट पार्क नियमित खेल र अभ्यासका लागि खुल्ला हुनेछ । स्केटिङ गर्न प्रतिघण्टा २०० रुपैयाँ लाग्ने छ भने थप गर्न १०० रुपैयाँ लाग्ने छ । खेलमा सहभागि हुनका लागि ८ वर्ष भन्दा तलका बालबालिकालाई अभिभावक साथमा आउनुपर्ने हुन्छ । त्यस्तै ८ वर्ष भन्दा माथिका सबैले आफ्नो सुरक्षाको आफै ख्याल गर्दै खेलमा सहभागि हुन पाउने बताईएको छ । 

प्रतिक्रिया दिनुहोस्