रिब्दीकोटमा पहिलो पटक सुन्तला महोत्सव हुने


पालिका पत्र

६ मंसिर २०८०, बुधबार १२:३५ मा प्रकाशित

तानसेन, मङ्सिर ६ गते । सुन्तलाको बजार प्रवर्द्धन गर्न पाल्पा जिल्लामा पहिलो पटक सुन्तला महोत्सव हुने भएको छ । जिल्लाको पश्चिम भेगस्थित रिव्दीकोटमा पहिलो पटक सुन्तला महोत्सव हुन लागेको हो ।

आगामी मङ्सिर १६ गते रिव्दीकोटको पालुङ्मैनादीमा पहिलो पटक सुन्तला महोत्सव हुने रिव्दीकोट–७, का वडाअध्यक्ष दानबहादुर कुँवरले जानकारी दिए । सुन्तला अत्यधिक उत्पादन हुने क्षेत्रमा महोत्सव गर्न लागिएको उहाँले जानकारी दिए । सुन्तलाको बजार प्रवद्र्धन गर्न र सुन्तला उत्पादन गर्ने किसानलाई हौसला प्रदान गर्न महोत्सव हुन लागेको पालिकाले जनाएको छ ।

पाल्पाको रिव्दीकोट र रैनादेवी छहरा गाउँपालिका अत्यधिक सुन्तला उत्पादन हुने क्षेत्र हो । यहाँका अधिकांश किसानले सुन्तला उत्पादनबाट वार्षिक एक लाखदेखि २० लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको मैनादी कृषि सहकारीका अध्यक्ष वेनबहादुर पुनले बताए। सुन्तला पाकेर हरेक किसानको सुन्तला बगैँचा यतिबेला पहेँलपुर बनेको उनले बताए।

यो वर्ष किसानले बोटबाटै ६५ देखि ७० रुपियाँ प्रतिकिलो सुन्तला बिक्री गरिरहेका छन् । बजारसम्म पु¥याए प्रतिकिलो एक सय रुपियाँ माथि पर्ने गरेको छ । पाल्पामा उत्पादन भएको सुन्तला भैरहवा, पोखरा, बुटवल, पाल्पा, काठमाडौं र जनकपुरसमेत निर्यात हुने गरेको छ ।

४४ वर्षअघि यस क्षेत्रमा सुन्तला खेती सुरु भएको थियो । त्यसपछि बिस्तारै यस भेगका हरेक घरका किसानले सुन्तलाको व्यावसायिक खेती सुरु गरेको रिव्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए । पछिल्लो समय अन्य खेती छाडेर पनि सुन्तला खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको उनले बताए ।

गत वर्ष पालुङ्मैनादीबाट मात्रै एक करोड ८० लाखको सुन्तला निर्यात भएको थियो भने यो वर्ष दुई करोड बढीको सुन्तला बाहिरी जिल्लामा निर्यात हुने अनुमान गरिएको छ । सुन्तला खेतीले उत्साहित यहाँका किसानलाई लुम्विनी प्रदेश सरकार र स्थानीय सरकारले बिउ, मल, बिरुवा, प्राविधिक तथा बजारीकरणमा सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्