दोश्रो बुद्धभूमि महोत्सवमा आज बद्री पंगेनीको मार्मिक प्रस्तुति रहने


पालिका पत्र

२१ मंसिर २०८०, बिहीबार ०७:४७ मा प्रकाशित

बुद्धभूमि, मंसिर २१ । बुद्धभूमि नगरपालिकाको वडा नम्बर २ गोरुसिंगेका जारी दोश्रो बुद्धभूमि महोत्सव तथा कृषि र पर्यटन प्रदर्शनीमा आज चर्चित राष्ट्रिय तथा दोहोरी गायक बद्री पंगेनी आउने भएका छन् ।

होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुले मंसिर १४ गतेदेखि सुरु गरेको महोत्सवको आठौँ दिन बद्री लगायतका कलाकारको प्रस्तुति रहने आयोजकले जनाएका छन् । साँझ करिब ५ बजेतिर मञ्च चढ्ने पङ्गेनीले करिब डेढ घण्टा मार्मिक प्रस्तुति दिने बताइएको छ । युवा युवती वृद्धवृद्धा, बालबालिका सबैले रुचाउने कलाकारको रुपमा पंगेनी चर्चामा छन् । उनका धेरै चर्चित गीतहरू छन् ।
यसकारण पनि आज थामी नसक्नु दर्शक हुने अनुमान गरिएको मेलामा मिडिया संयोजक जानु पाण्डेले बताए । साथमा आज सम्झना भण्डारी र शिव खनालको पनि प्रस्तुति रहने उनको भनाई छ ।

हिजो बुधवार रमेशराज भट्टराई लगायतका कलाकारले नचाएका थिए । महोत्सवमा अहिले दिनप्रतिदिन दर्शकहरूको संख्या बढ्ने क्रम जारी छ । कलाकारको प्रस्तुतिसँगै महोत्सवमा राखिएका स्थानीय कला, संस्कृति, स्थानीय कृषि उत्पादनका वस्तु र स्थानीय परिकारका कारण दर्शकको भीड बढेको संघका अध्यक्ष तथा महोत्सवका संयोजक लेखनाथ घर्ती र महासचिव पदम ढकालको दावी छ । महोत्सव हेर्न छिमेकी जिल्लाबाट पनि दर्शकहरू आएका उनीहरूले बताए ।

महोत्सवमा स्थानीय थारू जातिको संस्कृति, पहिचान् र खानपान विशेष रुपमा देख्न पाइन्छ । थारू जातिको आफ्नै संस्कृति झल्कने खालको चिटिक्कका घर पनि बनाईएको छ । त्यसभित्र र बाहिर थारू जातिका बिभिन्न पहिचान देख्न पाइन्छ भने खानेकुरा पनि खान पाइन्छ । बुद्धभूमिमै उत्पादन भएका कृषि बाली, ग्लोबल डेरीका उत्पादन लगायतलाई पनि दर्शकले मन पराएका आयोजक बताउँछ । यस्तै रोटे पीङ, बाल उद्यान, डान्स आइडल लगायतका गतिविधि पनि महोत्सवका सहायक आकर्षणका रुपमा देखिन्छन् ।

करिब ७० हजार दर्शकले मेला भर्ने र १ करोड बराबरको आर्थिक आम्दानी हुने आयोजकको लक्ष्य छ । महोत्सव मंसिर २४ गते सकिने छ । बुद्धभूमि नगरपालिका, बुद्धभूमि उद्योग वाणिज्य संघ, बुद्धभूमि व्यापार संघले सहयोग गरेको महोत्सवमा ग्लोबल डेरी प्रालि मुख्य प्रायोजक छ ।

प्रतिक्रिया दिनुहोस्