प्रियांसाले जितिन् तेस्रो प्राचीन कपिलवस्तु डान्स आइडलको उपाधि


पालिका पत्र

९ बैशाख २०८१, आईतवार १७:२३ मा प्रकाशित

बैशाख ९ गते । कपिलवस्तुको सदरमुकाम तौलिहवामा सञ्चालित तेस्रो प्राचीन कपिलवस्तु डान्स आइडल प्रतियोगिताको उपाधि प्रियांसा श्रेष्ठले जितेकी छन् । तौलिहवा उद्योग बाणिज्य संघ कपिलवस्तुको आयोजनामा चैत्र २७ गतेदेखि सञ्चालित प्रतियोगिताको फाइनलमा शनिबार पाँच जनाबीच उपाधिको प्रतिष्पर्धा भएको थियो ।

फाइनलमा अन्य चार प्रतिष्पर्धीलाई पछि पार्दै श्रेष्ठले उपाधि जितेकी हुन् । उपााधिसंगै उनले ३० हजार रुपैयां नगद पुरस्कार र विभिन्न उपहार पाएकी छन् । यस्तै तेस्रो प्राचीन कपिलवस्तु डान्स आइडलमा अजय र सुस्माको जोडि दोस्रो भएका छन् । उनीहरुले नगद २० हजार प्राप्त गरेका छन् । दुर्गेश बिश्वशान्ती तेस्रो हुंदै १० हजार नगद पुरस्कार पाए । माहि मल्लाहले सान्त्वना स्थानमा चित्त बुझाउन बाध्य भईन् ।

प्रतियोगितामा २५ जनाले भाग लिएका थिए । जसमध्ये अडिसनबाट १२ जना छनोट भए र ती मध्ये १० जना भोटिङ राउण्डमा आएका थिए । १० जना मध्ये निर्णायकको मूल्यांकन ३० अंक र दर्शकले दिने भोटको ७० अंकका आधारमा हरेक दिन एक–एक जना प्रतियोगी बाहिरिंदै जांदा अन्तिम पाँचजना बीच उपाधि भिडन्त भएको हो ।

विजयी प्रतियोगीहरुलाई संविधान सभा सदस्य तथा पूर्वमन्त्री दान बहादुर चौधरी, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, महोत्सव संयोजक गयादीन कुर्मी (दिपु), सहसंयोजक सन्दीप श्रीवास्तव, डान्स आइडल संयोजक सुमन पौडेल लगायतले पुरस्कार प्रदान गर्दै नृत्य प्रतिभाहरुको कला प्रष्फुटन गर्ने प्लेटफर्म दिन डान्स आइडल प्रतियोगितालाई निरन्तरता दिइएको बताए ।

डान्स आइडलको प्रथम पुरस्कारको मुख्य प्रायोजकका रुपमा रोयल रेष्टुरेन्ट तौलिहवा रहेको थियो । यस्तै दोस्रो पुरस्कार बाबा छापाखाना तौलिहवा, तेस्रो पुरस्कार हथौसा लिटिल स्टार बोर्डिङ्ग ओदारी रहेका थिए । आइडलको प्रायोजकका रुपमा सनसाइन इग्लिस बोर्डिङ्ग स्कुल तौलिहवा, सहप्रायोजकका रुपमा वेष्ट पोइन्ट इग्लिस बोर्डिङ्ग स्कुल तौलिहवा, बुद्ध ज्योती इग्लिस बोर्डिङ्ग स्कुल तौलिहवा, गोल्डेन बुद्ध होटल, अरोमा होटल तथा क्याफे, दिल्ली दरवार रेष्टुरेन्ट, मख्खन स्वीट्स हाउस, कृषांग डेन्टल क्लिनिक, शुभ डेन्टल केयर, शाक्षी पोलि क्लिनिक, बालाजी स्टेशनरी, शिया आर्टस् एण्ड क्राफ्ट, अजित सुनचाँदी पसल रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्