प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वमा शिवराज उत्कृष्ट, मायादेवी कमजोर


पालिका पत्र

२८ मंसिर २०८०, बिहीबार ०८:२८ मा प्रकाशित

मंसिर २८ गते । प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वमा जिल्लाको शिवराज उत्कृष्ट रहेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले तौलिहवामा आयोजना गरेको जिल्ला स्तरीय प्रजनन स्वास्थ्य बैठकमा उक्त कुरा बताइएको हो ।

प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वमा मायादेवी गाउँपालिका भने कमजोर अवस्थामा रहेको समेत जनाइएको छ । यसैबीच, कपिलवस्तुमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यको संयोजकत्वमा जिल्ला स्तरीय प्रजनन स्वास्थ्य समिति गठन गरिएको छ ।

समितिको सदस्यहरुमा कपिलवस्तु अस्पतालका मेसु बिपिन जैसवाल, रेडक्रसका मन्त्री सन्तोष श्रीवास्तव, कपिलवस्तु नगरपालिका वडा नम्बर २ का अध्यक्ष अशोक गुप्ता, शान्ति भन्डारी, सरोजा अधिकारी तथा सदस्य सचिवमा स्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरी रहेका छन् ।

प्रजनन स्वास्थ्य क्षेत्रमा काम गर्ने ६ जना गैर सरकारी संस्थाका प्रतिनिधि आमन्त्रित सदस्य छन् । छलफलमा पुर्ण संस्थागत सुत्केरी प्रोत्साहन र सुनिश्तिताका लागि नियमित अनुगमन गर्ने र वडा स्तरीय समिति गठनका लागि पहल गर्ने निर्णय गरिएको छ ।

माघ महिनामा संचालन हुने परिवार नियोजन शिबिरमा संस्थाहरुले सहयोग र समन्वय गर्ने, सुरक्षित गर्भपतन सेवाको पालिकाले नियमित अनुगमन गर्ने र निर्देशिका बिपरित गर्भपतन गर्नेलाई कानुन अनुसार कारबाही प्रकृया अघि बढाउने निर्णय भएको पहेनी शान्ति भण्डारीले बताइन् ।

प्रजनन स्वास्थ्यको काम गर्ने गैर सरकारी संस्थाले आफ्नो प्रतिबेदन समितिमा प्रस्तुत गर्नु पर्ने र समितिको आगामी बैठक आउने फागुनको दोश्रो साता गर्ने निर्णय गरिएको छ ।

बैठकमा पहेनी भन्डारीले यौन तथा प्रजजन स्वास्थ्यको प्रदेश र जिल्लाको अवस्थाबारे प्रस्तुत गरिन् । प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वमा शिवराज नगरपालिका जिल्लाकै उत्कृष्ठ रहेको र मायादेबी गाउँपालिका सबैभन्दा कमजोर रहेको भन्डारीले बताइन् ।

सो अवसरमा समन्वय प्रमुख आचार्यले प्रजनन स्वास्थ्यमा कपिलवस्तु कमजोर रहेकोले सेवा सुबिधालाई बिस्तार गर्दे लैजानु पर्ने बताए । सो अवसरमा स्वास्थ्य कार्यालयका प्रमुख नारायण चौधरीले प्रजनन स्वास्थ्यलाई घर दैलो सम्म पुर्याई प्रभावकारी सेवा दिनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्