अर्घाखाँची, पौष ०६ । अर्घाखाँचीको शितगंगा नगरपालिकाले किसानलाई उत्पादनका आधारमा यस वर्ष एक करोड रुपैयाँ अनुदान वितरण गर्ने भएको छ ।
किसानले उत्पादन आधारमा अनुदान रकम पाउन सकून् र कागजकै भरमा अनुदान लिने परिपाटी बन्द होस् भनेर अनुदान वितरण गर्न लागेको नगरपालिकाले जनाएको छ । आफूले उत्पादन गरेको दूध, मासु, तरकारी तथा फलफूलमा अनुदान पाउने भएपछि किसान खुशी भएका छन् ।
किसानले उत्पादन गरेको दूधमा प्रतिलिटर दुई रुपैयाँ, मासुमा प्रतिकिलो ५० रुपैयाँ अनुदान दिने नगरपालिकाका मेयर छविलाल पौडेलले बताउनुभयो । यस्तै तरकारी ,केरा, बेसारमा प्रतिरोपनी पाँच हजार तथा कागती, एभोकाडो, कफी, किबी लगायतका बिरुवामा प्रतिबिरुवा एक सय रुपैयाँ अनुदान दिने मेयर पौडेलको भनाइ छ ।
उत्पादनमा आधारित अनुदानका लागि एक करोड ३० लाख रुपैयाँ बराबरको सिफारिस नगरपालिकामा आएको छ । नगरपालिकाले कृषि सहकारीको र वडाको सिफारिसमा उत्पादनमा आधारित अनुदान रकम वितरण गर्ने गर्दछ ।
अघिल्ला वर्षहरूमा सहकारीमार्फत रकम दिने गरिएकोमा सहकारीले फर्जी सिफारिस गरेको भन्दै विरोध भएपछि अहिले नगरपालिकाले किसानको खातामा रकम जम्मा गरिदिने भएको छ ।
अनुदानका लागि नगरपालिकाले अहिले वडा र सहकारीको सिफारिसका आधारमा अनुगमन पनि शुरु गरेको छ । अनुगमनका क्रममा सहकारीले सिफारिस गरेका किसानको उत्पादन विवरणअनुसार नभएको पाइएको अनुगमनमा सहभागी नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालको भनाइ छ ।
नगरपालिकाले बिरुवाका आधारमा अनुदान दिने भएपछि बिरुवा लगाएर छाडेर पनि केहीले अनुदान लिने गरेको भेटिएको छ । लगातार चार वर्षसम्म एकै खेतीको बेसारबाट अनुदान लिएको पनि भेटिएको छ । शितगंगा नगरपालिकाकी उपमेयर गीता भाट नेतृत्वको टोलीले वडा नम्बर ९ मा गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो । उमपेयर भाटले किसानलाई उत्पादनमा जोड गरी आम्दानी बढाउन अनुरोध गर्दै उत्पादन भएका कृषि उपज बजारसम्म पुर्याउन कृषि सङ्कलन केन्द्र सञ्चालन हुन लागेको बताउनुभयो ।
अनुगमन टोलीमा उपमेयर भाटसहित नगरपालिकाको आर्थिक समितिका संयोजक बोमबहादुर विक,पशु शाखा प्रमुख गणेश थापा, योजना शाखा प्रमुख नुमलाल खनाल, प्राविधिक नारायण पाण्डे लगायतको सहभागिता थियो ।