दलित सामाजिक विकास केन्द्रद्धारा संचालित ‘हाम्रो शक्ति परियोजना’को अनुगमन


पालिका पत्र

८ पुष २०८०, आईतवार १५:२९ मा प्रकाशित

पुष ८ गते । दलित सामाजिक विकास केन्द्रको अगुवाईमा कपिलवस्तु नगरपालिकाका ३ वटा वडामा संचालित हाम्रो शक्ति परियोजना कार्यक्रमको अनुगमन गरिएको छ । कपिलवस्तु नगरपालिकाका जनप्रतिनिधी र प्रशासकको अगुवाईमा परियोजना अन्र्तगत संचालित ३ वटा वडामा संचालनमा रहेका बिभिन्न समुहको अनुगमन गरिएको हो ।

आईएम स्वीडिस डेभलपमेन्ट पार्टनरको आर्थिक सहयोग र दलित सामाजिक बिकास केन्द्र, कपिलवस्तुको आयोजनामा संचालित हाम्रो शक्ति परियोजना जिल्लाको कपिलवस्तु नगरपालिकाका वडा नम्बर ४, ५ र १२ मा संचालित रहेको बताइएको छ ।

मुख्यतः गरिब, दलित र महिलाहरुले आफ्नो अधिकारको प्रयोग र मर्यादित जिवनयापन गरी समतामुलक वातावरणको बिकास हुने लक्ष्यका साथ परियोजना संचालन गरिएको केन्द्रका निर्देशक रामशरण रैदासले बताए ।

दलित, गरिब, सिमान्तकृत, महिला, किशोरकिशोरीहरुले दलित र सिमान्तकृत समुदायका महिला, युवा र अपाङ्गता भएका ब्यक्तिहरुलाई जातिय बिभेद, लैंगिक हिंसा, बाल बिबाह जस्ता हानिकारक सामाजिक मूल्य मान्यताहरुलाई रुपान्तरण गर्ने र सार्बजनिक सेवा र अवसरहरुमा पहुँचका साथै निर्णय प्रक्रियामा अर्थपूर्ण सक्रिय सहभागिताको लागि आफ्नो अधिकारको दाबि गर्न सशक्त गराउने उद्देश्य परियोजनाको रहेको कार्यक्रम संयोजक अमिता गौडले बताईन् ।

तीनवटा वडा अन्र्तगत लौसा, दलदलाहा र अकबरपुरमा संचालित परियोजनाको अनुगमन गर्दै कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालले कार्यक्रमले समाज रुपान्तरणमा सघाउ पुगेको बताए । शसक्त रुपमा पछाडि पारिएको समुदायको उत्थान र हितका लागि परियोजना र केन्द्रले महत्वपूर्ण कार्य गरेकोप्रति उनले प्रसंशा समेत गरे ।

नगरपालिकाका सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठले गाउँसमाजमा मुख्यरुपमा बालश्रमको प्रयोगको अवस्था, बालबिवाहको पछिल्लो गतिविधिका बारेमा चाँसो राख्दै यस्ता कृयाकलाप नियन्त्रणका लागि मुख्यतः आमाहरु सचेत हुनुपर्नेमा जोड दिए । बालिकालाई उचित शिक्षाको ब्यवस्था गरेमा मात्रै समाजमा रहेको दाइजो प्रथाको अवस्थामा सुधार हुँदै जाने समेत उनले बताए ।

कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश प्रसाद गुप्ताले समुदायमा बनाइएका लक्षित समुहले पोषण, सुरक्षित प्रसुतिसेवा र खोपको नियमितताका लागि सबै जागरुक हुनुपर्नेमा जोड दिए । स्वास्थ्य बिमा, औषधोपचार लगायत अस्पतालमै प्रसुति सेवा लिन आग्रह गर्दै पूर्ण सरसफाईमा महिला तथा किशोरकिशोरीहरुले ध्यान दिनुपर्ने समेत बताए ।

३ वडाका कुल ३१ समुह मार्फत कार्यक्रम संचालन गरिएको सामुदायिक सहजकर्ता राधा चौधरी थारुले बताइन् । वडा नम्बर ५ मा मात्रै चारवटा समुह गठन गरि बालबिवाह, समुह गठनको उपयुक्तता, प्रभावकारिता, चेतना स्तर, सरसफाई, आनीबानीमा परिवर्तन तथा छुवाछुत नियन्त्रण लगायतका बिषयमा छलफल, अन्र्तक्रिया र कार्यक्रमहरु संचालन गरिएको थारुले बताइन् ।

अनुगमन टोलीले नगरपालिका वडा नम्बर ५ दलदलाहाका एकता आत्मनिर्भर समुह, प्रगति आत्मनिर्भर समुह, लुम्बिनी किशोरी समुह, वडा नम्बर ४ लौसा पिपरी आरती किशोरी समुह, आत्मनिर्भर समुहका सदस्यसंग अन्तरक्रिया र छलफल गरेको थियो ।
परियोजनाबाट आफुहरुले धैरै कुरा सिक्ने मौका पाएको समुहका सदस्यहरुले बताएका छन् । उनीहरुले आफुहरुलाई वडा र नगरपालिकाले समेत सहयोग र साथ दिनु पर्ने माग गरेका थिए ।

अनुमगन टोलीमा वडा नम्बर ४ का अध्यक्ष रबिन्द्र तिवारी, ५ का अध्यक्ष दिरेप चौधरी, १२ का अध्यक्ष ईन्सान अली धुनिया, गैसस महासंघका अध्यक्ष जय प्रकाश पाण्डेय, नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख उमेश प्रसाद गुप्ता, वडा सचिव सविता ज्ञवाली लगायतको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्