ब्यापारीलाई सिमानाकामा आईपर्ने समस्या समाधान गर्नमा लाग्छु : प्रजिअ अर्याल


पालिका पत्र

९ पुष २०८०, सोमबार २०:०५ मा प्रकाशित

पुष ९ गते । कपिलवस्तुका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले सिमानाकामा आईपर्ने समस्या समाधान गर्नमा लागिपर्ने बताउनुभएको छ । कपिलवस्तु जिल्ला खुला सिमानाका भएको जिल्ला रहेकोले सिमानामा आईपर्ने समस्या समाधान गर्नमा आफु चरणबद्ध रुपमा काम गर्ने बताउनुभएको हो । तौलिहवा उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाले जिल्लाको समग्र शान्ति सुरक्षाको लागि आफु गम्भिर रहेको समेत बताउनुभएको छ । सिमा सुरक्षा देखि हरेक तवरबाट संवेदनशील रहेको जिल्लामा आफुले प्रजिअको भुमिका पाएको भन्दै यसलाई गम्भिरताका साथ लिएको बताउनुभयो ।

त्यस्तै संघका अध्यक्ष गयादिन कुर्मी दिपुले संघले गरेका कामहरुको चर्चा गर्दै संघको बारेमा प्रमुख जिल्ला अधिकारी समक्ष जानकारी दिनुभएको थियो । उहाँले समग्र जिल्लाको विकासको लागि निजि क्षेत्रका उद्योगि व्यवसायीहरु सरकार सङ्ग सहकार्य गर्न तयार रहेकोले त्यस्तो वातावरण सिर्जना गरिदिन आग्रह गर्नुभयो ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष संदिप कुमार श्रीवास्तवले सीमानाकामा भइरहेको अवैध चोरी तस्करी र भन्सार छलीका समाग्रीहरु जिल्लामा भित्रिरहदा सदरमुकाम तौलिहवा लगायत सीमा नजिक रहेका बजारहरुका व्यापारीले व्यापारमा ठुलो क्षति बेहोर्नु परिरहेको बताउदै भन्सार छलीका समाग्री नियन्त्रण गर्न आग्रह समेत गर्नुभयो ।

यस्तै, तौलिहवा उद्योग वाणिज्य संघको कार्यसमितिमा भएको निर्णय अनुसार २ जनालाई सदस्य पदमा मनोनित गरिएको छ । कपिलबस्तु नगरपालिका– ३ मा अवस्थित होटल शक्ति इन्टरनेशनल प्रा.लि.का संचालक शक्ति कार्की र मायादेवी गाउपालिका–१ मा रहेको न्यू देउराली हार्डवेयर फर्मका प्रोप्राइटर धीरज कुमार चौधरीलाई कार्यसमितिको सदस्य पदमा मनोनित गरिएको संघका महासचिव देवेश जयसवालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्