कपिलवस्तुको सगरहवामा बन्दैछन् इतिहास झल्किने मूर्ति, पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने  


पालिका पत्र

२२ पुष २०८०, आईतवार २३:१० मा प्रकाशित


पौष २२ । 
कपिलवस्तु नगरपालिका– ९ सगरहवामा ऐतिहासिक महत्वलाई उजागर गर्ने ढुङ्गाका मूर्ति बन्ने भएका छन् । सगरहवामा हुन लागेको १५ दिने राष्ट्रिय मूर्तिकला कार्यशालाले ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वलाई उजागर गर्ने खालका मूर्ति निर्माण गर्ने भएका हुन् । पौष २३ गतेबाट सुरु भई माघ ८ गते समापन हुने उक्त कार्यशालाबारे आइतबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।


कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले लुम्बिनी, तिलौराकोट, सगरहवा लगायतका क्षेत्रको प्रवर्द्धन र विकासमा बाटो नरोक्न पुरातत्व विभागलाई आग्रह गरेका छन् । उनले वर्षौँसम्म पुरातत्व भन्दै बस्नु परेको र त्यताबाट पार नलाग्ने देखिएको बताए । पन्थीले स्थानीयको सहयोगमा सगरहवाको संरक्षण गर्न सफल भएको बताए । उनले भने “अब यस क्षेत्रको विकासमा तिनै तहका सरकार गम्भिर हुन आवश्यक छ ।, प्रदेश सरकारले पर्यटन क्षेत्रमा गरेका सबै काम अपुरै छन्, आफै प्रदेश सदस्य हुँ कसलाई भन्ने, सरकार पक्षले टर्दैन ।” सांसद पन्थीले यद्यपि आफ्नो अथक प्रयास रहेको बताउँदै सगरहवामा विभिन्न पार्कहरू निर्माण गर्न लागेको बताए । यस्ता विकासशील काममा सम्पूर्ण पक्षले सकारात्मक सहयोग पुर्याउन उनले आग्रह गरे


मूर्तिकला कार्यशालाको बारेमा जानकारी दिदै लुम्बिनी विकास कोसका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धीचरण) ले प्राचीन कपिलवस्तु राज्यका शाक्यहरुको सामूहिक बध गरिएको सगरहवाको प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यशाला गर्न लागेको बताए । उनका अनुसार उनीहरूले सगरहवाको ऐतिहासिकता माथि १५ वटा छुट्टाछुट्टै प्रस्तरकला निर्माण गर्ने छन् । ’मूर्तिकारहरुले भगवान बुद्ध महापरिनिर्वाण नहुँदै कपिलवस्तु राज्यमाथि कोशल नरेश बिट्ठमले गरेको दर्दनाक आक्रमण, बुद्धको शान्ति प्रयास र शाक्यहरुको पितृ स्थलको महत्व झल्काउने गरी प्रस्तरमा आकार दिनेछन्,’ उनले भने । सरगरहवाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वलाई उजागर गर्ने र यस क्षेत्रको संरक्षण तथा पर्यटकीय विकास गर्ने उद्देश्यले लुम्बिनी विकास कोषको अगुवाइमा कार्यशाला गरी एक रमणीय सगरहवा उद्यान निर्माण गर्ने योजना रहेको उनले सुनाए ।


त्यस्तै लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी विकास कोषले लुम्बिनी पछि कपिलवस्तुलाई विशेष प्राथमिकता दिएर काम गरेको बताए । तिलौराकोटलाई विश्व सम्पदा सुचीमा सूचिकृत गर्ने प्रक्रिया करिब अन्तिम चरणमा पुगेको र सन २०२५ सम्ममा सूचिकृत गरिने पनि उनले जानकारी दिए ।  लुम्बिनी, तिलौराकोट, सगरहवा, कुदान लगायत बौद्ध सँग सम्बन्धित क्षेत्रको विकास गर्नका लागि संघ सरकार मात्र नभएर प्रदेश र स्थानीय सरकारपनि जिम्मेवार बन्नु पर्ने उनको भनाई छ । 


त्यस्तै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले देशभरका ख्याति प्राप्त १५ जना मूर्तिकारहरु र सहयोगी मूर्तिकारहरु गरि ३० जना मूर्तिकारहरु सहभागि हुने उनले बताए । कार्यशालाले दबिएको सगरहवाको इतिहासलाई मूर्ति मार्फत उजागर गरी पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । 
१५ दिने कार्यशालाको सोमबार लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले उद्घाटन गर्ने जनाईएको छ । गत वर्ष लुम्बिनी विकास कोषले समग्र बृहत्तर लुम्बिनीको विकासमा स्थानीय, लगायत सरोकारवालाको साझेदारीमा गर्ने नीति अगाडि सार्दै कपिलवस्तु मूर्ति कार्यशाला गर्ने निर्णय गरेको थियो । गत वर्ष विविध कारणले स्थगित यो कार्यक्रमलाई कोषले प्राथमिकताका साथ राखेपछि यस वर्ष सुरु हुन लागेको हो ।


सगरहवामा शाक्य गणराज्यको उत्थान र पतन सँग गाँसिएको ऐतिहासिक तथ्य, बौद्ध साहित्यमा उल्लेख छ । सगरहवा ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं पर्यटकीय स्थल हो । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट ९ किलोमिटर र तिलौराकोटवाट ६ किलोमिटर, उत्तरमा रहेको छ भने पूर्व पश्चिम राजमार्गको बनगाई बाट ७ किलोमिटर तथा नेपालको दोस्रो पक्षी आरक्ष जगदिशपुर तालको दक्षिण तर्फ अवस्थित छ । सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरूको सम्पन्न निर्माण गरेको चीनियायात्री हुयन् साङ्टी सन् ६३६ को यात्रा बृतान्तमा उल्लेख गरिएको पाइन्छ । सन् १८९७ मा डा. फुरारद्वारा गरिएको उत्खनन् तथाअन्वैषणमा शाक्य सेनाहरुको सम्झनामा १७ वटा निर्माण गरिएका ठूलो वर्गाकार स्तुपहरु र धेरै संख्यामा साना स्तुप भेटिएको थियो । स्तुपभित्र हट्ठी, सुन, चाँदी, क्रिस्टल तथा रुबी जस्ता सामाग्री प्राप्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्