‘आर्थिकस्तर उकास्न सके मात्र सहकारीको सार्थकता’


पालिका पत्र

२७ पुष २०८०, शुक्रबार ०९:२९ मा प्रकाशित

रचना खासु मगर, पुष २७ गते । महिला सशक्तिकरणसँगै शेयर सदस्यहरुको आर्थिकस्तर माथि उकास्न सके मात्र सहकारीले सार्थक रुप प्राप्त गर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । सगरमाथा महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड कपिलवस्तुको २६ औं बार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् ।

साधारण सभाको प्रमुख अतिथिको आसनबाट बोल्दै कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले सहकारीहरुलाई उत्पादनसँग जोड्न सके शेयर सदस्यहरुको भविष्य सुनिश्चित हुने उल्लेख गरे । उनले भने, ‘केवल ऋण प्रवाह र बचतले मात्रै पुग्दैन । सहकारीहरुलाई उत्पादनसँग जोड्न सके मात्र शेयर सदस्यहरुको जीवनस्तरमा दिगो सुधार आउन सक्छ ।’ नगर भित्रका सहकारीहरुलाई व्यवस्थित बनाउन नगरपालिका लागि रहेको उनले बताए ।

कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले सहकारीमा बचतकर्ताले गरेको रकमलाई सहि रुपमा परिचालन गर्न आग्रह गरे । गैरेले आर्थिक विकासका लागि सहकारीहरुको भूमिका महत्वपूर्ण हुने समेत बताए । ऋण लिएपछि समयसिमा भित्रै चुक्ता गरेमा सहकारी चलायमान रहनेमा जोड दिदै सगरमाथा महिला बिकास बचत तथा ऋण सहकारीले आफ्नो उदेश्य अनुरुप कामलाई तिब्रता दिन आग्रह समेत गरे ।

कपिलवस्तु नगरपालिकाका पुर्व सामाजिक बिकास सल्लाहाकार सुरेन्द्रराज लम्सालले स्थानीय पूँजीको संकलन गरी स्थानीयस्तरमा लगानी गर्ने एउटा माध्यम सहकारी भएको बताए । कार्यक्रममा संस्थाका ब्यवस्थापक लक्ष्मी पराजुलीले संस्थाको आर्थिक एवम् वार्षिक प्रतिवेदन प्रस्तुत गरिन् । कार्यक्रम संस्थाका अध्यक्ष सुस्मा गुरागाईको अध्यक्षता, सदस्य गीता त्रिपाठीको स्वागत, र पुष्पा रेग्मीको सञ्चालनमा भएको थियो ।

एकहजार १५० जना शेयर सदस्य रहेको सहकारीमा २७ वटा समिती र २१७ वटा समुह आवद्ध रहेका छन् । प्रतिशेयर लाभांश २२ रुपैया रहेको सहकारीको शेयर पुँजी एकलाख ८३ हजार ४०० रहेको सहकारीका ब्यवस्थापक लक्ष्मी पराजुलीले जानकारी दिइन् । कुल एक करोड ९१ लाख २५ लाख ६३८ रुपैया बचत रहेको सहकारीले कुल दुईकरोड २१ लाख ६१ हजार ६२८ रुपैया ऋण लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्