पार्वती शर्मा “निशा”को पहिलो उपन्यास ‘अर्चना’ बिमोचन


२७ पुष २०८०, शुक्रबार १७:४७ मा प्रकाशित

पुष २७ गते । कपिलवस्तुको सदरमुकाम तौलिहवामा अर्चना उपन्यासको बिमोचन गरिएको छ । कपिलवस्तु नगरपालिकाको सभाहलमा आयोजित उपन्यास बिमोचन समारोहमा लेखक पार्वती शर्मा “निशा”को पहिलो उपन्यास ‘अर्चना’ बिमोचन गरिएको हो ।

‘अर्चना’ उपन्यासबारे सीता अर्याल पौडेलले समिक्षात्मक चर्चा गर्नु भएको थियो । १ सय २५ पृष्ठ रहेको सो उपन्यासमा अंकित र अर्चना प्रमुख पात्र रहेका छन् भने नेपालको समसामयिक सामाजिक सन्दर्भ र नेपाली सामाजिक जिवनशैलीले बिकसित गरेका बिकृति बिसङ्गतिपूर्ण अवस्थाले भोग्नु परेको मार्मिक कथाबस्तु उपन्यासमा समेटिएको कुरा टिप्पणीमा उल्लेख गरिएको थियो ।

हरिराज शर्मा (हरास)द्वारा प्रकाशित सो उपन्यासमा देश, काल, परिस्थितीका कारण निम्त्याएको यर्थाथताको धरातल रहेकोे कुरा चर्चा गरिएको थियो । आजको युवापुस्ताले आधुनिकता र परिवर्तनका लागि अघि सारेका दृष्टिकोण अनि धारणामा पाश्चात्य संस्कृतिको अन्ध अनुकरण, आफ्ना सामाजिक मूल्यमान्यता प्रतिको अज्ञानता अनि वेवास्ता, नैतिक कर्तब्य प्रतिको उदासीनता र ब्यवहारिक अनुभवहीनताका कारण सामाजिक जीवनमा निम्तिएका बिकृति र बिसङ्गतिलाई लेखकले जिउँको त्यूँ कथाबस्तु बनाएको भन्दै लेखक तथा प्रकाशकलाई शुभेच्छा प्रकट गरिएको थियो ।

जिल्लामा नारी स्रस्टामा साहित्य जगतमा तीन कृति प्रकाशित गर्ने प्रथम स्रस्टा शर्माको चौथो कृतिका रुपमा अर्चना उपन्यासको बिमोचन गरिएको हो । उहाँका ज्योति कथा संग्रह, मुटु नभएकी आमा (आत्मकथा), मसानघाटको प्रेरणा र चौथो कृति अर्चना उपन्यास रहेका छन् ।

नारी सिर्जनशील साहित्य समाजद्धारा आयोजित उपन्यास बिमोचन कार्यक्रममा पूर्वप्रदेश सांसद माला गोतामे, पहिलो महिला ज्योतिष प्रिती आत्रेय ज्ञवाली, कपिलवस्तु नगरपालिकाका उपप्रमुख सुनिता गुप्ता, कपिलवस्तु नगरपालिकाका सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठ, लुम्बिनी बाङ्मय प्रतिष्ठानका राघवेन्द्र श्रीवास्तव, नव कपिलवस्तु साहित्यीक समाजका पशुपति मणि त्रिपाठी, अवधी सांस्कृतिक समाजका युवराज गुप्ता (बैरागी कबि), बालसाहित्यकार जोशिका कँडेल, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य लगायत पत्रकार तथा सञ्चारकर्मिहरुको उपस्थिति रहेकोे थियो ।

बरिष्ठ साहित्यकार हरिराज शर्मा (हराश)को स्वागत मन्तब्य, नारी सिर्जनशील साहित्य समाजका अध्यक्ष शकुन्तला पौडेलको अध्यक्षता रहेको कार्यक्रम गीता खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्