चोरीका घटना बढेपछि चन्द्रौटाका व्यापारीहरु चिन्तित, सुरक्षा माग


पालिका पत्र

२ माघ २०८०, मंगलवार १९:१२ मा प्रकाशित

माघ २ गते । कपिलवस्तुको ब्यापारिक क्षेत्र चन्द्रौटा बजार क्षेत्रका पसलमा चोरीका घटना बढेका छन् । यसले गर्दा स्थानीय बासिन्दा तथा व्यवसायीहरु चिन्तित बनेका छन् । केही दिनअघि चन्द्रौटा बजारमा रहेका चारवटा पसल तथा मन्दिरमा चोरी भएको थियो ।

चन्द्रौटा क्षेत्रका महेन्द्र सुनचाँदी पसल, कणेश्वरी मन्दिर, वन्जाडे किराना पसल र शिव एण्ड सपना ट्रेडसमा चोरी भएकोपछि स्थानीय त्रसित भएका छन् । उक्त चोरीका घटनाहरुमा संलग्न व्यक्तिहरु पक्राउ नपरेको हुँदा अन्य व्यवसायी पनि त्रसित बन्दै गएपछि सुरक्षाको माग गर्दै अविलम्ब घटनाको छानविन गरी चोरीमा संलग्नलाई पक्राउ गरि कानून बमोजिम कारवाही गर्न माग गर्दै ब्यवसायीले वडा प्रहरी कार्यालय चन्द्रौटामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

विभिन्न समयमा व्यवसायीका सटरभित्र प्रवेश गरी भईरहेको चोरीका घटना प्रति गम्भीर ध्यानाकर्षण भएको चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले बताए । यस्ता चोरीका घटनाहरु बढ्दै जानुले प्रहरी प्रशासन माथि प्रश्न समेत खडा भएको पाण्डेले बताए ।

त्रसित अवस्थामा व्यवसाय संचालन गर्न समेत असुरक्षित भएको महसुस गरिएको व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले जनाए । चोरीका घटनामा संलग्न भएकाहरु सिसिटिभिमा प्रत्यक्ष देखिएपनि पकाउ नहुँदा प्रहरीले गम्भीरता नलिएको व्यवसायीको गुनासो छ । चोरीको घटनामा संलग्नलाई अविलम्ब पक्राउ गरी कारबाहीको दायरामा ल्याउन उनीहरूले माग गरेका छन् ।

पछिल्लो समयमा भएको चोरीका घटनामा संलग्नहरुको खोजी भईरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक गिताप्रसाद चौधरीले जानकारी दिए । बजार क्षेत्र तथा संवेदनशील क्षेत्रमा रात्रिकालिन समयमा सुरक्षा गस्ती परिचालन समेत गरिने चौधरीले बताए ।

ज्ञापनपत्र बुझाउन व्यापार संघ कपिलवस्तुका अध्यक्ष पोख्रेल, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष पाण्डे, उपाध्यक्ष दमन भाट, बिजय जयसवाल, व्यापार संघका उपाध्यक्ष दिपक पौडेल, उद्योग वाणिज्य संघका महासचिव राजकुमार क्षेत्री, सदस्यहरु अब्दुल रहमान, माधवराज घिमिरे, रामचन्द्र केसी, श्यामलाल बन्जाडे, मोहन केसी लगायतका व्यापारीहरु रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्