शितलहर बढेपछी कपिलवस्तु र महाराजगंजका विद्यालय बन्द


पालिका पत्र

२ माघ २०८०, मंगलवार १९:३६ मा प्रकाशित

रचना खासु मगर, माघ २ गते । बाक्लो हुस्सु र शितलहर बढेपछी कपिलवस्तुका बिद्यालयहरुमा जाडो बिदा थपिएको छ । अत्याधिक जाडो वढेपछी जिल्लाको दक्षिणवर्ती क्षेत्रका स्थानिय तहले धमाधम बिदा दिन थालेका हुन् ।

अहिलेसम्म जिल्लामा दुई पालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा थप गरिएको छ । बिदा दिनेहरुमा कपिलवस्तु नगरपालिका र महाराजगंज नगरपालिकामा बिदा दिइएको सम्बन्धीत पालिकाहरुले जनाएका छन् ।

सोमबारदेखि बढेको अत्याधिक चिसोलाई मध्यनजर गर्दै उक्त पालिकाहरुले पनि बिदा दिएका हुन् । कपिलवस्तु नगरपालिकाले आफ्नो पालिका मातहतका सवै ५२ सार्वजनिक तथा संस्थागत र धार्मिक बिद्यालयमा तत्काल तीन दिनको लागि विदा दिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव हरि प्रसाद ज्ञवालीले बताए । शितलहरले तापक्रम वर्षकै न्युन रहेको र बालवालिकालाई विद्यालय आउन गाह्रो भएपछि नगरपालिकाले तत्काल विदा घोषणा गरेको नगरका सूचना अधिकारी समेत रहनुभएका ज्ञवालीले बताए ।

कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले हाललाई तीन दिनका लागि विदा घोषणा गरिएपनि आगामी तीन दिनमा मौसममा सुधार नआए विदा बढाउन पनि सकिने बताए । माघ ३ गतेदेखि ५ गतेसम्म जाडो बिदा दिइने निर्णय गरिएको उनले बताए ।
यस्तै, जिल्लाको महाराजगंज नगरपालिकाले समेत नगरपालिका अन्तर्गत संचालित सामुदायिक, धार्मिक तथा सस्थागत बिधालयहरुमा बिदा दिएको छ ।

अत्याधिक बढ्दो चिसो मौसमका कारण बिद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न गई दैनिक पठनपाठनमा समस्या हुने देखिएकोले आगामी तीन दिनका लागि बिदा दिइएको नगरपालिकाको शिक्षा शाखा प्रमुख रेश्मीराज अर्यालले बताए । आगामी वर्षे बिदाबाट पछि मिलान हुने गरि माघ ३ गते देखी ५ गते सम्म बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

यता जिल्लाका अन्य भेगमा समेत शितलहरले अत्यधिक प्रभाव पारेको छ । जिल्लाका सबै भागमा शितलहरले प्रभाव पारेको बेला अधिकांश पालिकाका स्थानीयले कुनै निकायको सहयोग नआएको गुनासो गरेका छन् । उनीहरुले कुनै जनप्रतिनिधीहरु अझै हेर्न समेत नआएको भन्दै दुखेसो पोखेका छन् ।

शितलहरले बालवालिका, वृद्ध तथा दैनिक ज्याला मजदुरी गर्ने, गरिब तथा विपन्न वस्तीका वासिन्दाहरु अत्यधिक प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्