उत्पादन बृद्धि गर्ने कार्यमा बीउ व्यवसायीको भुमिका महत्वपूर्ण : संघको अध्यक्षमा मुराउ निर्वाचित


पालिका पत्र

३ माघ २०८०, बुधबार १९:४४ मा प्रकाशित

माघ ३ गते । बीउ व्यवसायी संघ कपिलवस्तुको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । तौलिहवा उद्योग बाणिज्य संघको सभाहलमा बुधबार भएको अधिवेशनमा वक्ताहरुले बीउ बिजन देशको अर्थतन्त्रसँग जोडिएको विषय भएको बताउँदै नेपाल आफै बीउ बिजनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भास्कर पोडेल, विउबिजन प्रयोगशाला भैरहवाका प्रमुख शालिकराम गौतम, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा बाबुराम शर्मा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निमित्त कार्यालय प्रमुख पशुपति सिंह, कपिलवस्तु नगरपालिकाका कृषि शाखा प्रमुख भगवानदास गुप्ता लगायतले अहिले पछिल्लो समय आएर कृषि पेशामा कृषकहरुको आर्कषण घट्दै जानु विडम्बनाको भएको चर्चा गर्दै कृषकहरुले नै खाद्यान्न बस्तुको उत्पादन गर्ने भएकोले राम्रो बिउ विजनको प्रयोग गरी उत्पादन बढाउनुपर्नेमा जोड दिएका थिए ।

यसैगरि, तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी दिपु, नेपाल पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष किरणमान बज्राचार्यले उत्पादन बृद्धि गर्ने कार्यमा बीउ व्यवसायीहरुको ठुलो भुमिका रहेको बताए । रैथाने बिउबिजनको संरक्षण र उत्पादनमा बिउ ब्यवसायीहरुले महत्वपुर्ण कदम चाल्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।

कार्यक्रममा बिकास सिड्स कम्पनीका ब्यवस्थापक तथा संचालक खुर्सेद अहमद खाँ, ईन्टरनेशनल बिउ बिजन एग्रो सिड्सका ब्यस्थापक खलिल अहमद खाँले पछिल्लो समय नेपालमा बीउ बिजन उत्पादन गर्ने क्रम बढेको बताउँदै अझै आत्मनिर्भर नबनेको र आयात गर्दा विविध समस्या झेल्नुपर्ने अवस्था रहेको बताए । उनीहरुले स्थानीय तहमा कृषिसम्बन्धी प्रविधिकको अभावमा बीउबिजन र विषादी व्यवसायीहरुले कृषकको समस्या समाधानमा सहजीकरण गर्दै आएको बताए ।

संघका जिल्ला अध्यक्ष रामचन्द्र मुराउको अध्यक्षता, उपाध्यक्ष रुपक बनियाको स्वागत मन्तब्य रहेको कार्यक्रममा जिल्लाभित्रका संघमा आवद्ध ३० बढि बिउ ब्यवसायीहरुको सहभागिता रहेको थियो ।

यस्तै, “कृषि हाम्रो चाहना, कृषक हाम्रो पहिचान” भन्ने मूल ध्येय सहित सुरु गरिएको संघको प्रथम अधिवेशनले रामचन्द्र मुराउको अध्यक्षतामा तीन वर्षका लागि १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा रुपक बनिया, सचिवमा सुदिप भुसाल, सहसचिवमा अब्दुल रसिल, कोषाध्यक्षमा जगदीश मौर्य तथा सदस्यहरुमा अजिमुल्लाह खान, रोहित यादव, कबिन्द्र यादव, राजकुमार मौर्य, शिवरतन गुप्ता, हरिशंकर मल्लाह, बसन्त प्रसाद सुवेदी र अमिन मोहमद मुसलमान निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्